नेपालको जीत

nepali-women-cricket-team

 बिहीबार, असोज २७ : आइसिसी महिला विश्वकप क्रिकेट एसियाली विश्वकप छनोटमा नेपालले हङकङलाई ६ रनले हराएको छ । हङकङको कोउलुन क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले आइसीसी महिला विश्वकप क्रिकेट २०१७ को एशियाली छनोटको खेलमा हङकङलाई ६ रनले हराएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७५ रनमै समेटियो । नेपालका लागि करुणा भण्डारीले १९ रन बनाइन् भने इन्दु बर्मा, १५, ज्योति पाण्डे ११ र नेरी थापाले १० रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

करुणा भण्डारी र सीता रानामगरले हङकङलाई अल आउट गर्नमा महत्वपूर्ण पाँच विकेट लिए । भण्डारी ३ र रानामगरले २ लिँदा निर्मला कुमारी, सबनाम राई र रुबिना क्षेत्रीले एक–एक विकेट लिए ।

आजको जितसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावना कायमै छ । जारी खेलमा शीर्ष स्थानमा रहेको थाइल्याण्डले ६ अंक जोडेको छ भने नेपाल र हङकङको बराबर ४ अंक छ । चीन भने २ अंकमा सीमित छ ।