भारत पाकिस्तान विच फेरी घामासान : ४८ घण्टा भित्र भारत छोड्न उच्चायोगका कर्मचारीलाई अल्टिमेटम

 indo-pak-rel

 
 नयाँ दिल्ली :कार्तिक १२ , जासुसी गरेको र गोपनीय रक्षा दस्तावेज चोरी गरेको आरोपमा पाकिस्तानी उच्चायोगका कर्मचारीलाई भारत सरकारले ४८ घण्टामा भारत छोड्न आदेश दिएको छ । रक्षासम्बन्धी कागजातका साथ प्रहरीले उनलाई दिल्लीमा रंगेहात पक्राउ गरेपछि भारतले यस्तो आदेश दिएको हो। पाकिस्तानी उच्चायुक्त अब्दुल बासितलाई भेटेर महमुद अख्तरलाई देश निकालाको आदेश दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले जानकारी दिएका छन्।

उनले भने, ‘पाकिस्तानी उच्चायुक्तसँग कुराकानी भएको छ। जासुसी गतिविधिमा संलग्न भएकाले पाकिस्तानी उच्चायोगका कर्मचारीलाई अनधिकृत व्यक्ति घोषणा गरिएको छ।’पाकिस्तानले भने भारतले आफ्ना कूटनीतिक कर्मचारीलाई हिरासतमा लिने र दुव्र्यवहार गरेको आरोप लगाएको छ। निराधार आरोप लगाउने भारतीय गतिविधि निन्दनीय भएको भएको उसको कथन छ। पाकिस्तानी उच्चायोगका कर्मचारी महमुद अख्तरलाई हिरासतमा लिएर भारतले ‘भियना सम्झौता’को उल्लंघन गरेको उच्चायुक्तले दाबी गरे।

पाकिस्तानका लागि जासुसी गरेको आरोपमा भारतीय प्रहरीले राजस्थानका दुईजनालाई पक्राउ गरेको थियो । ती दुवैजनासँग पाकिस्तानी उच्चायोगका कर्मचारी अख्तर पक्राउ परेका थिए। ३५ वर्षीय अख्तरबाट गोपनीय रक्षासम्बन्धी कागजात बरामद गरेको भारतीय प्रहरीको भनाइ छ। पाकिस्तानी गुप्तचर संस्था आइएसआईले अख्तरलाई दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा खटाएको र पछि भिसा विभागमा नियुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अख्तरका साथमा सुरक्षासम्बन्धी कागजात फेला परेपछि प्रहरीले उनलाई केरकार गर्दा आधार कार्ड देखाएका थिए।