प्रसंग: धार्मिक उत्पीडनमा महिला, प्रचण्डपथीय न्यायको दण्ड र तीज

चेली बुबा तेरो किलो खोजन्ना
तु तेइ किला बाँधी जा
कित चेली तु साइबाज भै उडिजा

चेली बुबा तेरो खुँडी (पिँजडा) खोजन्ना
तु तेइ खुँडी थुनी जा
कित चेली तु साइबाज भै उडिजा

व्यक्तिगत सम्पत्तिको भाष्यले वैवाहिक संस्था, वंश संस्था, वर्ग संस्था र लालपुर्जा संस्था बनाउँदै आयो । त्यही लालपुर्जाले व्यक्तिगत सम्पत्तिको संस्थालाई संस्थागत गर्न वा जोगाइराख्न धर्मशास्त्र लेख्यो । त्यसैले धर्मशास्त्र, पितृशास्त्र र लालपुर्जा शास्त्र भन्नु एकअर्काका पर्यायवाची शब्द हुन् । यी पर्यायवाची शब्दमा सबै धर्मशास्त्रले भन्छ– महिला तिमीहरूका (पुरुषका) खेत हुन् । तिमी जसरी चाहन्छौ जोत । फरक यति हो कुनै धर्मशास्त्रले सिधै महिला खेत हुन् भनेर लेख्यो । कुनै धर्मशास्त्रले कुटनीतिक भषामा महिला खेत हुन् भनेर लेख्यो । जसले जुन प्रकारले महिला उत्पीडनको भाष्य लेखे पनि धर्मशास्त्र भनेको पितृसत्ताको विधान हो । यो विधानले महिला चाहे रानी हुन्, चाहे पातर, चाहे नेतृ वा कवयित्री, लेखिका जो सुकै महिला हुन्, ती सबैलाई जोत र पोत बनाएर जोत्छ ।

रोल नं. १ : रामका बा दशरथ । दशरथ रामका बाउ बीउ थिएनन्, मात्र बाउ थिए । नियोग प्रकृयाबाट बनेका बाउ । दशरथले तीनवटा विवाह गरे कौशल्या, कैकेयी र सुमित्रा । तीनवाटा स्वास्नी (दासी) का स्वामी (मालिक) बाट जब बच्चा जन्मिएन उनी प्रमाणित भए । उनीसँग शुन्य क्रोमोजोम छ । उनले तीनवटै रानीलाई जवान श्रृङ्गी ऋषिद्वारा सम्भोग गर्न लगाई बच्चा जन्माउन लगाए । र, रैती दुनियाँलाई बतासे घोषणापत्र यसरी जारी गरे– श्रृङ्गी ऋषिले पुत्रेष्टि यज्ञ गरेका हुनाले मेरा छोराहरू यज्ञका तपले जन्मिए ।

रोल नं. २ : महाभारतमा विचित्रविर्य राजा छन् । तीनका पनि कुनै पनि रानी र दासीबाट बच्चा नजन्मिएपछि उनले ऋषि व्याससँग सम्भोग गर्न लगाई आफ्ना रानी र दासबाट बच्चा जन्माउन लगाए, ती थिए धृतराष्ट्र, पाण्डु र विदुर । यी राजले पनि रैती दुनियाँमाझ यसो घोषणा गरे । मेरा पुत्रहरू व्यास ऋषिका तेज तपले जन्मिएका हुन् न कि सम्भोगबाट । राजा पाण्डु पनि जन्मजात सम्भोग गर्न असक्षम थिए । उनले आफ्ना रानीहरू कुन्ती र माद्रीलाई ५ जना परपुरुषसँग सम्भोग गर्न लगाई ५ पाण्डवलाई जन्म दिन लगाए । उनको घोषणापत्र थियो– पतिका आज्ञाले वंश उत्तराधिकारी जन्माएका ।

निभा शाह

रोल नं. ३ : महाभारतको शान्तिपर्वमा भनिएको छ– ‘युवानाश्व राजाले आफ्नी प्रिय स्त्रीलाई दानमा दिएर स्वर्ग प्राप्त गरे ।’ त्यसैगरी त्यही पर्वमा भनिएको छ– ‘मित्रसहले आफ्नी स्त्री मदयन्तीलाई ऋषि वशिष्ठलाई दिएर स्वर्ग प्राप्त गरे । महाभारतको अनुशासन पर्वमा भनिएको छ ‘सुदर्शनले अतिथि सेवार्थ आफ्नो भार्या (स्वास्नी) लाई दिएको हुँदा उनले अमर कृति प्राप्त गरे ।’

रोल नं. ४ : पन्नी दान युनानी इतिहासमा पनि यत्रतत्र पाइन्छ । सुकरातले आफ्नी स्त्री जन्तीपलाई आफ्ना मित्र अल्किवियादिशलाई सम्भोगका लागि अर्पण गरे ।

रोल नं. ५ : माओवादी जंगलकालमा पम्फा भुसाल र रामबहादुर थापा ‘बादल’ lar रागात्मक सम्बन्ध रहन गयो । यो रागात्मक सम्बन्धलाई लिएर प्रचण्डको न्यायधिश मण्डलमा पम्फाजीलाई प्रश्न सोधियो । तपाईंहरूको रागात्मक सम्बन्धको बारेमा प्रस्ट पार्नुस् । पम्फाजीले पहिला त कार्वाही हुने डरले आफू र बादलबीच रागात्मक सम्बन्ध नरहेको दलिल पेश गर्नुभयो । जब उनका दलिलहरू फेल हुँदै गए, उनले आफूले बादलसँग विवाह गर्न पाउनुपर्छ भनेर नयाँ दलिल पेश गरिन् तर उनको यो बोलीलाई बादलले यसो भनेर उल्ट्याइदिए– मेरो उहाँसँग सम्बन्ध भ्याकुम (आफ्नी श्रीमतीसँग सँगै नरहेको) अवस्थामा रहन गएको हो । म मेरो श्रीमतीलाई प्रेम गर्छु । न्यायधिश प्रचण्डजीले उहाँ दुबैको कुरा सुनेपछि यसरी पो कार्वाही गरे । विवाहित पुरुषले अरू स्त्रीसँग सम्बन्ध राख्न पाउँदैनन् । एकनिष्ठ पवित्र रहनुपर्छ । पम्फाजीले विवाह नगरीकन कुनै पनि पुरुषसँग सम्बन्ध राख्न पाउनुहुन्न । फेरि त्यस्तो पुरुषसँग त राख्नै पाउनुहुन्न, जो विवाहित होस् ।

रोल नं. ६ : तीज पर्वकी अभिनेत्री पार्वतीले शिवलाई पोइ पाऊँ भन्दै पानी पनि नखाईकन व्रत बसिन् । शिवजी प्रसन्न भए । पार्वतीसँग विवाह गरे । पार्वती शिवकी गौरी (श्रीमती) भइन् । अहिले पनि सुदूरपश्चिम र कर्णालीतिर फलानाकी श्रीमती वा जोई नभनेर फलानाकी गौरी भन्ने चलन छ । पार्वती गौरी भएपछि गौरी हुनुको महिमा गानमा तीजको व्रत बस्ने चलन विरासतमा आउँदै गयो । यही पोइ–प्रथा अर्थात् पार्वतीले आफ्ना लागि पोइ मालिक पाऊँ भन्दै व्रत बसेको कू–परम्परालाई पोइ–संस्थाले महिलाको खोपडोभित्र धमिरा छिराइदिएपछि कठपुतली बनाएका महिलाहरू अचेल बजारशास्त्रको कब्जामा परेर यसरी गाउँदै नाचिरहेका छन् ।
               हातको सुनको चुरा सिंगापुरे भेनाले ल्याइ दिएको
               शिरको सिन्दुर रामजस्ता स्वामीले लाइदिएको ।
रामले सबरीको देह चाखे कि सबरीको जुठो बयर चाखे ? यिनका तीज गीतले के भन्ने हुन् । विश्वभरिका पर्दाभित्र र बाहिर चल्ने बेश्यालयको बारेमा यिनका तीज गीतले के गाउँछन् ?

निचोड : नियोग प्रकृयाबाट वंश जोगाउन दशरथ बाउ बने, विचित्र वा पाण्डु बाउ बने । विमति यहाँनेर छैन, विमति छ तत्तत् पुरुषसँग सम्भोग गर्न चाहन्छौ कि चाहन्नौ वा तिमीहरू वंशीय आमा हुन चाहन्छौं कि चाहन्नौ भनेर ती महिलासँग इच्छापत्र सोधनी नहुनु । तिनलाई छोरा जन्माउने भाँडो बनाउनु । अर्को विमति हो, त्यही पोइ–संस्थाले स्वास्नीलाई दान दिने, सतीमा जलाउने, दहेजमा पोल्ने, स्त्रीलिंगको भ्रुण पहिचान भएपछि गर्भपतन गर्ने । नयाँ–नयाँ रंगहरूको लिपापोतीले महिलालाई शोषण गरिराख्ने हो भने किन चाहियो वैवाहिक संस्था र लालपुर्जा ? प्रश्न उठाउने कि नउठाउने ।

अन्त्यमा, कम्युनिस्ट पार्टीभित्र सती, सावित्री र सीता हुन् नसकेकोमा महिला देहको लालपुर्जा बोक्ने प्रचण्डजीले कुन कम्युनिस्ट पार्टीको घोषणापत्र बोक्दै देह पवित्रताको नाममा कार्वाही गर्नुभा’होला ? के कार्वाही गर्ने र कार्वाही भोग्नेले देह र दिमागलाई उपनिवेशीकरण गर्दै एङ्गेल्सको किताब ‘परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्तिलाई पर्दाभित्र राखेका हुन् कि ? जब कि कर्णालीको आदिम महिला लोक–साहित्यले एङ्गेल्सको किताबलाई न्याय गर्दै गीत गाइरहेको छ :

चेली बुबा तेरो किलो खोजन्ना
तु तेइ किला बाँधी जा
कित चेली तु साइबाज भै उडिजा
चेली बुबा तेरो खुँडी (पिँजडा) खोजन्ना
तु तेइ खुँडी थुनी जा
कित चेली तु साइबाज भै उडिजा

परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्तिबाट बारम्बार उद्धृत गरिने प्रसंग ‘लामो निरस दाम्पत्यभन्दा प्रेमको एक पगको चुम्बन राम्रो’ भनेका छन् तर यो तर्कलाई एङ्गेल्सले खारेज गर्दै भनेका छन् । यो तर्क पुरुषको पक्षमा जान्छ जबसम्म सम्पत्ति र उत्पादनको स्रोतमाथि (राज्यसत्ताको सांस्कृतिक शक्ति पनि भन्न खोजिएको हो) स्त्री पुरुषको समान अधिकार हुँदैन । पुरुषले यस स्थितिको फाइदा स्त्रीको भावनात्मक शोषणका लागि गर्छ । यदि स्थिति यही अवस्थाको थियो भने कमरेडहरूको कार्वाही बादलजीलाई मात्र हुनुपर्ने । पम्फाजी र पम्फाजीभन्दा सारै कमजोर अरू महिला कमरेडमाथि किन ? प्रचण्डपथीय न्यायको दण्ड किन ?                                                    

                                                                             रातो खबरबाट