चैत ५ को सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा : खेम थपलिया

खेम थपलिया नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव

चैत ५ अर्थात् सांस्कृतिक प्रतिरोध दिवस । प्रतिरोध, आक्रोश र प्रतिवद्धताको दिन । वर्गप्रेमद्वारा लछप्पै हुने र दुश्मनप्रति चरम घृणाको आगो ओकल्ने दिन । यसै पनि हामी यतिखेर एउटा आँधी–तुफानको पूर्वसन्ध्यामा छौँ । सशस्त्र द्वन्द्वलाई बिसाएर निःशस्त्र द्वन्द्वका माध्यमबाट समाज र राष्ट्रको आमूल परिवर्तन सम्भव हुन्छ भने क्रान्तिकारीहरू त्यसको पनि अधिकतम् उपयोग गर्न सिपालु हुन्छन् भन्ने विश्वासका साथ शान्ति–प्रक्रियामा सामेल भएको माओवादीमाथि ठूलो आघात पुगेको छ ।

राज्यको पुनर्संरचना, शाहीसेनाको पुनर्संरचना, अर्धसामन्ती अर्थव्यवस्थाको पुनर्संरचना, संस्कृतिमा नयाँ रूपान्तरण समाज र त्यसको पुराना प्रवृत्तिको पुनर्संरचना आदिमा अधिकांश संसदीय राजनीतिक पार्टीबाट ठूलो धोकाधडी भएको छ । परिणामतः नेपालमा युद्धको अन्त्य होइन, युद्धको नयाँ रूप पक्रेको छ । यतिखेर भौतिक युद्धसँगै वैचारिक–सांस्कृतिक युद्ध उठाउनु अपरिहार्य भएको छ । सहिदका सपना पूरा भएका छैनन् । हामी त्यो सपना पूरा गर्न तथा लक्ष्यमा पुग्न हिजो जति प्रतिवद्ध थियौँ, आज पनि उत्तिकै प्रतिवद्ध छौँ ।

नेपालको समकालीन राजनीतिक स्थितिले हामीलाई अत्यन्त गम्भीर बनाएको छ । सामन्ती तानाशाही राजतन्त्र फेरि आफ्नो विषालु फणा उठाउने षड्यन्त्र गरिरहेछ । त्यसलाई सहयोग र धाप मार्ने काम गरिरहेको छ– इन्डो सिआईएले । यथास्थितिवादीहरू उही अढाईसय वर्षदेखि नेपाल र नेपाली जनताको दुर्दशाको कारक बनेको सामन्तवादको अस्तित्व जीवित राख्ने षड्यन्त्रमा सामेल छन् । सहिद, जनआन्दोलन र जनयुद्धको भावना र उद्देश्य पूरा हुन नदिन यतिखेर जनविरोधी प्रतिगामी, यथास्थितिवादी र साम्राज्यवादी सत्रुहरू एकजुट भएका छन् । यिनै तत्वहरूले देशमा साम्प्रदायिक दङ्गा, क्षेत्रीय विद्वेष, धार्मिक असहिष्णुता, राष्ट्रिय विखण्डन, अराजकता र अस्तव्यस्तता, गुण्डागर्दी र लुटपाट, जातीय र धार्मिक अतिवादलाई भड्काइरहेछन् । जनताको अधिकार स्थापित गर्न नदिन यस्ता तत्वहरू क्रियाशील रहेको छर्लङ्गै छ ।

यस्तो बेला एकीकृत जनक्रान्तिको आँधी सृष्टि गर्नु अनिवार्य भएको छ । यो परिवर्तित सन्दर्भमा सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भिकता र औचित्य अरू बढेर गएको छ ।

हाम्रा अगाडि महान्् सहिदहरूका रगतले लेखेको इतिहास, उनको जीवनोत्सर्ग, आस्था, उनका बलिदानको सपना र विचारको निष्ठाले खबरदारी गरिरहेको छ– कम्युनिस्टको राज्यव्यवस्था स्थापनाको सङ्कल्प नछोड्नू, सामनता, न्याय र स्वतन्त्रताको समाज स्थापना गर्ने दृढ अठोट नबिर्सनू, सामन्ती र साम्राज्यवादी उत्पीडन, दमन र शोषणविरुद्ध सधै“ जागिरहने निष्ठा र समर्मणलाई नछोड्नू, एकीकृत जनक्रान्तिको मार्ग्दिशा पक्रनू आदि आदि । सहिदको जीवनोत्सर्गको गाथा कोरिएका देशका सयौँ स्थानहरू र बलिदानको कोटा चुक्ता गर्दा सहिदको रगतले पार्टी–लेवी तिरिएको छ । तिनले हामीलाई प्रतिरोध, बलिदानको र वर्गसङ्घर्षको संस्कृतिलाई निरन्तर अगाडि बढाउन सन्देश दिइरहेका छन् ।

शौर्य, साहस र वीरताको यी १८ वर्ष निकै मार्मिक छन् । तिनले हामीलाई स्मृति–स्थल र शौर्ययुक्त इतिहासको ताजा–स्मरण गराइरहेछन् । तिनै स्मृति–स्थलमध्ये महत्वपूर्ण स्थल हो– अनेकोट । अनेकोटमा ७ जना सांस्कृतिक योद्धाहरूले मुक्तिका लागि बलिदानको कोटा चुक्ता गरेका थिए ।

२०५५ सालको चैत ५ गते तत्कालीन बर्बर र अमानवीय तानाशाही सत्ताले सांस्कृतिक कार्यक्रम देखाउनेक्रममा काभ्रेको अनेकोटमा सशस्त्र घेरा हाली कुची, कलम र मादलका माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिवद्ध भएका कारण निःशस्त्र जनकलाकारहरूलाई ज्यूँदै आगो लगाएर हत्या गरेका थिए । साथै, अछामको डुङ्गालामा पनि सांस्कृतिक कार्यक्रम देखाइरहेका जनकलाकारहरूलाई दर्शक भेषमा एसएमजी बोकी आएको जल्लादहरूको समूहले मञ्च तथा दर्शकदीर्घामा एकसाथ अन्धाधुन्ध र अनियन्त्रित गोली वर्षा गरी ९ जनाको हत्या गरेको थियो । त्यसैगरी, रोल्पाको भवाङमा सांस्कृतिक प्रशिक्षण लिइरहेका ११ जना जनकलाकारहरू, डोटीको मुडभरास्थित शारदा माध्यामिक विद्यालयमा सांस्कृतिक कार्यक्रम देखाइरहेका विद्यार्थी र जनकलाकारहरू तथा अछामकै विनायकमा सांस्कृतिक महोत्सव मनाइरहेका ६ जना जनकलाकर्मीहरूमाथि बम र गोली वर्षाइएको थियो । यी सबै घटनामा सहादत प्राप्त गर्नुहुने महान् सांस्कृतिक सहिदहरूको सम्मान र सम्झना हामीले प्रत्येक वर्ष चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएका छौँ । यस वर्ष पनि देशैभर १८ औँ सांस्कृतिक प्रतिरोध दिवस भव्यतापूर्वक मनाइँदैछ ।

सांस्कृतिक प्रतिरोध दिवस औपचारिकतामा मात्र होइन, निरन्तर सङ्घर्षको सन्देश पनि हो । सहिदको स्मृति भनेको तिनको त्याग, निष्ठा र समर्पणको निरन्तर आत्मसातीकरणको प्रक्रिया हो । हामीले सहिदका रगतले लेखेको इतिहास मेट्न दिनुहुन्न । यो वर्गमुक्तिको यात्रामा वर्गचेतना, वर्गप्रेम र वर्गघृणालाई साम्यवादको युगसम्म जीवित राख्ने र वर्गसङ्घर्षलाई लगातार अघि बढाउँदै कम्युनिस्टलाई अन्तिम विजय नुहुँदासम्म सङ्घर्ष जारी राख्ने सन्दर्भ पनि हो । सांस्कृतिक प्रतिरोध दिवस मनाउनु अर्थ आम परिवर्तनकामी जनतालाई मोर्चाबन्दी गर्नु पनि हो ।

निश्चय पनि हाम्रो सांस्कृतिक आन्दोलन निकै ठूला उथल–पुथल र उतार–चढावका साथ यहाँसम्म आइपुगेको छ । हामीले संशोधनवाद, नवसंशोधनवाद, अकर्मण्यता, अवसरवाद, जडसूत्रवाद, संसदीय सुधारवाद, मिहीन संशोधनवाद आदिका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आइरहेका छौँ । हाम्रो सङ्गठनले वर्गसत्रुका भीषण दमन, हत्या, आतङ्क, जेलनेल, बेपत्ता र गैर–न्यायिक गोप्य हत्या र युद्ध–अपराध एवम् टाउकाको मूल्य तोक्ने र क्रान्तिकारी विचारको निषेध गर्ने प्रवृत्तिसित पनि निरनतर सङ्घर्ष गर्दै आइरहेको छ । ‘रोमियो’, ‘किलो सेरा टु’, ‘सर्च एन्ड किल’, ‘कर्डेन र स्विफ्ट’, ‘कम्बिङ अपे्रसन’ आदि दमन पनि हाम्रो सङ्गठनले झेल्नुप¥यो । ६ जना खत्री बन्धुको हत्याबाट सुरु भएको त्यो दमन–हत्या–निषेधको अभियान सांस्कृतिक मोर्चामा पनि प¥यो । गाउँमा कलम, मादल, सारङ्गी, बाँसुरी, गीत–सङ्गीत बोकेर हिँड्नेहरूलाई सामूहिक घेरा हालेर हत्या गरियो ।

निरङ्कुश पञ्चायती सत्ताबाट छिन्ताङ, सखानी र पिस्करमा गरिएका सामूहिक हत्याकाण्डकै प्रक्रियालाई अघि बढाउँदै काभ्रेको अनेकोटमा, रोल्पाको भावाङ र गुम्चालमा, अछामको डुङ्गला र विनायकमा, डोटीको भुडभरा र छेंडामा, डोल्पाको माझफालमलगायत कैयौँ ठाउँमा सामूहिक वीभत्स हत्याकाण्ड घटाइएको हो भन्ने कुरामा कुनै दुईमत छैन । यसैप्रक्रियामा कृष्ण सेन ‘इच्छुक’, मस्त बिष्ट, च्याङ्वा लामा, चुनु गुरुङ, डीबी थापा, रोहित कोइराला, पुष्पराज चौधरी, हर्षबहादुर मल्ल, शिव श्रेष्ठ, अञ्जान विरही, शारदा श्रेष्ठ, डम्बर श्रेष्ठ, शुभद्रा सापकोटा, चिनीमाया लामा, गुम्बासिंह तामाङ, कौशिल्या तमु, एकराज विक, डीबी लामा, जयराज भट्ट, इन्दिरा आचार्य, सङ्गीता चौधरी, निर्मला देवकोटा, मञ्जु कुँवर, चञ्चला आले, भोगट राय, विदुर भगत, उतिचन राय यादव, रामकृष्ण महतोसहित १७० भन्दा बढी संस्कृतिकर्मीको हत्या भयो । बौद्धिक–संस्कृतिकर्मीलाई पक्रेर जेल हालियो । तत्कालीन सत्ताले पार्टीमाथि मात्र होइन, सांस्कृतिक मोर्चामाथि पनि प्रतिबन्ध लगायो । यस्तो बेलामा पनि हाम्रो सङ्गठन र सङ्गठनका नेता÷कार्यकताबाट त्याग, बलिदान, शौर्य, साहस, समर्पण र प्रतिबद्धतालाई उँचो राखेर क्रान्ति÷वैचारिक रातो झन्डालाई झुक्न दिएनन् । यी दिनहरू हाम्रा लागि विशेष स्मरणीय र उत्प्रेरक रहेका छन् ।

स्वयम् सहिद बन्नुभएका इच्छुकले सांस्कृतिक सहिदहरूप्रति उच्च सम्मान व्यक्त गर्दै ‘कलम’ (साहित्यिक त्रैमासिक) को सांस्कृतिक अङ्कमा मस्तबहादुर बिष्टलगायत अनेकोट र भावाङको सामूहिक हत्यामा सहादत प्राप्त गर्नुभएका सांस्कृतिक योद्धा र अमर सहिदहरूप्रति सम्मान व्यक्त गर्दै भन्नुहुन्छ, “वर्गबैरीहरूका विरुद्धको भीषण र निर्मम युद्धमा कहिल्यै पनि शिर झुकाएनन् तिनले, न त कहिल्यै खुट्टा कमाए । आज हाम्रो हृदयको आकाशमा साहसका दिव्य नक्षत्र बनेर चम्किरहेका छन् ती । तिनको सम्झना मात्र पनि हाम्रा निम्ति अपूर्व प्रेरणाको स्रोत बनेको छ । हाम्रो हृदय वर्गबैरीहरूका विरुद्ध अपार घृणा र वर्गबन्धुहरूप्रति अपार प्रेम र श्रद्धाले भरिन पुगेको छ । व्यक्तिको आत्मिक परिष्कार र मानसिक चेतनालाई धारिलो पार्दै सांस्कृतिक क्षेत्रबाट वर्गदुश्मनका विरुद्ध निरन्तर सांस्कृतिक प्रतिरोध नगरीकन हाम्रो वर्गीय युद्धलाई सबल र सफल तुल्याउन सम्भव हुनेछैन ।

त्यसका निम्ति महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अग्रगामी चेतनालाई पक्रेर हाम्रा महान् सहिदहरूले देखाएको आदर्श र हाम्रा अग्रजहरूले अङ्गीकार गरेको मार्गलाई कर्ममा वर्गदुश्मनका विरुद्ध निरन्तर सांस्कृतिक प्रतिरोध नगरीकन हाम्रो वर्गीय युद्धलाई सबल र सफल तुल्याउन सम्भव हुनेछैन । त्यसका निम्ति महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अग्रगामी चेतनालाई पक्रेर हाम्रा महान् सहिदहरूले देखाएको आदर्श र हाम्रा अग्रजहरूले अङ्गीकार गरेको मार्गलाई कर्ममा अवलम्बन गर्नुभन्दा अर्को विकल्प आज देशका सामु छैन ।”

यतिखेर हामी विचार, बलिदान, विश्वास र रूपान्तरणका निम्ति १८ औँ सांस्कृतिक प्रतिरोध दिवस मनाइरहेका छौँ । जनयुद्धका क्रममा काभे्रको अनेकोटलगायत देशैभरिका सामूहिक हत्याकाण्डको सम्झनामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिले मनाउँदै आएको सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा ती महान् सहिदहरूको सम्झना र सम्मान गरिँदैछ । जनताका गीत गाउँदै हिँड्नेक्रममा जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्वा लामासहित ७ जना कलाकारहरूलाई २०५५ साल चैत ५ गते तत्कालीन राज्यसत्ताले नियन्त्रणमा लिएर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङघले सांस्कृतिक प्रतिरोध दिवसको रूपमा मनाउँदै आइरहेको छ । महासङ्घले रोल्पाको भावाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूले देखेको सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा पनि यसलाई मनाउँदै आएको छ ।

अन्तमा, हामी १८ औँ सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा हामी महान्् सांस्कृतिक सहिदहरूप्रति हार्दिक भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँहरूका सपना पूरा गरेर छाड्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ । स्मरण रहोस्, एमालेको सुराकीमा प्रहरीको एक जत्थाले काभ्रैको अनेकोटमा जनकलाकारहरू च्याङबा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, शुभद्रा देवकोटा र चिनीमाया लामालाई जिउँदै जलाएर हत्या गरेका थिए । सम्पूर्ण सांस्कृतिक सहिदहरू लाल सलाम !