जो मान्छे ठमेल, दिल्ली र वासिङ्गटन हेर्छन्, ती मान्छे त्यसभित्रको कुरूप बुझ्न सक्दैनन्

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुँजीवाद सुन्दर नभएर कुरुप भएको बताएका छनू ।  जनगणतान्त्रिक सम्पर्क मञ्चको आधिकारीक प्रकाशन जनगणतान्त्रिक अभियानको लागि करनसिंह बडाल र झनक श्रेष्ठले लिएको अन्तरवार्तामा महासचिव विप्लव भन्नुहुन्छ ।

पुँजीवाद उत्कृष्ट ब्यवस्था हो भन्ने पुजीवादी विचारकहरुको अभिव्यक्ति तत्काललाई पुँजीवादको छायामा परेका हतास मनस्थितिको उपज भएको बताएका छन् । 

पुँजीवादी विचारकहरूले माक्र्सवाद वा समाजवादले पुँजीवादसँग प्रतिस्पर्दा गर्न सक्दैन भनेर जिकिर गर्ने गरेका छन्, यसलाई तपाईं के भन्नुहुन्छ ?
त्यो अभिव्यक्ति तत्काललाई पुँजीवादको छायामा परेका हतास मनस्थितिको उपज हो । जो मान्छेहरू ठमेललाई हेर्छन्, न्युरोडलाई हेर्छन् । त्यस्ता मान्छेहरूलाई त्यस्तो लाग्न सक्छ । दरबारमार्गभन्दा दिल्ली राम्रो लाग्छ । त्यस्तो मान्छेहरूलाई त्योभन्दा वासिङ्टन राम्रो लाग्न सक्छ, जसले बाहिरी संसारलाई मात्र हेर्छन्, त्योभित्रको कुरूप जसले बुझ्न सक्दैनन् । त्यो भित्र कति असन्तुष्टि छ । बाहिर जति पुँजीवाद सुन्दर लाग्छ त्यसको कैयौँ पैमानामा शोषण हुन्छ ।

पुँजीवाद जति सुन्दर देखिन्छ । त्यति धेरै संकटग्रस्त छ । हिजो अस्तिको रिपोर्टमा तीन अरब मानिसको सम्पत्ति बराबर ८ जनाको सम्पत्ति रहेको छ । त्यो त धेरै ठूलो संकट हो । जस्तै, नेपालकै उदाहरण लिऊँ, पञ्चायतकालमा मानिस जति सरल ढङ्गले बाँच्न सक्थ्यो, अहिले दलाल पुँजीवाद आएपछि आधुनिकीकरण त भयो तर यसले जनताको जीवनमा चरम संकट ल्याएको छ । लाखौँलाख युवाहरू बेरोजगार छन् ।

विकृति यति धेरै मौलाएको छ कि मानिसले आफ्नो आत्मा बेच्नुपर्ने भएको छ । अमेरिकाको कुरा गर्ने हो भने पनि अमेरिकाभरि अन्धराष्ट्रवाद हावी भएको छ । यसले के देखाउँछ भने पुँजीवाद कहीँ कतै सफल भएको छैन । युरोपको लडाइँ, मध्यपूर्वको द्वन्द्व यी सबै पुँजीवादको संकट हो । समाजवादको त होइन, यी यावत् समस्याको समाधान गर्ने उपाय भनेको वैज्ञानिक समाजवाद नै हो ।