उत्तरसाम्राज्यवाद बिरुद्द समाजवादी कार्यदिशाको विकास अपरिहार्य=विप्लव

किन ढले समाजवादी सत्ता अब कसरी टिक्छ   भन्ने बारेमा नेकपा माओवादी विप्लवले पार्टी मुख पत्र जनक्रान्तिमा कार्यदिशा र समाजवादी सत्ताको विकास भन्ने लेख मार्फत बहस छेड्नु भएको छ लेख को केही अंश प्रकाशीत गरेका छौ  

कार्यदिशा र समाजवादी सत्ताको विकास 

१) भूमिका

 ‘इतिहासले नयाँ तथ्यहरू र खोजका नयाँ पद्धतिहरू निकाल्छ जसले गर्दा सिद्धान्तको थप विकास गर्नु आवश्यक हुन्छ ।’–लेनिन

 Mukha patra 2लेनिनको उल्लिखित संश्लेषणलाई आत्मसात गर्दै यतिबेला मालेमावादी कम्युनिस्टहरूले दुईवटा अन्तरविरोध वा प्रश्नहरूको समाधान दिनुपर्ने भएको छ ः पहिलो, उत्तरसाम्राज्यवादमा विकास भएको पुँजीवादी राज्यसत्तालाई हल गर्ने र दोस्रो, बीसौँ सदीमा कम्युनिस्टहरूले बेहोर्नुपरेको समाजवादी सत्ता असफलताको समाधान दिने । यी दुई अन्तरविरोधले हामीलाई दुई विषयमा केन्द्रित गराएको छ ः पहिलो, उत्तरसाम्राज्यवाद र यसको संरक्षणमा बाँचेको दलाल पुँजीवादलाई समाधान गर्ने क्रान्तिकारी राजनीतिक कार्यदिशाको सवाल र दोस्रो, वैज्ञानिक समाजवादी सत्तालाई सफलतापूर्वक सञ्चालन गर्ने विचार र प्रणालीको सवाल । यी दुई सवालमा समाधान खोज्ने विषय सारतः मालेमाको विकाससँग नै सम्बन्धित विषय हुन् । तसर्थ हाम्रो निष्कर्ष छ ः मालेमालाई दह्रोसँग पकड्दै त्यसको थप विकास गर्नु आजको ऐतिहासिक आवश्यकता बन्न पुगेको छ ।

२) कार्यदिशा विकासको सन्दर्भ

 उत्तरसाम्राज्यवादलाई हल गर्ने कार्यदिशाको विकास निकै जरुरी बन्न पुगेको छ । विगतमा पुँजीवादलाई परास्त गर्दा कम्युनिस्टहरूले प्रयोग गरेका दुईवटा कार्यदिशाको अनुभव हामीसँग छन् ः रुसमा लेनिनले प्रयोग गरेको जनविद्रोहको कार्यदिशा र माओले चीनमा प्रयोग गरेको जनयुद्धको कार्यदिशा । तीबाहेक क्युबाली क्रान्ति, भियतनाम तथा कोरियाका क्रान्तिहरू पनि आफ्नो ठाउँमा सफल कार्यदिशा हुन् तर ती कार्यदिशाहरू रुस र चीनका विशेषताभित्र नै समाहित छन् ।

 लेनिनले रुसमा क्रान्ति गर्दा पुँजीवाद साम्राज्यवादमा विकास हुँदै थियो । पुँजीवादका केन्द्रहरू सहर थिए र श्रमिक वर्ग मजदुर थियो । श्रमिक वर्गभित्र किसान पनि पथ्र्यो परन्तु शोषणको केन्द्रमा मजदुर वर्ग र सहरहरू अगाडि थिए । सङ्घर्ष पनि मालिक र मजदुर वर्गका बीचमा थियो । सत्ता सञ्चालनमा मालिक वर्ग प्रत्यक्ष रूपले संलग्न थियो । मजदुरहरू ठूलो सङ्ख्यामा कारखानामा काम गर्थे । लेनिनले कारखानालाई ‘ब्यारेक’ पनि भन्नुभएको थियो । त्यसैले लेनिनले क्रान्तिको कार्यदिशा निर्माण गर्दा पुँजीवादभित्रको मजदुर वर्गलाई निर्णायक र किसान वर्गलाई सहयोगी वर्ग बनाएर जनविद्रोहको कार्यदिशा निर्माण गर्नुभयो । यसको सफल प्रयोगले रुसमा क्रान्ति सम्पन्न भयो ।

 माओले चीनमा क्रान्ति गर्दा विश्वको मूल प्रवृत्ति पुँजीवादी हुँदाहुँदै पनि सामन्तवादी एवम् अर्धसामन्तवादी आर्थिक तथा राजनीतिक व्यवस्थाहरू पनि थिए । चीन त्यस्तै एक उत्पीडित देश थियो । चीन श्रमिक वर्गका रूपमा मजदुर भए पनि मुख्य श्रमिक शक्ति किसान थियो । चीनमा मुख्य सङ्घर्ष किसान र सामन्तहरूका बीचमा थियो । किसान वर्गको केन्द्र गाउँ थियो । त्यसैले क्रान्तिको कार्यदिशा गाउँबाट सत्ता निर्माण गर्दै सहरलाई जित्ने कार्यदिशा वैज्ञानिक हुन्थ्यो । माओले त्यही विचारको विकास गर्दै जनयुद्धको कार्यदिशा प्रयोग गर्नुभयो र चीनमा क्रान्ति सफल गर्नुभयो ।

 आज हामी जुन विश्वमा छौँ र क्रान्तिको परिकल्पना गरिरहेका छौँ यो निकै बदलिएको छ । आजको विश्व लेनिन र माओले संश्लेषण गरेको साम्राज्यवादी विश्वमा छैन, निकै फरक ठाउँमा छ । उत्तरसाम्राज्यवादको विकासले विश्वको आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक आदि क्षेत्रमा निकै नयाँ विशेषताहरूको जन्म दिएको छ । यो वस्तुस्थितिमा क्रान्तिको कार्यदिशा नयाँ भएर मात्र उत्तरसाम्राज्यवाद र दलाल पुँजीवादलाई परास्त गर्न सम्भव छ भन्ने हाम्रो ठम्याइ छ । वस्तुस्थिति नयाँ भइसक्ने त्यसलाई बदल्ने कार्यदिशा पुरानै भइरहँदा वस्तु र चेतना अलगथलग हुन पुग्छन् र क्रान्ति मनोगत समस्याको मारमा पर्छ । नयाँ वस्तुस्थितिमा पुरानै कार्यकदिशालाई जोड दिनु भनेको विद्युतीय यन्त्रको समस्या हल गर्न वाष्पइन्जिनको प्राविधिक ज्ञान प्रयोग गर्नुजस्तो हुन्छ । माओको भाषामा यसलाई ‘जुत्ताअनुसार खुट्टा काट्ने’ सिद्धान्त भनिन्छ ।

 हामीले उत्तरसाम्राज्यवादविरुद्ध नयाँ कार्यदिशा विकासको आवश्यकताबारे सोचिरहँदा उत्तरसाम्राज्यवादका नयाँ आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक विशेषताहरूबारे उल्लेख गर्न आवश्यक छ ।

३) उत्तरसाम्राज्यवादमा विकास भएका नवीन पक्षहरू

 २० औँ सदीको अन्त्यदेखि उत्तरसाम्राज्यवादको विकास हुन पुगेको छ । यसको अर्थ हो– उत्तरसाम्राज्यवादले आर्थिक, राजनीतिक, सांस्कृतिक सम्बन्धहरूलाई बदलेको छ । आपूmअनुकूलका नयाँ सम्बन्धहरू विकास गरेको छ । हामीले नयाँ विचार र कार्यदिशा विकासको महत्वलाई पकड्न उत्तरसाम्राज्यवादले विकास गरेका आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक आदि क्षेत्रमा नयाँ हेरफेर र सम्बन्धहरूलाई बुझ्न आवश्यक छ जो निम्नानुसार रहेका छन् ः

 क) नयाँ अर्थ सम्बन्धको विकास

 ख) नयाँ राजनीतिक सम्बन्धको विकास

 ग) विज्ञान र प्रविधिको उच्च विकास

 घ) सैन्य शक्तिको विकास

 ङ) नयाँ समाजको विकास

 च) नयाँ वर्गको विकास

 छ) नयाँ संस्कृतिको विकास

 ज) उच्च सूचना प्रविधिको विकास

 

क) नयाँ अर्थसम्बन्धको विकास

 उत्तरसाम्राज्यवादको विकासले अर्थसम्बन्धमा नयाँ विशेषताहरूको जन्म दिएको छ । ती विशेषताहरू पुँजीवादी, साम्राज्यवादी र सामन्तवादी व्यवस्थाका विशेषताहरूभन्दा फरक छन् जो निम्नानुसार रहेका छन् ः

१) निगम पुँजीको विकास

२) भूमण्डलीक्रित एवम् गतिशील चरित्र

३) समन्वयकारी रूपको प्रयोग

४) श्रम र स्रोतमाथिको नियन्त्रण

५) उपभोगवादी बजारको विकास

१) निगम पुँजीको विकास

 निगम पुँजीको विकास ८० को दशकबाट अगाडि आएको हो । यो साम्राज्यवादको नयाँ अर्थनीतिसँग जोडिएको छ । विगतका नीतिहरूले काम नचलेपछि वा अपूर्ण बन्न पुगेपछि पुँजीपति वर्गले आफ्नो आर्थिक एकाधिकारलाई बलियो पार्न र चारैतिर फैलाउन निगम पुँजीको विकास गरेको हो ।

निगम पुँजीको मूल चरित्र भनेको एउटै डालोभित्रबाट एकीकृत योजनाद्वारा सम्पूर्ण क्षेत्रलाई नियन्त्रण गर्ने रहेको छ । यसले एकै ठाउँबाट पुँजीको उत्पादन, विनिमय र वितरणलाई परिचालन गर्छ । चाहे कारखानाहरू होस्, चाहे बैङ्क होस्, चाहे बजार, चाहे विज्ञापन, सूचनामाध्यम (रेडियो, टीभी, पत्रिका, अनलाइन आदि) चाहे कार्यकारी सरकार, कर्मचारी, पार्टीहरूलाई नै होस्, सबैलाई सञ्चालन गर्छ । पछिल्लो समयमा अमेरिकाको ओबामा सरकार र भारतको मोदी सरकारको निर्माण र सञ्चालन पनि निगम पुँजीवादले गरिरहेको विश्लेषण गरिएको छ । मोदीको चुनाव र विजयलाई त खुलेआम अम्बानी ग्रुपसँग जोडेर गरिएको छ । निगम पुँजीको चरित्रलाई हेर्दा यसलाई भोको अजिङ्गरसँग तुलना गर्न सकिन्छ जसले अगाडि परेका सबै जीवलाई आहारा बनाउँछ ।

२) भूमण्डलीकृत र गतिशील चरित्र

 उत्तरसाम्राज्यवादी पुँजीको अर्को विशेषता यसको भूमण्डलीकृत एवम् गतिशील चरित्र हो । यो यति तीव्र गतिमा क्रियाशील छ कि कुनै पनि समय कुनै पनि स्थानमा सजिलै पुग्नसक्ने र फर्किनसक्ने गरी यसको परिचालन गरिरहेको छ । फाइदा हुन्छ विश्वको कुनै पनि कुनामा पुग्छ भने फाइदा नहुने स्थितिमा सुविधा सम्पन्न सहरहरूबाट पनि पछि फर्किन पुग्छ । उदाहरणका लागि अमेरिकामा तयार गरिने बैङ्क, आईएमईको संरचना फाइदा हुने स्थितिमा नेपालको हुम्लामा पनि अर्को दिन आइपुग्छ, फाइदा हुने छैन भने काठमाडौँमा पनि नरहन सक्छ । मुनाफा नै यसको मुख्य विशेषता हो ।

३) समन्वयकारी रूपको प्रयोग

 उत्तरसाम्राज्यवादले विकास गरेको पुँजीको अर्को रूप समन्वयकारी चरित्र हो । यो रूप प्रयोगमा ल्याउनुका पछाडि समाजवादी अर्थनीतिको प्रभाव देखापर्छ । मुनाफा एक्लै कुम्ल्याउँदा वर्गसङ्घर्ष तीखो बन्ने अनुभवबाट सिक्दै मुनाफाको सानो हिस्सालाई श्रमिक वर्गको सुविधामा प्रयोग गर्ने विधिका रूपमा यसलाई प्रयोग गरिएको छ । यसलाई उनीहरूले लोककल्याणकारी नाम दिने गरेका छन् । यसको उद्देश्य मुनाफा पनि होस्, सङ्घर्ष पनि नहोस् भन्ने रहेको देखिन्छ । केही उद्योगहरूमा त श्रमिक वर्गलाईसमेत सेयर बाँडी सामूहिक स्वामित्वको नारा दिएर श्रमिक वर्गमाथिको शोषणलाई वैधानिक रूपले पूरा गरेको पाइन्छ । परन्तु यो समन्वयकारी रूपको प्रयोग सार पनि पुँजीपति वर्गले मुनाफा कुम्ल्याइरहने सँग रहेको छ ।

४) श्रम र स्रोतमाथिको व्यापक नियन्त्रण

 उत्तरसाम्राज्यवादको अर्को चरित्र पृथ्वीभरि रहेका श्रम र स्रोतमाथि व्यापक नियन्त्रण कायम गर्नु रहेको छ । जताजता सस्तो श्रम र प्राकृतिक स्रोत छ त्यता कुनै पनि उपाय र तरिकाद्वारा साम्राज्यवादी शक्तिले नियन्त्रण कायम गर्ने गरेको छ । उदाहरणका लागि अविकसित र गरिब देशहरूमा निकै सस्तो श्रम छ । अर्कोतिर खाडी, अफ्रिका र एसियामा प्राकृतिक स्रोतहरू छन् । साम्राज्यवादका पुँजीपति वर्गले तिनै देशका श्रमिकलाई निकै सस्तोमा काममा जोत्छन् । विकसित देशमा एउटा श्रमिकले पाउने पैसा अविकसित देशमा तीनदेखि पाँचजनासम्मले पाउँछन् । श्रमिकले पाउने सङ्गठन, सङ्घर्ष, राजनीतिक कुनै अधिकार पनि उपभोग गर्न पाउँदैनन् । एक प्रकारले आधुनिक गुलामका रूपमा राखिन्छ । अर्को अविकसित देशका प्राकृतिक स्रोत तेल, ग्यास, पानी, खानी सबै साम्राज्यवादी देशको हातमा पुगेका छन् । अरबको ग्यास र तेलमा अमेरिका, युरोपको नियन्त्रण र नेपालका नदीनालाहरूमाथि भारतीय नियन्त्रणलाई यसको नमुना मान्न सकिन्छ ।

५) उपभोगवादी बजारको विकास

 उत्तरसाम्राज्यवादी पुँजीको अर्को चरित्र उपभोगवादी पुँजीको विकास हो । जनतालाई फाइदा गर्छ कि गर्दैन, समाजका लागि हितकर छ कि छैन, स्वास्थ्यका लागि उपयुक्त हुन्छ कि हुँदैन, यसलाई कुनै सरोकार छैन । केवल उत्पादक वा पुँजीपतिलाई धेरैभन्दा धेरै फाइदा कताबाट हुन्छ यति मात्र मतलब छ । जस्तो कि बजारमा ल्याइने खाद्यान्न, शृङ्गारका वस्तु, विभिन्नखाले टनिक, उपभोग्य वस्तु सबैतिर केवल उपभोगको पक्ष मात्र छ । त्यहाँ वस्तु छ, पैसा छ र मुनाफा छ । त्यसले स्वास्थ्य र जनजीवनलाई के प्रभाव पारिरहेको छ, कुनै चासो छैन । अविकसित मुलुकहरूमा यसको प्रभाव ज्यादै खतरनाक छ ।

 त्यसैगरी पुँजीको चरित्र नागरिकहरूलाई बढीभन्दा बढी उपभोगवादी बनाउने खालको छ । नयाँ पुस्तालाई उत्पादनतिरभन्दा उपभोगतिर आकर्षित गर्ने छ । लत्ताकपडा, मोबाइल, घडी, क्यामेरा, ल्यापटप, भाँडावर्तन, फर्निचर सबै वस्तुको निर्माण बढी आवश्यकता उपयोगी र टिकाउ भन्दा पनि उपभोगमुखी खालका बनाइन्छन् । यसको उद्देश्य मुनाफा कमाउनेसँग मात्र जोडिएको छ ।

ख) नयाँ राजनीतिक सम्बन्धको विकास

 उत्तरसाम्राज्यवादले गर्दा राजनीतिक सम्बन्धमा पनि नयाँ विकास हुन पुगेको छ । यी विशेषताहरू पनि २० औँ सदीका साम्राज्यवादी, पुँजीवादी, सामन्तवादी सत्ताका राजनीतिक विशेषताभन्दा फरक रहेका छन् । साम्राज्यवादले यी विशेषताहरूको विकास समाजवादी राज्यसत्तासँगको प्रतिस्पर्धाबाट शिक्षा लिँदै गरेको छ । ती विशेषताहरू निम्नानुसार रहेका छन् ः

१) प्रतिस्पर्धात्मक प्रणालीको प्रयोग

२) निजी स्वतन्त्रताको प्रयोग

३) कानुनी राज्यको रूप

४) समावेशी, समानुपातिक, सङ्घीयताको प्रयोग

५) मानवअधिकारको प्रचार

६) अन्तर्राष्ट्रिय शक्तिको प्रत्यक्ष भूमिका ।

 

१) प्रतिस्पर्धात्मक प्रणालीको प्रयोग

 साम्राज्यवादको सार फासिवाद हो परन्तु उत्तरसाम्राज्यवादले प्रतिस्पर्धात्मक प्रणालीलाई खुबै प्रचार गरिरहेको छ । यसलाई पुँजीवादी विचारकहरूले सत्ता सञ्चालनमा नागरिकहरूको भूमिका प्रधान रहने प्रणालीका रूपमा व्याख्या गरेका छन् । उनीहरूले प्रतिस्पर्धालाई राज्य सञ्चालनमा ‘भन्दा’ असलहरूबीचको प्रतिस्पर्धा र जनमतअनुरूप निर्धारित हुने व्यवस्था भनेर स्थापित गर्न खोजिरहेका छन्् । हामीलाई राम्रो ज्ञान छ– पुँजीवाद जुन रूपमा भए पनि पुँजीवादी अधिनायकत्व भएको व्यवस्था हो । त्यहाँ वास्तविक जनताको प्रतिस्पर्धा नभएर पुँजी र शक्तिको प्रतिस्पर्धा हुन्छ । तथ्याङ्कअनुसार निकै पुराना प्रजातान्त्रिक व्यवस्था भनेका राज्यहरूमा समेत पनि शाषनसत्ता केही दर्जन घरानिया अभिजात वर्गको परिवारवरिपरि घुमिरहेको छ । यद्यपि त्यहाँ नेतृत्वलाई वैधानिकता दिनका लागि प्रतिस्पर्धालाई प्रयोग गरिन्छ ।

२) निजी स्वतन्त्रताको प्रचार

 पुँजीवादीहरूले संसदीय राजनीतिक व्यवस्थाभित्र निजी स्वतन्त्रताको प्रयोगलाई निकै उचालेर प्रचार गर्छन् । कुन नीति र नेतृत्व, कस्तो पद्धति, कस्तो जीवनपद्धति छान्ने अधिकार व्यक्तिको निजी स्वतन्त्रता हो । यो स्वतन्त्रता पुँजीवादी प्रजातन्त्रमा मात्र उपलब्ध हुन्छ भन्ने उनीहरूको दाबी छ । व्यक्तिले के गर्छ, उसको स्वतन्त्रताको कुरा हो, गरिब हुन्छ, धनी हुन्छ । पैसा कमाओस्–नकमाओस्, असमानता होस्–नहोस्, सुविधा भोग गरोस्–नगरोस्, यो उसको निजी मामिला हो । राज्यले यसमा दखल गर्नु हुँदैन । यो भोग गर्ने स्वतन्त्रतालाई केही विश्लेषकहरूले उत्तरआधुनिकता पनि भनेका छन् ।

३) कानुनी राज्यको मान्यता

 पुँजीवादीहरूले पछिल्लो समयमा संसदीय व्यवस्थालाई कानुनी राज्यको उपमा दिने गरेका छन् । व्यक्ति, संस्था र राज्यका निर्णय र कार्यान्वयन संविधान र कानुनले व्यवस्था गरेअनुरूप हुनुपर्छ । राज्यले गर्ने राजनीतिक निर्णयबाट कुनै नागरिक वा संस्थाको अधिकार हनन हुन पुगेमा त्यसले राज्यलाई निरङ्कुश र तानाशाहीकरण गर्छ तसर्थ त्यस्तो गल्तीबाट राज्यलाई रोक्न कानुनी राज्यको सिद्धान्त प्रयोग गर्नुपर्छ भन्ने उनीहरूको तर्क छ । यसले एक हदसम्म नागरिकहरूलाई समेत भ्रममा पारेको छ ।

४) समावेशी, समानुपातिक, सहभागितामूलक प्रणाली

 उत्तरसाम्राज्यवादले पछिल्लो चालका रूपमा राज्यमा सबै जाति, जनजाति, अल्पसङ्ख्यक जाति, सीमान्तकृत जातिको खण्डीकृत व्याख्या गर्दै तिनको राज्यमा समानतापूर्ण सहभागिताको प्रचार गरिरहेको छ । यसलाई उनीहरूले जाति, जनजातिको समावेशी, समानुपातिक, सहभागिताको नीति भनिरहेका छन्् । यसले वर्गसहभागितामा भन्दा नश्ल, जाति, धर्मका आधारमा राज्यमा सहभागी बनाउनुपर्ने प्रणाली निर्माण गरेको छ । यो प्रणालीलाई उसले प्रजातन्त्रको नयाँ विकास र विशेषता बताउने गरेको छ । यसले पनि पछिल्लो समयमा जनतालाई भ्रमित गरिरहेको छ ।

५) मानवअधिकारको रक्षा

 उत्तरसाम्राज्यवादले पछिल्लो समयमा मानवअधिकारको रक्षालाई पनि प्रजातन्त्रको विशेषता बताउँदै आएको छ । नागरिकहरूले आफ्ना मत, विचार, अधिकार, धारणाहरू निर्वाध रूपले प्रयोग गर्न पाउनु मानवअधिकार हो । राजनीतिक, धार्मिक, जातीय, सांस्कृतिक, सामुदायिकजस्ता विचारहरू निर्वाध उपयोग गर्न पाउनुपर्छ । यसमा कसैले पनि नागरिकहरूका न्यूनतम मानवअधिकारहरूको उल्लङ्घन गर्न पाइँदैन भन्ने प्रचार गरिरहेको छ । मानवअधिकारको यो व्यवस्था केवल प्रजातान्त्रिक व्यवस्थामा मात्र उपलब्ध हुन्छ भन्ने प्रचार पनि उनीहरूले गरिरहेका छन् । यसबाट पनि नागरिकहरूमा एक हदसम्मको भ्रम परिरहेको छ ।

 

६) अन्तर्राष्ट्रिय शक्तिको हस्तक्षेपकारी भूमिका

 उत्तरसाम्राज्यवादका विचारकहरूले अन्तर्राष्ट्रिय शक्तिको हस्तक्षेपकारी भूमिकालाई प्रजातन्त्रको विशेषता बताउने गरेका छन् । उनीहरूले कुनै पनि राजनीतिक घटनाहरूलाई स्वतन्त्र छोड्नु हँुदैन, त्यसमा अन्तर्राष्ट्रिय शक्तिको निगरानी हुनुपर्छ भन्ने सोचाइ राख्छन् । यसको सार विश्वमा चल्ने राजनीतिक आन्दोलन, सङ्घर्ष, विद्रोहहरूलाई उत्तरसाम्राज्यवादको स्वार्थ र हित भन्दा बाहिर जान दिनु हुदैन भन्ने रहेकोछ । यो नीतिअनुरूप नै आज अमेरिका, रुस, युरोप आदि शक्तिहरूले विश्का विभिन्न देशहरूमा आर्थिक, सैनिक हस्तक्षेप गरिरहेका छन् । कतिसम्म भने देश नै विभाजित गरिदने, लाखौँको नरसंहार गर्ने, देशहरूमा आफ्नो सेना लगेर थुपारिदिने गरिरहेका छन् । यसले उत्पीडनमा परेका नागरिकहरूलाई समेत भ्रामक प्रभाव पारिरहेको छ ।

ग) विज्ञान र प्रविधिको विकास

 उत्तरसाम्राज्यवादी युगमा देखापरेको अर्को नयाँ विशेषता भनेको विज्ञान र प्रविधिको उच्च र तीव्र विकास हो । भौतिक विज्ञान, जीवविज्ञान र रसायन विज्ञान सबै क्षेत्रमा विकास हुन पुगेको छ । हालसालै भौतिक विज्ञानका क्षेत्रमा विकास गरिएका ब्ल्याक होलको यात्राको परिकल्पना, गुरुत्वाकर्षणका तरङ्गहरूको अनुसन्धान साथै जीवविज्ञानमा डीएनएको अनुसन्धान यसका उदाहरण हुन् । प्रविधिका क्षेत्रमा एक प्रकारले चामत्कारिक विकास भइरहेको छ । डिजिटल दुनियाँको विकास, अन्तरिक्ष प्रविधिको विकास, यन्त्रमानवको परिकल्पना, सूचनाप्रविधिको विकास साथै सैन्य प्रविधिको विकास यसका परिचायक हुन् ।

घ) सैन्य शक्तिको विकास

 सैन्य शक्तिको अतिआधुनिकीकरण र विकास उत्तरसाम्राज्यवादको अर्को विशेषता हो । बीसौँ सदीको अन्त्यदेखि जमिन, आकाश, जल, अन्तरिक्ष सबैतिर सैन्य प्रभुत्व हाबी हुन पुगेको छ । सैन्य प्रविधिमा दिन–प्रतिदिन अत्याधुनिकीकरण गरिँदैछ । शक्ति राष्ट्रहरूले सबैभन्दा ठूलो रकम सैन्य प्रविधि र शक्तिको सुदृढीकरणमा खर्चिरहेका छन् । सैन्य शक्तिलाई नै विश्व शक्तिको आधार बनाइएको छ । शक्ति केन्द्रहरूबीचको सबैभन्दा ठूलो हानाथाप र प्रतिस्पर्धा नै सैन्य शक्तिको विकास र विस्तारमा देखापरिरहेको छ । अन्तरमहादेशीय मिसायल प्रविधिको विकास, हावाको गतिभन्दा तीव्र गतिमा उड्नसक्ने प्लेनको विकास, आधुनिक खरखजानाको निर्माण सबै यसका उदाहरण हुन् ।