नेपालको अर्को हार

 

nepali-women-cricket-team

आश्विन २३, २०७३- नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आईसीसी महिला विश्वकप २०१७ एसियाली छनोटको पहिलो खेलमा आइतबार आयोजक हङकङसँग ६ विकेटले पराजित भएको छ ।टीन क्वङ रोड रिक्रिएसन ग्रान्ड (मिसन रोड ग्रान्ड) मा टस जितेर ब्याटिङ सुरु गरेको नेपाल १९.२ ओभरमा ७७ रन बनाएर अलआउट भएको थियो । हङकङले १६.३ ओभरमा ६ विकेट गुमाएर ७८ रन जोड्दै छनोटमा सुखद सुरुआत गरेको हो ।

सी वान यिपको ३३ रन सहयोगमा सहज जित हात पारेको हङकङलाई नेपालले कुनैपनि समय दबाबमा राख्न सकेन । सहज क्याचमा भेट्रान नीरा राजोपाध्यााय र निर्मला शाही चुक्नुले पनि घरेलु टिमको जित यात्रालाई सजिलो पारेको थियो । उनीहरुले बाउन्ड्रीनजिक क्याच लिने अवसर चुकाउदा दुईपल्टै चौका पनि रोक्न सकेका थिएनन् ।‘ती क्याच मिस नगरेको भए हङकङलाई अन्तिमसम्म पनि दबाब दिनसक्थ्यौं,’ नेपालका प्रशिक्षक राजु बस्न्यातले भने, ‘फिल्डिङमा समस्या देखियो । अर्को खेलमा सुधार गर्ने अपेक्षा गरेको छु ।’ नेपालले उही मैदानमा सोमबार थाइल्यान्डको सामना गर्दैछ । थाइल्यान्डले छनोटको पहिलो खेलमा चीनलाई ७५ रनले थियो ।

हङकङको इनिङ्समा निर्मलाले दुई तथा करुणा भण्डारीले एक विकेट लिएका थिए भने उसका एक ब्याटसवुमनलाई नेरी थापाले रनआउट गरेकी थिइन् । दुई बर्षयता पहिलोपल्ट मैदानमा ओर्लिएको नेपालको ब्याटिङ पनि खास गतिलो भएन । पहिलो ओभरमै ज्योती पाण्डे (१ रन) आउट भइन् ।अनुभवी ब्याटसवुमन सीता रानामगर ४ रन बनाएर पवेलियन फर्कदा नेपालको स्कोर १८–२ भएको थियो । एक दशकयता भारतमा माथिल्लो स्तरको क्रिकेट खेलेकी निर्मला र सीताले ३ देखि ७ ओभरसम्म खेल्दा जम्मा ३ रन जोडेका थिए ।

‘त्यसबेला रनको गति बढाउन सकेको भए खेलको स्थिति फरक हुने थियो । त्यसैले रन रोकिनु नै हारको मुख्य कारण बन्यो,’ प्रशिक्षक बस्न्यातले भने । निर्मलाले नेपालको लागि सर्बाधिक १८ रन जोडिन् । उनले ३२ बल खेलेकी थिइन् । नेपालको इनिङ्समा एकमात्र छक्का प्रहार गरेकी कप्तान रुबिना क्षेत्रीले १४ बलमा १२ रन बनाइन् । त्यस्तै रश्मि चौलागाइले ११ रन जोडिन् ।

तीन खेलाडीको डेब्यू
हङकङसँगको खेलसँगै निर्मला शाही, ज्योती पाण्डे र सबनम राईले नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् । यससगै १४ सदस्यीय अहिलेको टिमका सबै खेलाडीले अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका छन् ।४ जित, ४ हार

सन् २००७ मा एसीसी वुमेन्स टुनोमेन्टमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपालले हङकङसँग बेहोरेको यो चौथो हार हो । पछिल्ला दुवै खेल हङकङले जितेको छ । हङकङले नेपालमाथि जित रचेको यो चौथोपल्ट हो । नेपालले पनि हङकङविरुद्ध चार खेल जितेको छ ।