यसरी बालीकाहरुलाई बलात्कार गरेका थिए शाही सेनाले : शान्ता श्रेष्ठ

shanta-didi

२०५७ साल वैशाख १० गते त्यो दिन बिहानै मनुजी (श्रीमती मनु हुमागाईं) दुईवटी केटीका साथमा मेरो घरमा आइपुगिन् । तीनैजनाले जुत्ता फुकाली मलाई बडो शिष्टतापूर्वक नमस्कार गरे । सारै अप्ठ्यारो र असजिलो मानी मेरो कोठाभित्र बसे । ती केटीहरूलाई मनुले भनिन्, ‘यता बस ।’
दुवै केटीहरू सोफामा नबसी तल कार्पेटमाथि सारै नै खुम्चेर बसे । तिनीहरूको अनुहार एकदमै अँध्यारो थियो । पहिरन पनि अत्यन्त साधारण— पुरानो सलवार, कुर्ता र ओढ्नी ओढेका थिए । आधा अनुहार त ओढ्नीभित्रै थियो । मेरो मनमा कुरा खेलिहाल्यो । ती केटीहरूलाई काममा लगाइदिन भन्न आएकी होलिन् मनु । मैले के काममा लगाइदिन सकुँला ? मेरो मन कोठामा नअटाई बाहिर पुग्न थाल्यो— सम्भावित कामको खोजीमा । मैले चिनेजानेका आफन्तहरूको मन छाम्न पुगेँ ।
 दिदी ! मैले बारम्बार यी नानीहरूका बारेमा तपाईंलाई जानकारी दिएकी थिएँ । आज साक्षात्कार गर्न ल्याएँ । यी नानीहरू सामूहिक बलात्कारका सिकार हुन्।’
म स्तब्ध भएँ । एकाएक मेरो कोठा अँध्यारो भयो । पूर्वमा उदाएको सूर्य पूर्वमै अस्ताएको देख्न थालेँ । मैले ती नानीहरूको अनुहार हेर्न सकिनँ । कठै ! किशोरी अवस्थामा उकालिँदै गरेका कर्कलोको पातमाथिको शीतको थोपाजत्तिकै चम्किलो, ओठ निचोरे दूध निस्किएलाजस्ता नानीहरू सामूहिक बलात्कारका सिकार ?! मनमा अनेकौँ कुरा खेलाउँदै बिस्तारै तिनीहरूको अनुहार हेरेँ । दुवैजनाको अनुहार खुट्टामाथि घोप्टिएका थिए ।

मानौँ अन्धकार भविष्यको फाँटमा टेक्दै मेरो कोठासम्म आइपुगेका खुट्टासित प्रश्न गरिरहेका थिए— अब यहाँबाट कहाँ पुग्नुपर्ने हो ? खुट्टाका औँलाहरूलाई मायाले सुम्सुम्याइरहेका थिए कलिला हातका औँलाहरूले । नाक रसाइरहेकाले बारम्बार रुमालले नाक पुछिरहेका थिए । विरह, व्यथा र अन्योलपूर्ण भविष्यले मलीन अनुहार, अत्यन्त सुस्त शरीर, आँसु चुहिरहेका दुई जोडी आँखा, खुट्टामाथि घोप्टिएको अन्योल अवस्थाले मेरो मुटु छामेको आभासले म चिसो छट्पटीमा थिएँ । कोठा चुपचाप र स्तब्ध थियो । मानौँ मानवशून्य झ्यालखाना । कोठाको मौनता भङ्ग गर्दै मैले भनेँ, ‘मनुजी ! पहिले हामी केही खाऊँ । अनि कुरा गरौँला हुन्न ?’

‘चिया त खाएरै आएका हौँ दिदी, दुःख नगर्नुस् ।’
‘मलाई केको दुःख ? यो त मेरो सौभाग्य हो यी नानीहरूसित बसी चिया खान पाउनु । तपाईंहरू यी पत्रिकाहरू हेर्दै गर्नुस्, म ५ मिनेटमै आउनेछु ।’
मनुजी दुःख नगर्नुस् भनी कराउँदै थिइन्, म माथि बुइँगलमा पुगिहालेँ । चिया, फुल र बिस्कुट लिई तल कोठामा आएँ । तीनैजनालाई चिया खान आग्रह र अनुरोध गरेँ । ती नानीहरूले मनुजीलाई पुलुक्क हेरे । उनले भनिन्, ‘खाऊ । अप्ठ्यारो मान्नु पर्दैन । दिदी ! तपाईं पनि खानुस् न ।’
‘म चिया मात्र खान्छु ।’

नानीहरूका अनुहार घोप्टेका घोप्टेकै थिए । हातका औँलाहरू बिस्कुटमा खेल्न थाले । नाक बढी रसाएकाले रुमालले पुछ्दापुछ्दा नाकको टुप्पा रातो भइसकेको थियो । मैले नरोऊ पनि भन्न सकिनँ ।
‘चिया सेलाउँछ । खाइहाल न’, मनुले भनिन् ।
कठै ! आमाबाबुको छत्रछायामा खेल्दै लेखपढ गरी भविष्य सपार्ने स्वर्णिम समयमा घृणित, अत्याचारी, राक्षस प्रहरीहरूबाट गरिएको सामूहिक बलात्कारले अर्धजीवित अवस्थामा कहिलै निको नहुने घाउ लिएर बाँच्न बाध्य छन् यी नानीहरू !
‘दिदी ! यी नानीहरूको विहङ्गम व्यथाका बारेमा मैले तपाईंलाई केही त जानकारी गराइसकेकी थिएँ । अब यिनीहरूकै मुखबाट सुन्नुस् जल्लाद प्रहरीहरूको सामूहिक बलात्कारको सिकार कसरी भएका थिए । यिनी सुश्री दिव्यज्योति थापा, वर्ष सत्रकी । यिनी कुमारी निर्मला पुन वर्ष तेह्रकी ।’
दिव्यज्योति थापा— नामअनुसारको रूप र रङ । गोरो अनुहारमा नाक, मुख, आँखा, शरीर सबै मिलेको थियो । त्यसमाथि उनको शिलस्वभाव आदिबाट उनी कुलीन, खातेपिते, घरानिया, शिष्ट परिवारकी छोरी भएकी उनकै आकृतिले औँल्याएको थियो ।

त्यस्तै निर्मला पुन— ताम्र वर्णकी थिइन् । उनको अनुहारमा पनि नाक, मुख, आँखा आदि मिलेकै थियो । यसो हेर्दा यिनको अवस्था दिव्यज्योतिको भन्दा केही कमजोरजस्तो देखिन्थ्यो । तर राम्रो संस्कारमा हुर्केकी हुन् भन्ने उनको बसाइ र आकृतिबाट स्पष्ट थाहा पाउन सकिन्थ्यो ।
‘दिव्यज्योति ! तिमीबाटै सुरु गरौँ । तिमीपछि निर्मलाको कुरा सुनौँ ।’

अचानक दिव्यज्योतिको अनुहार रातो भयो । त्यसमा गुलाबी काँढा तिखारिन थाले । आँखा रातो भई अग्नि बर्सिन मात्र बाँकी थियो । उनलाई मुख खोल्न अत्यन्त गाह्रो भैराखेको थियो । रुमालले नाक पुछिरहेकी थिइन् ।
कसरी भन्न सक्छे ? दिउँसै रात पारी आफ्नै आमाको अगाडि आफ्नै आमासँगै बारम्बार बलात्कार गरेका ? त्यति बेला त्यस अवर्णीय बलात्कारको कालो भूकम्प ममाथि नै खनिएको काल्पनिक दृश्यले मेरो मुटु निमोठ्न थालेको थियो । किशोरी जीवनमा योजतिको भयानक र अमानवीय अत्याचार अरू के हुन सक्छ ?

अभैm दिव्यज्योतिको मुखबाट शब्दहरू बाहिरिन सकेका थिएनन् । उनका ओठ कामिरहेका थिए । आँखाबाट बलिन्द्रधारा आँसु बगिरहेको थियो । उनले अनुहार घोप्ट्याएरै बिस्तारै भनिन्, ‘त्यो दिन २०५७ साल मङ्सिर २७ गते थियो । बिहानै प्रहरीहरूले अचानक हाम्रो घरमा हमला गर्न आउँदा म, मेरी आमा र ३ वर्षको भाइ मात्र थियौँ । आमा र मलाई लछारपछार पार्दै भुइँमा लडाए । हातखुट्टा बाँधेर चरम यातना दिए ।

त्यसपछि खुट्टाको डोरी मात्र फुकाली पशुलाई जस्तै घिसार्दै प्रहरी चौकीतिर लैजाँदै थिए । मेरो ३ वर्षको भाइ चिच्याइचिच्याइ रुँदै थियो । एक घन्टामा पुगिने चौकीमा ४ घन्टाको बाटोबाट घुमाउँदै पु¥याए । आमा र मलाई अलगअलग स्थानमा राखे । बेहोस नभएसम्म यातना दिए सइ रामसिं थापा र राजेन्द्र अधिकारीले । ती दुवै स्याङ्जा निवासी थिए । आमा र मेरो खुट्टामा एउटै साङ्लोले बाँधी बारम्बार ब…।’

त्यसपछि उनी बोल्न सकिनन् । खास्टोले मुख छोपी खुब रोइन् । मनु र म लाचार बन्दै शिर झुकाई किंकर्तव्यविमूढ हुन थाल्यौँ । गहिरोगहिरो उच्छ्वास छोड्नुबाहेक अरू केही भन्न वा गर्न सकेनौँ । हामी दुवैजना आँखामा भरिएको आँसु चूपचाप पिउँदै थियौँ । बिचरी निर्मला पुन डाँको छोडी रुन मात्र बाँकी थिइन् ।

उनको कलिलो अनुहार निलो हुँदै थियो । हिकहिक गर्दै दिव्यज्योति भन्न थालिन्, ‘एउटै साङ्लोले आमाको दायाँ खुट्टा र मेरो बायाँ खुट्टामा बाँधी बारम्बार बलात्कार गरे । मेरो योनीमा लट्ठी घोचे । म कुन बेला बेहोस भएँ ? चालै पाइनँ । बिहानदेखि पेटमा पानीसमेत परेको थिएन । मरणासन्न हुने गरी यातना, त्यसमाथि सामूहिक बलात्कार ।

योनीमा लट्ठीले घोचेर घुमाएको पीडा…। त्यति बेला हामी आमाछोरीले भोगेको शारीरिक यातना र अत्याचार मैले कसरी, कुन मुटु लिएर भनूँ ? त्यति बेला मर्न पाएको भए कति जाती हुन्थ्यो ! हामीलाई कालले पनि देखेन । मेरो ३ वर्षको भाइ रुँदै थियो । के भयो उसलाई ? मनमा ठूलो पिर थियो ।’

दिव्यज्योति फेरि रोइन् । यो संसारमा के रहेछ त ? गर्न हुने, गर्न नहुने, पाप र पुण्य ? ती जल्लादहरू जन्मेको पनि त आमाकै कोखबाट न हो । आज कोखको त्यत्रो अपमान ? त्यत्रो अत्याचार ?? त्यत्रो अमानवीय र घृणित कार्य ??? त्यति बेला आकाश किन खस्न सकेन ? पृथ्वी किन फाट्न सकेन ? यही हो मानवीय धर्म ? त्यस कुकृत्यको भत्र्सना कुन शब्दले गर्ने हो ? मेरो शब्दकोषमा शब्दहरू नै रित्तिएका थिए ।

                                                                                                                                                                         क्रमश: