भ्रष्टाचारलाई बैधानिकता दिँदै सर्बोच्चो अदालत : घुसखोरलाई कार्कीको ठाडो निर्देशनमा उन्मुक्ति

काठमाडौं: पुस २७, तीन लाख रुपैयाँ घूस रकमसहित पक्राउ परेका अदालतका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फिर्ता गर्ने कार्य कानुनसम्मत रहेको सर्वोच्च अदालतले दाबी गरेको छ । सेवाग्राहीबाट घुस लिदैँ गरेका ललितपुर जिल्ला अदालतका नायबसुब्बा श्यामप्रसाद अर्याललाई अख्तियारले पक्राउ गरी हिरासतमा लिइसकेको अवस्थामा प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनअनुरूप फिर्ता गरिएको थियो ।

अदालतका कर्मचारीलाई कारबाही गर्ने अख्तियारको कदमलाई लिएर क्षेत्राधिकार र स्वतन्त्र न्यायपालिका विपरीतको प्रश्न उठाउँदै अर्याललाई अख्तियार हिरासतबाट फिर्ता ल्याइएको थियो । सर्वोच्चले विज्ञप्तिमार्फत सो प्रकरण कानुनसम्मत रहेको दाबी गरेको हो । सर्वोच्चले विज्ञप्तिमा भनेको छ, न्याय प्रशासन ऐन, २०७३ को दफा २४ ले प्रधानन्यायाधीशलाई अदालतमा कार्यरत कुनै कर्मचारीले अदालतबाट हुने काममा अनियमितता गरेको छ भन्ने लागेमा वा त्यसम्बन्धी कुनै माध्यमबाट गुनासो वा जानकारी प्राप्त भएमा प्रधानन्यायाधीशले अदालतमा कार्यरत कुनै राजपत्रांकित अधिकृतलाई जाँचबुझका लागि खटाउन सक्नेछ भनी व्यवस्था गरेको छ ।

अख्तियारको हिरासतबाट अर्याललाई कसले कुन प्रक्रियाअनुसार बुझेको हो र त्यसपछि उनलाई कुन न्यायिक हिरासतमा राखिएको भन्नेबारे भने विज्ञप्ति मौन छ । संविधानको धारा २३९ को उपधारा १ मा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरेको सम्बन्धमा अख्तियारले कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने स्पष्ट व्यवस्था छ ।

सोही धाराको उपधारा २ मा महाभियोग प्रस्ताव पारित भई पदमुक्त हुने व्यक्ति, न्यायपरिषद्बाट पदमुक्त हुने न्यायाधीश र सैनिक ऐनबमोजिम कारबाही हुने व्यक्तिका हकमा समेत निज पदमुक्त भइसकेपछि संघीय कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सकिने प्रस्ट व्यवस्था छ ।

सोही धाराको उपधारा ३ मा त्यस्ता व्यक्तिले भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा त्यस्तो व्यक्ति र अपराधमा संलग्न अन्य व्यक्तिउपर कानुनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्नसक्ने अधिकार अख्तियारलाई छ ।                                                                                                                                                                                    

                                                                                                                                                                  अन्नपुर्ण पोष्टबाट