उत्पादक र उपभोक्ता मारमा बिचौलीयाको मालामाल सरकार निरीह

- बिचौलीयाको चार तह

vegtable१९ असोज, काठमाडौं । भनिन्छ खुला अर्थतन्त्र माफिया हरुको पक्षपोषण गर्ने अर्थनिती हो। त्यसको जलन्त उदाहरण हो कृषकले उत्पादनको मुल्य नपाउनु र बिचौलीयाको मालामाल।

 राजमार्गको छेउमा ढक र तराजु लिएर बस्ने संकलन केन्द्रका व्यापारीले किसान र ठूला व्यापारीको बीचमा क्षणिक मध्यस्थता गर्छन् । तर, सबैभन्दा बढी नाफा उनीहरू कमाउँछन् ।

किसानले महिनौँ लगाएर उत्पादन गरेको तरकारी केही क्षण जम्मा गरेबापत २० प्रतिशतसम्म नाफा राखेर मुख्य सहरका ठूला थोक बजारमा पठाउँछन् ।

ठूला थोक व्यापारीले नाफा-घाटा हेरेर तरकारी मौज्दात राख्दै बजारमा पठाउँछन् । १० प्रतिशतसम्म नाफा राख्ने मात्र होइन, बजार मूल्यसमेत उनीहरूले नियन्त्रण गर्न सक्छन् । तर, ठूला थोकबाट काठमाडौंको बालाजु, लगनखेल, नख्खु, टुकुचाजस्ता सहकारी, समिति वा संगठित व्यवसायीले सञ्चालन गरेको बजारसम्म तरकारी ढुवानी हुने गरेको छ ।

उपभोक्ता आफैँ थोक बजार गएर पनि तरकारी खरिद गर्न सक्छन् । तर, यस्तो ठाउँ निश्चित भएकाले सबै उपभोक्ता त्यहाँ पुग्न सक्दैनन् ।

अझ कालिमाटीजस्ता बजारमा त एक ढकभन्दा कम तरकारी किन्न पाइँदैन । त्यसले पनि उपभोक्ता मूल्य बढाउँछ । उपभोक्ताको पनि पहुँच हुने भएकाले थोक बजारबाट औसतमा पाँच प्रतिशत नाफा राखेर खुद्रामा तरकारी पुग्छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारीको थोक तथा खुद्रा मूल्य निर्धारण गर्छ ।

तर, तोकिएको खुद्रा मूल्यमा उपभोक्ताले तरकारी पाउँदैनन् । तरकारीका खुद्रा व्यापारी संगठित छैनन् । त्यसैले तिनले आफूखुसी मूल्य तोक्ने गरेका छन् । हाट बजार, ठेलागाडा, किराना पसललगायतले थोक व्यापारीबाट किनेको मूल्य पसलपिच्छे फरक हुन्छ ।