दिग्गज कम्युनिस्ट नेता मोहनविक्रम सिंह संगको अन्तर्वार्ता

mb-singh-copy

(मोहनविक्रम सिंह नेपाली राजनीतिमा परिचय गराइरहनुपर्ने नाम होइन । तीसको दशकमा उनलाई नेपालको माओ भनेर चर्चा गरिन्थ्यो । नेपालमा कम्युनिस्ट कार्यकर्ता उत्पादन गर्ने कारखानाका रूपमा रहेका हाल नेकपा (मसाल) का महामन्त्री क. मोहनविक्रम सिंह ८२ वर्षको उमेरमा पनि उत्तिकै क्रियाशील छन् । रातो खबर साप्ताहिकका लागि रामशरण न्यौपाने र चिन्तामणि घिमिरेको सहयोगमा अनिल शर्माद्वारा गरिएको वार्ताको सम्पादित अंश प्रस्तुत गरिएको छ– रातो खबर)

  • कमरेड, सन्चै हुनुहुन्छ ? दिनचर्या कसरी बितिरहेको छ ?
    मेरो स्वास्थ्य सामान्यतः ठिकै छ । मधुमेह रोगको समस्या छ । अरू ठिकै छ । बिहान ४ बजे उठ्छु । काठमाडौँ भएको समयमा योगा गर्छु । अध्ययन र लेखन गर्छु । दिउँसो पार्टीको काम गर्छु ।
  • ८२ वर्षको उमेरमा पनि युवा कम्युनिस्टझैँ सक्रिय हुनुहुन्छ । त्यसको कारण के होला ?
    म खानपान एवम् स्वास्थ्यप्रति अनुशासन पालन गर्छु । विद्यार्थी जीवनकालदेखि नै म स्वास्थ्यप्रति सचेत थिएँ । अहिले पनि त्यो जारी छ । अर्को कुरा, क्रान्ति र परिवर्तनप्रति आशावादी, सक्रिय र जुझारु हुँदै आएँ । यी दुई कारणले गर्दा यो उमेरमा पनि म क्रियाशील हुन सकेको छु । अरू खास रहस्य केही छैन । स्वास्थ्यले विचारमा प्रभाव पार्छ; दृढ विचार र मनोबलले स्वास्थ्यमा पनि धेरै हदसम्म प्रभाव पार्छ । यसको द्वन्द्वात्मक सम्बन्ध हुन्छ । यसकारण मेरो स्वास्थ्य ठिकै छ ।
  • यहाँले जलजला उपन्यास लेख्दै हुनुहुन्छ भन्ने चर्चा छ । त्यो कृति पाठकको हातमा कहिलेसम्म पुग्ला ?
    जलजला उपन्यास म १५ वर्षदेखि लेखिरहेको छु । समय मिलाउन नसक्दा पूर्णता दिनसकेको छैन । समय दिनसकेको भए धेरै पहिले नै आउँथ्यो । बीचबीचमा समय निकालेर लेख्नुपर्ने, पार्टी काममा व्यस्त रहनुपर्ने भएका कारण ढिलो भएको छ । अब ५–६ महिनाभित्र पाठकसम्म पु¥याउने सोचेको छु । जलजलालाई मुख्य पात्र बनाएर नेपाल र विश्व कम्युनिस्ट आन्दोलनको चित्र यसमा उतार्ने कोसिस गरेको छु ।
  • प्रसङ्ग बदलौँ, देशको वर्तमान राजनीतिक परिस्थितिलाई यहाँले कसरी हेर्नुभएको छ ?
    हेर्नुस्, देशमा एकपछि अर्काे नयाँनयाँ समस्याहरू आएका छन् । सङ्कट थपिएका छन् । संविधानसभाको चुनावताका त्यस्तै भयो । पहिलो संविधानसभा संविधान नबनाइकन विघटन भयो । अहिले संविधान त बन्यो तर हामी त्यसप्रति पूर्ण सन्तुष्ट छैनौँ । बुर्जुवा दृष्टिकोणले पनि जुन प्रकारको संविधान बन्नुपथ्र्याे, त्यस्तो बनेको छैन । तैपनि जेजति उपलब्धि भएका छन् त्यसप्रति हाम्रो समर्थन छ । गणतन्त्र, धर्मनिरपेक्षता, महिला, दलितअधिकारजस्ता कतिपय मुद्दाका लागि हामीले लामो समयदेखि सङ्घर्ष गर्दै आएका थियौँ । ती कतिपय प्रश्नहरू संविधानमा समावेश छन् । संविधान लागू भएन भने देश झन् भयानक प्रतिगमनतिर जान्छ । त्यसकारण संविधान कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो ठहर छ । तर भारतले आफ्नो अनुकूलमा संशोधन गर्न दबाव दिइरहेको छ । त्यसकै लागि नाकाबन्दी लगायो । नाका खोल्न दिएन । त्यसप्रति ओली सरकारले लिएको अडान सही छ । त्यही कारण भारतले ओली सरकार विघटन गराउन भूमिका निर्वाह ग¥यो । भारतको त्यही उद्देश्य पूरा गर्न संविधान संशोधन प्रस्ताव आएको छ । यद्यपि संशोधन प्रस्तावमा भारतको अपेक्षा पूरै पूरा भएको छैन । पहाड र तराईलाई अलग गर्ने, तराई भारतमा गाभ्ने र घेराबन्दी गरेर कालान्तरमा पहाडलाई समेत सिक्किम बनाउने रणनीतिमा भारत छ । भारतको त्यही रणनीति पूरा गर्नका लागि संविधान संशोधन प्रस्ताव आएको छ । नेपालका राजनीतिक दलहरूमा ठूलो कमजोरी छ । यति ठूलो समस्या भएको छ तर उनीहरू यसलाई सामान्य प्रकारको समस्या ठान्छन् । उनीहरू दूरदृष्टि होइन भारतको स्वार्थमा काम गर्ने र आफ्नो स्वार्थमा तल्लीन भैरहेका छन् । गणतन्त्र ल्याउन र भारतीय हस्तक्षेपका विरुद्ध लड्नमा माओवादी जनयुद्धको ठूलो भूमिका छ तर त्यसको एउटा हिस्सा भारतको स्वार्थ पूरा गर्न लागिरहेको छ । यो समस्या ६ दशकदेखि पैदा भएको हो । भारतीय गृहमन्त्री सरदार बल्लभभाइ पटेलको कालदेखि पैदा भएको हो । त्यसका विरुद्ध लडेर खण्डित रूपमै भए पनि राष्ट्रियता बचाउन सफल भएका छौँ । हामी एकजुट भएर सङ्घर्ष ग¥यौँ भने देशलाई सङ्कटबाट बचाउन सक्छौँ ।
  • यहाँले राष्ट्रियता भयङ्कर सङ्कट र खतराको भुमरीमा परेको भयावह चित्र प्रस्तुत गर्नुभयो । त्यसो हो भने राष्ट्रिय मुक्ति आन्दोलनका लागि देशभक्त शक्तिहरूको बृहत् मोर्चा बन्न किन सकिरहेको छैन ? त्यसका लागि यहाँको पार्टीले कस्तो पहल गरिरहेको छ ?
    यस्तो सङ्कटको समयमा सम्पूर्ण देशभक्त शक्तिहरूको व्यापक संयुक्त मोर्चा बन्नुपर्छ । हामीले त्यसका लागि कोसिस गरिरहेका छौँ । कतिपय देशभक्त शक्तिहरू देशको भन्दा आफ्नो सत्तास्वार्थमा तल्लीन छन् । दलहरूका बीचमा राजनीतिक मतभेद छन् । सङ्कीर्ण सोचाइहरू पनि छन् । गम्भीर राष्ट्रिय सङ्कटको समयमा मतभेदहरूलाई सुरक्षित राखेर भए पनि एकजुट हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ । कतिपय दलहरूले मतभेद बढी देख्ने, देशप्रति भएको हानि कम देख्ने भएका कारण पनि समस्या भएको छ । यस्तो बेला सम्पूर्ण देशभक्तहरू मिलेर जानुपर्छ भन्ने हाम्रो मत छ ।
  • सरकारद्वारा सदनमा पेस गरिएको संविधान संशोधन प्रस्तावलाई यहाँको पार्टीले विरोध गर्नुको कारण के हो ?
    यो प्रस्तावका पछाडि भारतीय विस्तारवाद छ । उसले आफ्नो स्वार्थ पूरा गर्न मधेसवादी दलहरूलाई अगाडि सारिरहेको छ । मधेसवादी भन्नाले त्यहाँका सबै जनता होइनन् । थारू, मुस्लिम होइनन् । उनीहरूमा देशभक्तिको भावना छ । त्यो पुष्टि पनि हुँदै आएको छ । त्यही कारणले उनीहरू गएको निर्वाचनमा नराम्ररी पराजित भए । भारतले तयार पारेका मुट्ठीभर तत्वहरू छन् जसले आफूलाई मधेसवादी भन्छन् । नागरिकता, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रलगायत उनीहरूका माग पूरा नभएसम्म चुनाव हुन नदिने, संविधान कार्यान्वयन हुन नदिने खतरनाक भूमिकामा उनीहरू छन् । सरकार उनीहरूप्रति लाचार छ । जनताको माग र आवश्यकताअनुसार संशोधन प्रस्ताव ल्याएकै होइन । संशोधन प्रस्तावलाई भारतले समर्थन गरेको छ । प्राप्त भएको लिने र दबाव जारी राख्ने उसको रणनीति छ । त्यसकारण हामीले संशोधन प्रस्तावको विरोध गरेका छौँ ।
  • विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक छ । रातो झिल्को कतै देखिन्न नि ?
    रुस, चीनलगायत देशमा प्रतिक्रान्ति भयो । कतिपय देशका क्रान्तिहरू असफल भए । कोही उग्रवामपन्थी दिशामा गए । कतिपय पार्टीहरू दक्षिणपन्थी दिशामा गएका छन् । त्यसकारण विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त रक्षात्मक अवस्थाबाट गुज्रिरहेको छ । तैपनि हामी निराश छैनौँ । कम्युनिस्ट आन्दोलन निश्चित रूपमा कमजोर भएको छ । तर साम्राज्यवाद झन्झन् सङ्कटको भुमरीमा पर्दै गएको छ । आर्थिक सङ्कटहरू, विकसित देशहरूमा भएका मजदुर आन्दोलनहरू, बहुध्रुव, खुम्चिँदै गएको बजार आदि कारणले साम्राज्यवाद झन् सङ्कटमा परेको छ । त्यसबाट फाइदा उठाउनका लागि प्रयत्न गर्नुपर्छ । त्यो कोसिस भैरहेको छ । पुँजीवादको सङ्कटबाट नयाँ झिल्को उदाउने निश्चित छ ।
  • आज विश्वमा समाजवादी सत्ता छन् कि छैनन् भन्ने बहस जारी नै छ । त्यस विषयमा यहाँहरूको धारणा ?
    रुस, चीनलगायत देशमा समाजवाद छैन । ती देश संशोधनवादमा पतन भएका छन् । उनीहरूले अमेरिकी साम्राज्यवादसँग सङ्घर्ष गरिरहेको कुरा सत्य हो । हामी त्यसको उच्च सम्मान गछौं । कतिपय अवस्थामा साम्राज्यवादी देशहरू आपसमै लडेका छन् । जर्मनी, इटाली, जापान अमेरिकाका विरुद्ध लडेका थिए । त्यत्तिकै भरमा जापान, जर्मनी, इटालीलाई समाजवादी देश भन्न सकिन्न । साम्राज्यवादविरोधी सङ्घर्षमा चीन, जनवादी गणतन्त्र कोरिया, क्युबा आदि देशको महत्वपूर्ण भूमिका छ । त्यसलाई हामी उच्च मूल्याङ्कन गर्छौं । बजार कब्जाका लागि भएका सङ्घर्षलाई समाजवादी भन्न मिल्दैन । तर त्यसको अर्थ चीन, उत्तरकोरिया र क्युबामा समाजवादी सत्ता छ भन्ने होइन ।
  • जातीय मुक्तिको सन्दर्भमा लेनिनद्वारा प्रतिपादित आत्मनिर्णयको अधिकारबारे यहाँको धारणा ?
    सैद्धान्तिक रूपले हामीले आत्मनिर्णयको अधिकारलाई स्वीकार गरेका छौँ । समर्थन गर्नुको अर्थ निरपेक्ष समर्थन होइन । खास परिस्थितिसँग तुलना गरेर सही वा गलत भनेर मूल्याङ्कन गर्नुपर्छ । सशस्त्र सङ्घर्षलाई सामान्यतः मान्छौँ । तर निरपेक्ष रूपमा लागू हुँदैन । सबै सिद्धान्त सबै परिस्थितिमा सही हुँदैन । त्यही कारण चीनले आत्मनिर्णयको अधिकार स्वीकार गरेन । नेपालजस्तो देशमा आत्मनिर्णयको कुरा गर्नु राष्ट्रनिर्माणको प्रक्रियालाई अवरुद्ध गर्नु हो । भारतीय विस्तारवादलाई सहयोग गर्नु हो । त्यसैले नेपालको सन्दर्भमा आत्मनिर्णयको अधिकार मान्न सकिन्न ।
  • राजमो नेपाल प्रतिक्रियावादी सरकारमा सहभागी भएको घटनालाई नेकपा (मसाल) को वैचारिक स्खलनको अभिव्यक्ति ठान्नेहरूलाई यहाँको जबाफ के हुनसक्छ ?
    आफ्नो सत्तास्वार्थका लागि जुन हदसम्म तल झर्न पनि तयार हुनु नै प्रचण्डको एउटा ठूलो समस्या हो । हामीले त्यसो गरेका छैनौँ । हाम्रा साथीहरू सरकारमा गए पनि बिग्रेका छैनन् । सङ्घर्ष गरिरहेका छन् । ओली सम्पूर्ण रूपमा देशभक्त हुन् भन्ने हाम्रो भनाइ होइन । महाकाली सन्धिमा उनको भूमिका देखिएकै हो । नेपालको पछिल्लो परिस्थिति र भारतीय दबावका विरुद्ध उनले लिएको अडानलाई तुलनात्मक रूपमा सकारात्मक छ भन्ने हाम्रो अडान हो । पछिल्लो परिस्थितिले हाम्रो अडान सही छ भन्ने कुरालाई पुष्टि गरेको छ ।
  • एकीकृत जनक्रान्तिको कार्यदिशाका विषयमा यहाँको दृष्टिकोण कस्तो होला ?
    सन् १९११ मा कोमिङ्ताङको सरकार विघटन भएपछि चीनमा अनगिन्ती युद्ध सरदारहरू पैदा भए । उनीहरूका ७५ हजारसम्म सेना हुन्थे । प्रान्त प्रान्तमा युद्ध सरदारहरु थिए उनीहरुका बीचमा युद्धहरु भइरहन्थे । चीन सामन्तवादी मुलुक थियो । जहाँ वैधानिक आन्दोलनको सम्भावना थिएन । त्यस्तो परिस्थितिमा माओले सशस्त्र संघर्ष गर्ने, त्यसपछि जापान आउँछ र राष्ट्रिय मुक्तियुद्ध चलाउँला भनेर सुरु गर्नुभएको थिएन । परिस्थितिअनुसार अगाडि बढ्दै जाँदा दीर्घकालीन सशस्त्र युद्ध भएको हो । रुसमा लेनिनहरू जनआन्दोलनको प्रक्रियाबाट गए । दुमामा भाग लिए । परिस्थितिमा परिवर्तन आएपछि बल प्रयोगमा प्रवेश गरे । सुरुमै यसरी जान्छु भनेर होइन, नयाँनयाँ परिस्थितिअनुसार अगाडि बढेका हुन् । जहाँसम्म विप्लव माओवादीको कुरा छ उहाँहरूको विषयमा विस्तृत अध्ययन गरेको छैन । कुनै पनि पार्टीको मूल्याङ्कन गर्न अलि लामो समय पनि आवश्यक हुन्छ । पाँच–दस वर्षको समय, अडान र नीतिहरूको अध्ययन गरेपछि मात्र भन्न सकिन्छ ।
  • रातो खबर साप्ताहिकमार्फत थप केही भन्न चाहनुहुन्छ कि ?
    अहिले राष्ट्रियतामाथि सङ्कट पैदा भएको छ । देशमा राष्ट्रिय विखण्डनको स्थिति पैदा भएको छ । मधेसीहरूको कारणले, भारतको कारणले समस्या आएको छ । राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षतामा गम्भीर समस्या आएको छ । भारत सम्पूर्ण नेपाल नखाँदासम्म चुप लागेर बस्दैन । देश बचाउन हाम्रा मतभेदहरू थाती राखेर एकताबद्ध भएर जानुपर्छ । यसका लागि जनमत निर्माण गर्ने भूमिका तपाईंको रातो खबर साप्ताहिकले पनि भूमिका निर्वाह गरोस् भन्ने सुझाव दिन चाहन्छु ।