बढ्दो महङ्गी घट्दो आम्दानी : वार्षिक मुल्यवृद्घि करीब ४० देखि ५० प्रतिशत

seityou

 यसपटकको दसैंमा उपभोक्ताले चर्को मूल्यवृद्धिको मार खेपे। सरकार भने लाचार मुख दर्शक भएर रमिता हेरीरहेको छ ।झन् ठूला चाडपर्वमा त व्यवसायीहरुले कृत्रिम अभाव नै सिर्जना गरि मूल्य बढाउने कोसिस गर्दछन्  यसबर्ष पनि उपभोक्ताहरुले मंहगीको मार खेपिरहेको छन् । मुल्यवृद्घि करीब ३० प्रतिशतको हाराहारीमा छ ।

आर्थिक वृद्धिदर र महङ्गी दुईवटा सँगसँगै आउने विषय हुन् । आर्थिक वृद्धि हुँदा व्यक्तिको क्रयशक्ति बढ्छ र वस्तुको माग बढ्न गई त्यसले मुल्यमा पनि असर पार्दछ भन्ने अर्थसास्त्रीय सिद्धान्त हो । तर आर्थिक वृद्धि र मुल्यवृद्धिको अनुपात मिलेन भने देशको अर्थव्यवस्थामा पनि यसले असर पार्दछ ।

गत आर्थिक वर्ष २०७२÷७३ मा आर्थिक वृद्धिदर शून्य दशमलब ७७ प्रतिशत मात्रै रह्यो जबकि यस आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतले आर्थिक वृद्धिको लक्ष्य लिइएको छ ।

तर यही आर्थिक वर्षमा ९ दशमलब ५ प्रतिशतले मुल्यवृद्धिको आंकलन गरिएकामा त्यो बढेर ९ दशमलब ७ प्रतिशत पुग्यो । यसको अर्थ व्यक्तिको आम्दानी वा क्रयशक्तिमा कमी आउनु भन्नु हो । अझ यो त राष्ट्र वैंकले दिएको तथ्याक मात्रै हो तर त्यस भन्दा पनि निक्कै बढी महंगीको मार नेपालीहरुले खेप्नु परेको अर्थ क्षेत्रका जानकारहरु बताउँछन् ।

गत आर्थिक वर्षमा भारतीय नाकाबन्दीको ठूलो असर देखिएकाले आर्थिक वृद्धि र मुल्यवृद्धिबीच व्यापक अन्तर भएको पाइएको छ । आर्थिक वर्ष २०७१/७२ लाई हेर्ने हो भने पनि आर्थिक वृद्धिको लक्ष्यभन्दा ज्यादै कम मात्रै वृद्धि भएको छ । ७१/७२ मा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकामा जम्मा २ दशमलब ३२ प्रतिशत मात्रै सम्भव भएको राष्ट्र बैंकको तथ्यांक छ । तर यस आर्थिक वर्षमा ९ प्रतिशतले मुल्यवृद्धि हुने आंकलन गरिएकामा त्यो ८ दशमलब ५ प्रतिशतमा सीमित राख्न सकिएको सरकारी तथ्याक छ ।

 

यस आर्थिक वर्ष २०७३/७४ मा सरकारले ६ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिको अपेक्षा गरेको छ । त्यसैगरी यस आर्थिक वर्षमा मुल्यवृद्धिलाई ७ दशमलब ५ प्रतिशतमा सीमित राख्ने सरकारी नीति छ । तर आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा मुल्यवृद्धि ८ दशमलब ६ प्रतिशत पुगेको छ । तर साउन महिनामा विकास बजेट कम खर्च हुने भएकाले मुल्यवृद्धि अन्य महिनामा भन्दा केही बढी नै हुने भएकाले यो सामान्य विषय भएको बताउँछन्, राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी ।
यस वर्ष सबैभन्दा बढी मुल्यवृद्धि  भएको छ । गतवर्ष यो समयमा उपलब्ध तरकारीको मुल्यभन्दा यसवर्ष २० प्रतिशतले बढेको छ । केही केही तरकारीजन्य वस्तुको मुल्य त ५० प्रतिशतभन्दा बढीले बढेको छ । गतवर्ष करिब ४० रुपैयाँ प्रतिकिलो रहेको काउलीको मुल्य अहिले ८० रुपैयाँभन्दा बढी छ । त्यसैगरी ३० रुपैयाँ प्रतिकिलो रहेको गोलभेंडाको मुल्य ९० रुपैयाँ छ भने ३५ रुपैयाँ प्रतिकिलो रहेको भिंडीको मुल्य ९० रुपैयाँ प्रतिकिलो छ र तरकारी चाडपर्वमा अन्य समयमा भन्दा बढी उपभोग हुन्छ ।
दशैंमा अत्याधिक प्रयोग हुने खाद्यवस्तु मासु हो । मासुमा यसवर्ष करिब १५ प्रतिशतले मुल्यवृद्धि भएको छ । गतवर्ष प्रतिकिलो ३ सय ६० रहेको राँगाको मासु अहिले ४ सय २० रुपैयाँको हाराहारीमा छ । त्यसैगरी प्रतिकिलो ३ सय रहेको कुखुराको मासुको मुल्य अहिले ३ सय ६० रुपैयाँ छ । त्यसैगरी गतर्वा ८ सय रहेको खसीको मासु अहिले ८ सय ५० देखि ९ सय रुपैयाँसम्म पुगेको छ र यो १५ प्रतिशतको हाराहारीको मूल्यवृद्धि हो ।

 लत्ताकपडामा गत वर्षभन्दा यसवर्ष १० देखि १५ प्रतिशतले वृद्धि भएको छ । चिनियाँ बजारमा करिब ५ प्रतिशतले वृद्धि भएको मुल्य नेपाली बजारमा आइपुग्दा करिब १५ प्रतिशतले वृद्धि भएको व्यापारीको भनाई छ ।
गतवर्ष नाकाबन्दीका कारण चर्को मुल्यवृद्धि भएकाले यसवर्ष कतिपय खाद्यान्नको मुल्य घटेको छ । तर आर्थिक वर्ष २०७१/७२ को मुल्य हेर्ने हो भने दैनिक उपभोग्य खाद्यान्नमा पनि करिब २० प्रतिशतले वृद्धि भएको छ । 

यद्यपी सरकारी अधिकारीहरु भने महंगी नियन्त्रणमा लागि परेको बताउँछन् । देख्नलाई सरकारी निकायले अनुगमन गरेको जस्तो देखिन्छ पनि तर त्यसले महंगी र बजार अराजकता नियन्त्रण गर्न नसकेको उपभोक्ताहरुको आरोप छ ।