गोन्जालोको रिहाइको माग गर्दै विश्वभरिका माओवादी पार्टीहरु

काठमाडौँँ: चैत १५, पेरू कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अमिमायल गुज्मान ‘गोन्जालो’ पक्राउ परेको २५ वर्षपछि र ‘जेलको चिठी प्रकरण’ को २४ वर्षपछि अहिले विश्वभरिका माओवादीहरूले गोन्जालो जेल परेको समय र सन्दर्भ र त्यसपछिका घटनासन्दर्भसहित नयाँ किसिमले अध्ययन गरी उनको रिहाइका लागि विश्वव्यापी रूपमा आवाज उठाउनुपर्ने अभिमत अघि सारेका छन् । दुई(तीन वर्षयतादेखि आरम्भ गरिएको यो अभियानले अहिले नयाँ गति र दिशा समातेको छ । नेपाल कम्युनिस्ट पार्टीको थबाङमा सम्पन्न आठौँ महाधिबेशनले अध्यक्ष गोञ्जालोको रिहाईको माग गरेको थियो ।
गोन्जालोको जीवन रक्षाको विषयलाई जोडदार रूपमा उठाउने तथा गोंजालोसित गाँसिएको ‘जेलको चिठी प्रकरण’ का विषयमा नयाँ किसिमले अध्ययन गर्नु आवश्यक छ भन्ने विषयमा आवाज तीव्र भइरहेको अवस्थामा नयाँ केन्द्र निर्माणमा लागेका पार्टीहरूमध्ये पनि जर्मनी, इटाली, फ्रान्स र क्यानडाका माओवादी पार्टीहरू लगायत ल्याटिन अमेरिकाका माओवादी पार्टी तथा व्यक्तित्वहरू यस अभियानमा क्रियाशील भएका छन् ।

भर्खरै क्यानडाको माओवादी पार्टीले आफ्नो वैचारिक प्रकाशन आर्सनलमा गोन्जालोको सन्दर्भमा महत्वपूर्ण धारणा प्रस्तुत गरेको छ । गोन्जालोको सन्दर्भमा त्यतिबेर पार्टीभित्र चलेको दक्षिणपन्थी अवसरवाद विरुद्धको दुई लाइन सङ्घर्ष, जुन चिठी प्रकरणका रूपमा सन् १९९३ मा बाहिर आएको थियो, त्यसलाई सही किसिमले बुझ्न कोरिम सक्षम नभएकाले गोन्जालोबारे भ्रम उत्पन्न भएको भनेको छ । साथै जनयुद्ध आरम्भ गर्न पार्टीले रिमको नेतृत्व गर्नुपर्ने थियो भनेर आरसिपी, अमेरिकाको भूमिकाप्रति पनि असन्तुष्टि जाहेर गरेको छ । जस्तो त्यसमा लेखिएको छ ।

“पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष गोन्जालो १९९२ मा पक्राउ पर्दा उनको जीवनरक्षाका लागि रिमले चलाएको अभियान इतिहासमै सबैभन्दा राम्रो अभियान थियो । नेपालमा यस अभियानको निकै ठूलो प्रभाव परेको थियो, जहाँ अविमाइल गुजमानको रिहाइका लागि विशेष कार्यक्रमहरू चलाइएका थिए । यसबाट नेपालका कमरेडहरूलाई आफ्नो भूमिका विस्तार गर्न पनि राम्रो अवसर मिलेको थियो । फुजिमोरो शासनकालमा पेरू कम्युनिस्ट पार्टीमा चलेको दक्षिणपन्थी अवसरवाद विरुद्धको दुई लाइन सङ्घर्ष, जुन चिठी प्रकरणका रूपमा सन् १९९३ मा बाहिर आएको थियो, त्यसलाई सही किसिमले बुझ्न ‘कोरिम’ सक्षम नहुँदा, रिमले गोन्जालोको जीवनरक्षा अभियान परित्याग गर्यो , जसलाई थप विस्तारका साथ निरन्तरता दिनु जरुरी थियो । र यी सङ्घर्षहरूप्रति ऐक्यबद्धताका लागि गरिनुपर्ने ठोस आह्वान पनि पुग्दो मात्रामा हुनसकेको थिएन । कुनै पनि अन्तर्राष्ट्रिय संस्थामा प्रभावशाली नेतृत्वको सर्वोपरि महत्व रहन्छ । वैचारिक रूपमा जनयुद्धको नेतृत्व गर्ने सङ्गठनले नै नेतृत्वको अगुवाइ गर्नुआवश्यक हुन्थ्यो । तर रिममा त्यस्तो भएन । प्रारम्भिक चरणमा, जनयुद्धको अलिकति पनि अनुभव नभएका सङ्गठनहरू नै रिम निर्माणमा बढी सक्रिय भए ।”

त्यसैगरी यताका दिनमा मे दिवसमा संयुक्त वक्तव्यमा सहभागी भएर माओवादीहरूको नयाँ केन्द्र निर्माण गर्ने अभियानमा सघाउ पुर्याइरहेका ल्याटिन अमेरिकी ६ ओटा माओवादी पार्टीहरू, कम्युनिस्ट पार्टी अफ ब्राजिल (रेड फ्याक्सन), कम्युनिस्ट पार्टी अफ इक्वेडर–रेड सन, रेड फ्याक्सन अफ दि कम्युनिस्ट पार्टी अफ चिली, पपुलर मुभमेन्ट अफ पेरू (रिअर्गनाइजेसन कमिटी), रिभोलुस्नरी फ्रन्ट अफ दि पिपुल्स अफ बोलिभिया, एमएलएम र माओइस्ट अर्गनाइजेसन फर दि रिकन्स्टिच्युसन अफ दि कम्युनिस्ट पार्टी अफ कोलम्बियाले समकालीन विश्व र माओवादी आन्दोलनको लामो विश्लेषण गर्दै विभिन्न प्रस्तावहरू पारित गरेका छन् । उनीहरूले विश्व माओवादी आन्दोलनमा गोन्जालोको महत्वपूर्ण भूमिकालाई नबिर्सन अनुरोध गर्दै जीवनरक्षा र रिहाइका लागि विश्वव्यापी आवाज उठाउन पनि आह्वान गरेका छन् ।

त्यसैगरी जर्मनीको माओवादी पार्टीले ल्याटिन अमेरिकी पार्टीप्रति ऐक्यबद्धता जनाउँदै यही मार्च २२ का दिन गोन्जालोको अविलम्ब रिहाइको माग गर्दै जर्मनी स्थित पेरू राजदुतावाससामु प्रदर्शन गरेको थियो । गोन्जालोलाई जेलमा सिध्याउन खोजेकाले उनी लगायत विश्वका सम्पूर्ण राजबन्दीहरूको रिहाइका लागि आवाज उठाउन जर्मनीका माओवादीहरूले आह्वान गरेका छन् ।

जनपाटीबाट