जंगलमा भेटिए ५ सय ९० राउण्ड गोली

insas

असोज १० ,जाजरकोट जिल्लाको भेरीमालिका नगरपालिकास्थित सामुदायिक वन क्षेत्रमा अत्याधुनिक हतियारका गोली भेटिएको प्रहरीले जनाएको छ । जंगलमा छरेको अवस्थामा रहेको गोली प्रहरीले सोमवार संकलन गरेको हो ।स्थानीय स्याँलापाखा सामुदायीक वन क्षेत्रमा ५ सय ९० राउण्ड गोली फेला पारिएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ ।
जंगलको भीरमा छरिएर रहेको अवस्थामा इन्सास राइफल लगायतका अन्य अत्याधुनिक हतियारमा प्रयोग हुने गोली फेला पारिएको प्रहरीको भनाइ छ ।

bulletप्रहरी निरीक्षक हिक्मत बोहोराले जंगलमा छरिएको अवस्थामा गोली रहेको खबर पाएपछि आफूहरुले संकलन गरेको जानकारी दिए । डोल्पा जोड्ने सडकको दक्षिणतर्फ करिब एक सय मिटर टाढा आफूहरुले गोली फेला पारेको प्रहरी निरीक्षक बोहराले बताए ।
जंगलमा फेला परेको गोली माओवादी जनयुद्दको  क्रममा लुकाइएको हुन सक्ने प्रहरीको अनुमान छ । फेला परेको गोली प्रहरी संगठनमा प्रयोग गरीने हतियारमा काम नलाग्ने खालको भएको बोहराले जनाए ।

उनका अनुसार तीन राउण्ड गोली मात्र एसएमजीमा प्रयोग हुने खालको छ ।  लुकाइएका गोली अन्यत्र लैजाने क्रममा जंगलमा छरपस्ट भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि जाजरकोटमा प्रहरीले रिम्नास्थित रानीबनमा ठुलो मात्रामा हतियार फेला पारेको थियो । गोली फेला परेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।