गीतकार विप्लव

 

गीतकार विप्लव

कसले बनायो दाजै उडी जाने बस
हाम्रो देशै उठायो, हाम्रो साखै उठायो
हररर उडेर नजाउन है,
नबनाई कहाँ हुन्छ आफ्नै देशलाई ….. 

अहिले चर्चामा रहेको यो गीतका लेखक को होलान् ? गीत सुनेर यो प्रश्न गर्ने हो भने कोही ‘प्रगतिशील’ साहित्यकार वा गीतकारको नाम हाम्रो कल्पनामा आउन सक्छ । तर, यसलाई कुनै नाम चलेका ‘साहित्यकार’ले लेखेका होइनन् । यसका लेखक हुन्, नेत्रविक्रम चन्द विप्लव ।
यो त्यही नाम हो, जसलाई पछिल्लो समय ‘आज नेपाल बन्द छ’ भन्दा सुरुमा लिइन्छ । यस्तो किन भने विप्लवको पार्टी नेकपा (माओवादी)ले अहिले पनि आफूलाई क्रान्ति गरिरहेको बताउँछ र त्यही क्रान्तिबाट समाजमा परिवर्तन ल्याउने अजेन्डा बोकेको छ । र, उसले पछिल्ला महिनामा कयौँपटक बन्दको आह्वान गरेको छ ।

युद्धलाई माध्यम बनाएर समाजमा परिवर्तन गर्छु भन्ने विप्लवले युद्धका रणनीति बुन्न थालेको चाहिँ वर्षांै भइसक्यो । तत्कालीन नेकपा माओवादीमा पनि उनले विभिन्न युद्धका लागि रणनीति बनाए ।

कम्युनिज्मको ‘ग्राउन्ड’ मानिने रोल्पा र रुकुममा रहेर विप्लवले देशभरका युद्धनीतिको योजना मात्र बनाएनन्, तत्कालीन पार्टीमा संघर्ष पनि गरिरहे ।
त्यही संघर्षबाट हुर्केका विप्लवको मनमा पनि अनेक भावना पक्कै जन्मिए । त्यस्ता भावनालाई उनले यत्तिकै जान दिएनन्, बरु कापीमा उतार्न थाले । त्यही प्रयासको फल मान्नुपर्छ, नेताको मात्र होइन, विप्लवसँग गीतकारको परिचय पनि छ ।

मंगलबार कलंकी चोकबाट केहीभित्र डेरामा विप्लवसँग कुरा गर्न समय मिलाउँदा उनले सोचेका रहेछन्– हाम्रो राजनीतिककेन्द्रित कुरा हुन्छ ।
त्यसैले हुनुपर्छ, ‘आजचाहिँ हामी तपाईंको गीत लेखन यात्राको कुरा गरौँ,’ भन्दा उनी मुसुक्क हाँसे र यसरी प्रस्तुत भए, मानौँ उनले आफ्नो मुडलाई पूरै युटर्न गरे ।
‘गरौँ न त,’ उनको पहिलो प्रतिक्रिया थियो ।

त्यसपछि उनलाई दोस्रो प्रश्न सोध्नै परेन । उनले थपे, ‘मान्छेलाई राजनीतिक धारबाट जसरी बुझिएको हुन्छ, त्यो मात्रै यथार्थ जीवन होइन । जीवन जति कठोर र ढृढजस्तो देखिन्छ, ऊभित्र उत्तिकै सरलता, कोमलता, उद्देलना र सम्वेग पनि हुन्छ । ’
आफूबारे बनेको ‘इमेज’लाई खण्डन गरिसकेपछि विप्लव एकछिन रोकिए  । र, फेरि थपे, ‘अन्दोलनवाट स्थापित केही भावहरू हुुन्छन्, नेतामा पनि, कार्यकर्तामा पनि । त्यसको एउटा प्रकारको छाप हुन्छजस्तो लाग्छ । तर, आमरूपले सत्यबाहेक हरेक मान्छेमा वीरता र भावना सँगै हुन्छजस्तो मलाई लाग्छ । म आफूमा पनि क्रान्तिकारी चेत मात्र होइन, भावनाको संगम पनि सँगसँगै पाउँछु ।’
आखिर यस्तो संगम किन देख्छन् त विप्लव आफूमा ? राजनीतिमा तल्लीन उनी किन लेख्छन् शब्दहरू ?
माक्र्सवादबाट प्रेरित विप्लव यो कुरामा पनि माक्र्सकै उदाहरणको सहयोग लिन्छन् । माक्र्सले भनेका थिए– लेखन पनि एउटा महत्वपूर्ण पाटो हो, अध्ययन पनि । विप्लव पनि राजनीति र साहित्यलाई एकअर्काका परिपूरक मान्छन् । ‘यी त एउटै रथका दुई पांग्रा हुन्,’ अब विप्लवको अनुहार झन् उज्यालो देखियो, ‘तर, बाहिर मेरो साहित्यिक पाटोबारे धेरै थाहा छैन, पार्टीभित्रचाहिँ स्थापित छ ।’

०००

राजनीतिक रणनीति र अजेन्डा बनाउन विप्लव पार्टीका कार्यक्रमलाई प्रमुख आधार बनाउँछन् । तर, गीत लेख्न के गर्छन् त ?
के उनी यही ठाउँमा बसेर लेख्छन्, जहाँ हामी कुरा गरिरहेका छौँ ? ‘डल्फिन’ कुर्सीमा बसेर गीत लेखनका कुरा गरिरहेका  विप्लव कतिवेला र कहाँ गीत लेख्छन् ?
गीत लेख्नका लागि उनलाई निश्चित समय र स्थान चाहिँदैन, मुड चाहिन्छ । र, अधिकांश उनलाई मुड आउँछ, रातिको ८-९ बजेतिर ।
‘राति अबेर बसेर म लेख्दिनँ,’ उनी भन्छन् ।
विप्लव अहिले घरमा पत्नी, छोरा र केही सहयोगीसँग बस्छन्  । तर, उनको गीत पहिलोपटक उनीहरू कसैले सुन्दैनन् । ‘माइला लामाले मेरा गीत पहिलोपटक पढ्ने, सुन्ने गर्नुहुन्छ,’ उनी भन्छन्, ‘उहाँले नै संगीत भर्नुहुन्छ, गायनका अरू प्रक्रियामा लैजानुहुन्छ ।’
तर, गीत लेख्न उनलाई केही विषयले मुटुमै प्रहार गर्नुपर्छ । ‘चसक्क जेले छुन्छ,’ उनी भन्छन्,

‘त्यही विषयमा लेख्न बस्छु ।’
माथिको गीत पनि उनले यस्तै मुटु छोएको प्रसंगका कारण लेखेका हुन् ।
विप्लवले जति राजनीतिक आलोचना खेपिरहेका छन्, माइला लामाको संगीतमा निर्मला घिसिङले स्वर दिएको यो गीतका कारण त्योभन्दा धेरै प्रशंसा बटुलिरहेका छन् । तर, यसको रचनागर्भ अरू परिस्थितिजस्तै विप्लवको राजनीतिक यात्रा नै हो ।

‘ संगठन निर्माणका लागि एक वर्षअगाडी म कतार र दुबई  पुगेको थिएँ,’ उनी भन्छन्, ‘त्यहाँ जादा नेपालीहरू एयरपोर्टबाट प्लेनमा प्रवेश गर्दै गरेको दृश्य, प्लेनभित्र नेपाली युवालाई गरिने व्यवहार, युवाहरू उता पुगेपछि त्यहाँको एयरपोर्टमा पाउने व्यवहार, काममा गएपछिको उनीहरूको जीवन र अनि नेपाल सबै देखे–हेरेपछि मनमा पैदा भएको तरंगले यो गीत जन्मायो ।’
मन हल्लिएकैले हुनुपर्छ विप्लवले यो गीतको खेस्रा दुबईमै कोरेका थिए । ती दृश्यले नेपाल फर्किएर आउँदा पनि उनलाई ‘हन्ट’ गर्न छाडेनन् । नेपाल आएलगत्तै उनले गीतलाई पूरा गरिहाले ।
‘एककाइसौँ शताब्दीमा पनि नेपालीहरूले कसैको गुलामजस्तो जिन्दगी अर्काको देशमा बिताइरहेको देखेपछि मनभित्र उद्देलना पैदा गराइरह्यो, गीत नलेखिरहन सकिनँ, केही खेस्रा त्यहीँ कोरेको थिएँ, बाँकी गीतलाई नेपाल आएपछि पूरा गरेँ,’ उनी यो विषयमा कुरा गर्दा पनि भावुक देखिए, मानौँ, ती दृश्य उनको मनमा कैद भएका छन् र यी प्रसंग निस्कँदा ती रिलझैँ घुम्छन् ।

०००

तर, विप्लवले गीत लेख्न थालेको आजबाट वा त्यही दुबई यात्राबाट होइन । उनले पहिलो गीत २०५४ सालमा लेखे ।
त्यतिवेला उनी राज्यको अपरेसन ‘किलो सेरा टु’ लाई विफल पार्न लागिरहेका थिए । कर्णालीलाई कार्यक्षेत्र बनाएका विप्लवले जे भोगिरहेका थिए, त्यसले मनलाई निमोठिरहेको थियो ।
यो त्यतिवेलाको कुरा हो । राज्यले माओवादीविरुद्ध सशक्त कारबाही सुरु गरेको थियो । तर, माओवादी पनि आफूलाई झन्झन् बलियो बनाउँदै थियो ।
एकदिन कर्णालीको माल्कोटमा महिलाहरूले प्रहरीका हतियार खोसे । त्यसपछि प्रशासन झन् उग्र बन्यो । खेतमा गएका, जंगलमा घाँस दाउरा काट्न गएका युवा उसको टार्गेट बने, उनीहरू मारिन थाले ।

युद्धका लागि आफूलाई तयार बनाएका विप्लवलाई एकातिर यी कदमले बलियो बनाइरहेको थियो भने अर्कोतिर उद्वेलित पनि । अनि मनको त्यो कमजोर पाटोलाई उनले शक्तिमा बदल्न गीत लेखे– रगतै बग्यो नि, बर्खेनी भेल सरी ….।
यो गीतले उनलाई सिर्जना कर्ममा यसरी लोभ्यायो कि अहिलेसम्म उनले दुई दर्जनजति गीत लेखिसकेका छन् ।
संयोग मान्नुपर्छ, ढिलो लेख्न सुरु गरेका विप्लवले जति गीत लेखेका छन्, ती सबै प्रशंसित छन् ।

०००

विप्लव गीत लेखनलाई सिर्जनाको पाटो मात्र मान्दैनन् । गीतले नै युद्धको नीति अख्तियार गरिरहेको पार्टीका कार्याकर्तालाई उत्साह तथा जोश भर्ने उनको धारणा छ ।
‘मेरा अधिकांश गीत पनि त्यस्तै छन्,’ उनी विगतमा फर्किन्छन्, ‘२०६२ सालमा चुनवाङ बैठकवाट फर्किंदाँ कमान्डर किमबहादुर थापा (सुनील) सेनाको आक्रमणमा मारिए । मलाई त्यसले दुखित बनायो र गीत लेखेँ ।’

उनको गीत त्यतिवेला पार्टीका लागि सबैभन्दा बलियो हतियार सावित भयो । कमान्डर सुनीलको मृत्युपछि माओवादी सेनाभित्र नै असन्तुष्टि र विरक्तका स्वर बढी सुनिए । उनले गीत लेखे– जंग हो, साथी जंग ….।

पार्टीका कमान्डर र सेनाले यही गीत गाउन थाले र आफूलाई युद्धभूमिका लागि तयार पारे ।
‘युद्ध भनेको सचेत क्रान्तिकारीहरूले लड्ने हो, युवाहरूले लड्ने हो, यसलाई बचाउनुपर्छ, ठूला–ठूला क्षतिहरू हुन्छन्, त्यससँग जुध्न सक्नुपर्छ भन्ने खालका अन्तरा राखेर जंग हो साथी जंग लेखेको थिएँ,’ उनी यो गीत सुनाउँदा अहिले पनि आन्दोलितजस्तै देखिन्छन्, ‘क्रान्तिकारीहरू भनेको शान्त तलाउ होइन, गर्जिने भेलजस्तो हुनुपर्छ । मन्द हावा होइन, आँधी तुफानजस्तो हुनुपर्छ, त्यसलाई पचाउनुपर्छ भन्ने आशय यो गीतमा थियो । कलाकार भाइबहिनीले यसलाई झन् क्रान्तिकारी रूपमा गाउनुभयो ।’

क्रान्तिका लागि गीत लेख्न सुरु गरेका विप्लवलाई कालान्तरमा माओवादी शान्ति प्रक्रियामा आएको चित्त बुझेन । यसले उनको राजनीतिक यात्रामा अर्को एउटा मोड ल्यायो । उनले पार्टीमा आन्तरिक संघर्ष गरे, र आफैँले नयाँ पार्टी गठन गर्दै नेतृत्वमा लिए ।
राजनीतिक रूपमो शान्ति प्रक्रियापछिका माओवादीका गतिविधि मन नपरे पनि केचाहिँ सत्य हो भने विप्लवले त्यसपछि गीत लेखनको यात्राको स्पिड बढाए ।

यतिवेला उनको मनमा पार्टी नेताका विषयमा अनेक भावना उठ्थे । ‘सहरमा आएपछि हामीले गाउँका जनतासँगको सम्बन्ध तोड्यौँ भन्ने भ्रम फैलियो,’ उनी भन्छन् । त्यो भ्रमलाई चिर्न
उनले लेखे–
‘माछी र पानी भने नि हुन्छ
नङ र मासु भने नि हुन्छ….

‘१० वर्षे भीषण लडाइँका वेला हामी जनताकै बीचमा थियौँ, नजिक भएपछि एकले अर्काेलाई छोड्ने अवस्था थिएन, तर शान्ति प्रक्रियापछि पार्टी सहरमा आयो । गाउँका जनताले के सोचेका होलान् भन्ने मेरो मनमा खेलिरहन्थ्यो । हामी सँगै हुन्छौँ, जनतासँगै छौँ भन्नका लागि मैले यो गीत लेखेँ,’ उनी भन्छन् ।

०००

विप्लवको गीतियात्रा झन्झन् उर्वर हुन थाल्यो । यस्तो किन भने उनलाई पार्टीकै नेताहरूले मात्र होइन, कार्यकर्ताले पनि गीत लेखनका कारण प्रशंसा गर्न थाले । त्यति मात्र होइन, पार्टीइतरका मानिसले पनि उनले लेखेको गीत सुनेको प्रसंग निकाल्न थाले । त्यसपछि लेखनमा झन् हौसिए विप्लव ।
यस्तै एउटा प्रसंग सम्झन्छन् उनी, ‘पार्टीभित्र–बाहिर हामीबीच नै विभिन्न अजेन्डामा अन्तरसंर्घष सुरु भयो ।’ एकातिर आफ्ना विचारमा विप्लव अडिग थिए भने अर्कोतिर कार्यकर्ता यसमा विश्वस्त थिएनन् । ‘उनीहरू भन्थे– बाबुराम–प्रचण्डसँग कसरी लड्न सकिन्छ ?,’ विप्लव ठ्याक्कै त्यही समयको जस्तो भावभंगीमा भन्छन्, ‘मैले कार्यकर्तालाई सम्झाउनु थियो । राजनीतिक रूपमा सम्झाएकै थिएँ । तर, कलाको सहयोग पनि लिने निणर्य गरेँ र गीत लेखेँ ।’
पार्टी कार्यकर्तालाई आफ्ना अजेन्डामा विश्वस्त बनाउन र संघर्षका लागि निरन्तर लागिरहन उनले लेखेको त्यो गीत थियो– तुफानमा जिउने सागरको माझी ..’  ।
एकातिर यो गीत कार्यकर्ताको जिब्रोमा झुन्डियो भने अर्कोतिर माओवादीकै केही नेताले उनलाई बधाई पनि दिए ।

‘यो गीत दिवाकर (पोष्टबहादुर बोगटी) दाईलाई साहै मन परेको रहेछ, उहाँ जीवित हुँदासम्म भेट हुँदा यो गीतबारे कुरा गरिरहनुहुन्थ्यो,’ उनीसँग अहिले पनि ती सम्झना ताजै छन्, ‘अब पार्टी बिग्रियो, नेताहरूसँग पनि लड्न सकिन्न भन्ने परिरहेका वेला यो गीतले युवाहरूमा आँट दियो । आखिर मेरो अपिल पनि त्यही थियो ।’

पार्टीमा विप्लवको लेखनले चर्चा पाउन थालिसकेको थियो । संविधानसभाको पहिलो निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । राजनीतिमा अनेक उथलपुथल देखिन थाले । त्यतिवेला प्रचण्डले पार्टीमा निर्देशन गरे, ‘हाम्रो लडाइँ सकिएको छैन,
तयार बस्नुपर्छ ।’
विप्लव पनि तयारीमा लागे । पार्टीगत तयारी त छँदै थियो, उनले कलालाई पनि साथ लिए । अनि लेखे–
जागै बस साथी,
जागै बस
यतिमात्रै होइन, कैलाली जिल्लाको ढुडेझारीमा शान्तिकालमै राज्यले सुकुम्बासी बस्तीमा गरेको निर्मम दमनलाई प्रतीक बनाउँदै पनि गित लेखे । राज्यले बर्बर दमन गरी झन्डै आधा दर्जन सकुम्बासी मारेपछि उनले ‘यो शासन थेग्न कठिन छ साथी…’  बोलको गीत लेखे ।

माओवादी पार्टीभित्र तीव्र अन्तरविरोध चलिरहँदा विप्लवले पालुङटार बैठकको सेरोफेरोमा पनि एउटा गीत लेखे । पालुङटारमा माओवादीको ठूलो बहस भयो । माओवादीभित्रै प्रचण्ड, किरण र बाबुरामका अलग–अलग दस्ताबेज आए । किरणको दस्तावेजसँग उनी सहमत थिए । उनले क्रान्तिकारीहरूसँग सही विचार भयो भने मात्र त्यसले क्रान्तिलाई अगाडी बढाउन सक्छ भन्ने ठानेर गीत लेखे, ‘क्रान्तिकारीको विचार सही…’.

‘जीवन विचारमै हुन्छ । क्रान्तिकारी आदर्श बोेकेको मान्छेको भौतिक आवश्यकता पनि हुन्छ, तर मुख्यतः जीवन हराभरा हुने कुरा भनेको विचारले नै हो भन्ने सन्देश प्रवाह गर्न त्यो गीत लेखिएको थियो,’ नयाँ पत्रिकासँग गफिँदै उनले थपे । उनका राष्ट्रभक्तिपूर्ण गीतहरू पनि छन् । ‘मातृभूमिमा फूल फुलाउने…’ जस्ता गीत पनि उनले लेखेका छन् ।

०००

विप्लवलाई गीत लेख्न घटनाले मात्र प्रेरित गरेको भने होइन । रामेश, रायन तथा मन्जुलका गीत सुनेर हुर्किएकाले पनि उनी क्रान्तिकारी गीततर्फ लम्केका हुन् । त्यसमाथि जीवन शर्माका गीतहरू सुन्दा उनको मनमा झन्झन् शब्दप्रतिको मोह बढ्न थाल्यो । ‘ती गीतले मेरा मन छुन्थे,’ उनी भन्छन्, ‘शब्दसँग माया गर्न मणि थापा, माइला लामाहरूले लेखेका गीतको पनि भूमिका छ ।’
गीतमा लत बसिसके पनि विप्लवले आजभोलि कुनै वाद्यवादनका सामग्री बजाउँदैनन् । तर, युवा कालमा उनी गीतार बजाएर लामै समय बिताउँथे । ‘बजाउनु मेरो बसको काम होजस्तो लागेन,’ उनी भन्छन्, ‘यसमा कहिल्यै मन गएन ।’

०००

आफ्ना गीतका प्रसंग सुनाउँदा विप्लव कहिले भावुक हुन्छन्, कहिले मुस्कुराउँछन् । यस्तो किन भने उनले गीतमाथि पाउने प्रतिक्रिया फरकफरक हुन्थे ।
पार्टीभित्रै पनि संघर्षको आह्वान गरेर लेखिएका गीतमाथि उनीसँग नेताहरूले पनि कुरा गरे । ‘तर, उहाँहरूको नकारात्मक प्रतिक्रिया आएन,’ उनी सम्झिन्छन्, ‘प्रचण्ड कमरेडले पनि गीतको प्रशंसा गर्नुहुन्थ्यो ।

एकपटक चितवनमा प्रशिक्षण थियो । माइला लामालगायतका कलाकारले पार्टी आन्दोलनमा देखा परेको विचलन, राजनीतिक भडकाव प्रतिविम्बित गर्ने गीत गाउनुभयो । गीत सुनेर प्रचण्ड कमरेड सायद खुसी नै हुनुभयो, उहाँले मलाई पनि गाउन अनुरोध गर्नुभयो ।’
‘मैले लय हालेर गाइनँ, तर शब्दहरू सुनाएँ,’ उनी हाँस्छन्, ‘त्यतिवेला मलाई लागेको थियो– प्रचण्ड कमरेड हामी सँगै छौँ भन्ने भावका गीत सुन्न चाहनुहुन्थ्यो, त्यस्तै लेखिदिए हुन्थ्यो भन्ने चाहनुहुन्थ्यो ।’

०००

गीतकार विप्लव लेखिसकेलगत्तै आफ्नो गीतमा त्यति रम्दैनन्, जति त्यसमा संगीत भरेपछि र स्वर दिएपछि आनन्द मान्छन् । ‘संगीत र स्वर भरेपछि झन् मीठो लाग्छ,’ उनी भन्छन्, ‘जनता, कार्यकर्ताले मन पराएको थाहा पाउँदा झन् खुसी लाग्छ ।’

उनी आफैँलाई चाहिँ आफैँले लेखेको गीतमध्ये सबैभन्दा बढी ‘माछी र पानी भने नि हुन्छ,’ ‘जंग हो साथी जंग’ र पछिल्लो ‘उडी जाने बस’ बोलको गीत सबैभन्दा बढी मन परेको बताउँछन् ।
राजनीतिक आन्दोलनको संघर्षलाई उनले साहित्य कलाको आन्दोलनको पनि संघर्ष ठानेका छन् । नेपालमा प्रगतिशील साहित्य, जनवादी कला साहित्य कमजोर छैन । बढीभन्दा बढी मान्छेलाई यसले तानेर ल्याएको छ ।

साहित्य र संस्कृतिमा राजनीति हुनुहुँदैन, विचार हुनुहुँदैन, राजनीतिबाट टाढा बस्नुपर्छ भन्ने आर्दशवादी सोचसँग उनी सहमत छैनन् ।
‘त्यो त सामान्ती, पुँजीवादी सोच हो । नेपालमा त्यो लगभग –लगभग कमजोर भएको छ । अहिले त हुँदाहुदै हिरो–हिरोइन पनि राजनीतिमा आउने र राजनीतिक विचारभन्दा बाहिर रहेर आफ्नो विकास र रक्षा नहुने स्थिति निर्माण हुन पुगेको छ । यो राम्रो हो,’ विप्लव भन्छन्, ‘कला साहित्यले राजनीतिलाई गाइड गर्नुपर्छ ।’

मूलधारको राजनीतिबाट अलग्गिएका विप्लव आफ्नो अजेन्डालाई सार्थक बनाउन क्रान्तिको उद्घोष गरिरहेका छन् । यसलाई आफ्ना गीतले ‘हेल्प’ गरिरहेको उनी मान्छन् ।
सायद, अहिले पनि उनी राजनीतिक भाषण गरिरहँदा आफ्नै गीत सम्झिँदा हुन्–
‘यो शासन थेग्न कठिन छ साथी…’
               

                                                                    रामकृष्ण अधिकारी               नयाँ पत्रिका