‘नो वर्क नो पे’ विरुद्ध विप्लव माओवादीले संघर्ष गर्ने

news-6-12-majdoor1

असोज १३, काठमाडौँ :अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले सरकारले सदनमा पेश गरेको प्रस्तावित ‘नो वर्क नो पे  र हायर एण्ड फायर’ श्रम ऐनविरुद्ध आन्दोलनकाे घोषणा गरेको छ ।

नेकपा (माओवादी) आबद्ध महासंघको केन्द्रीय समिति प्रथम पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन आयोजना गरेर सो जानकारी दिइएको हो ।

बुधबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघका संयोजक अमर झाँक्रीले सरकारले सदन पेश गरेको प्रस्तावित श्रम ऐन मजदूर हित विपरिति भएको भन्दै त्यसलाई लागु गर्न नदिन दवाव दिन आन्दोलन गर्न लागेको बताए । पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले भने, ‘सरकारले एकतर्फी रुपमा ल्याउन खोजेको नीति नो वर्क नो पे र हायर एण्ड फायरको नीति ल्याउन खोजेको छ, यसले मजदूरको हित गर्दैन त्यसैले लागु हुन नदिने गरी संघर्षको तयारी गरेका छौँ ।’ उनले नेपाली मजदूरहरुमा देखा परेको अर्थवादविरुद्ध संघर्ष गर्नुपर्ने बताए ।

उनले करार, ज्यालादारी तथा ठेकेदारी प्रथाको अन्त्य गरी सम्पूर्ण कामदार कर्मचारीलाई सम्मानजनक ज्याला लागु गर्ने पर्ने, मजदूविरोधी प्रस्तावित श्रम ऐन विधेयक खारेजको लागि आफूहरुले संघर्ष गर्ने बताए । 

बैठककाे निर्णयअनुसार मेची–विजय दर्नाल, कोशी– विष्णु चौधरी, सगरमाथा– टिका राई, जनकपुर–कैलास कार्की, पूर्वी तामसालिङ–श्याम श्रेष्ठ, पश्चिम तामसालिङ–नविन सुवेदी, गण्डक–विजय लामा, धौवलागिरी–लिला विक, लुम्बिनी–शम्भु रई, राप्ती–डिल्ली ओली, भेरी–भिम प्रसाद अधिकारी, कर्णाली–रामबहादुर देवार र सेती–महाकाली ब्युरोमा लोकबहादुर पल्ली मगरलाई बैठकले संयोजक तोकेको छ ।

त्यसैगरी पेशागत संगठनमा अटो–यातायात मजदूर संघ गोकुल दाहाल, होटल पर्यटन तथा एयरपोर्ट मजदूर संघमा होम सुवेदी, निर्माण, हाइड्रो, ग्रीलमा मजदूर संघमा युवराज आचार्य, उद्योग मजदूर संघमा कृष्ण क्षेत्री, स्वास्थ्य तथा सरसफाई मजदूर संघमा भिमसेन बुडाथोकी, सेक्युरीटी मजदूर संघमा नविन सुवेदी, सिलाई ग्रामेन्ट तथा टेक्सटाय मजदूर संघमा देव परियार, गलैचा मजदूर संघमा बुमुरा कोर्मोचा, सेल्स, तथा कवाडी मजदूर संघमा सुनिल सिलवाल र कृषी तथा चिया मजदूर संघको जिम्मेवारी विजय दर्नाललाई दिएको छ ।