धादिङमा बस र्घटना, मृतकको संख्या १९ पुग्यो

 

dhading

 

धादिङ । ११ असोज,  धादिङको उत्तरी क्षेत्रको गाविसमा मंगलबार भएको यात्रुबस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेको थियो । मंगलबार बिहान ७ बजेतिर धादिङबेसीबाट २७ यात्रु बोकेर छुटेको बस बिहान साढे ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

धादिङका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियारका अनुसार मृत्यु हुनेमा सत्यदेवी गाविसका मेन्दीजुन तामाङ, थिरमायाँ तामाङ, रङ्गसिंह तामाङ, लीलाबहादुर गुरुङ, रौता तामाङ, तीन वर्षीय रावत तामाङ, मार्पाक गाविसका कमला पौडेल, दिलकुमारी अधिकारी र पद्मबहादुर थापा छन् । यस्तै गुम्दी गाविसका रुद्रबहादुर घले, दार्खा गाविसका रामचन्द्र सापकोटा, सेर्तुङ गाविसका लारुप तामाङ, रि गाविसका मानबहादुर तामाङ, चन्द्रमान तामाङ, टेकबहादुर तामाङ, गाडी चालक गोरखाका गङ्गावीर विक र ठेगाना नखुलेका खिया लामाको पनि मृत्यु भएको छ ।

घटनास्थलमा मृत्यु भएकामध्ये एकजना र उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अर्का एकजनाको सनाखत हुन नसकेको धादिङ प्रहरीले जनाएको छ । माथिबाट पहिरो झरेर साँघुरिएको ठाउँबाट बस करिब दुईसय मिटर तल आँखुखोला नजिकै बगरमा पुगेको छ । बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन ।