भ्रष्ट मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई जनपरिषदको कारवाही

काठमाडौंः भदौ २९, नेपाल कम्युनिस्ट पार्टीनिकट जिल्ला नवलपरासी जनपरिषद्ले बिहीबार मालपोत अधिकृत खगेन्द्रराज घिमिरेकै कार्यकक्षमा गएर कालो मोसो दलेको छ । स्थानीयको व्यापक मात्रामा गुनासो र उजुरी आएपछि कारवाही गरिएको जनपरिषद्द्वा नवलपरासीले जनाएको छ । कालोमोसो दलेपछि घिमिरेविरुद्ध नाराबाजी गर्दै जनपरिषद्का कार्यकर्ता बाहिरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुकुम्वासी आयोगले दिएको जग्गामा किर्ते कागजात बनाई श्रेष्ठता कायम गराउन अधिकृत घिमिरेले सघाएको, घुस खान मालपोत आउने सेवाग्रहीलाई सुनियोजित रुपमा दुःख दिने गरेको, सरकारको सेवासुविधा खाई कुर्सीमा बसेर जग्गा रजिष्ट्रेसन पास गर्दा राजश्व छलेर आफ्नो खल्तीमा पार्न पिच बाटोलाई कच्ची र कच्चीलाई बाटो नै नभएको भनी प्रमाणित गरेको, नियतबस पुँजीगत लाभकर कम पारेर राज्यलाई राजश्वमा क्षति पुर्याएर धेरै रकम आफ्नै गोजीमा पारेको तथा मालपोतमा सेवा लिन आउनेसँग काममा अनावश्यक ढिलाई गरी छिटोका लागि घुस खाएकोलगायत आरोप जनपरिषदले लगाएको छ ।

गल्ती स्वीकार गरेर जनतामाझ् माफी माग्नुपर्ने र सम्बन्धित निकायले उनलाई अपराधबमोजिम कडा कारवाही गर्नुपर्ने अन्यथा थप कदम चाल्ने चेतावनी जनपरिषद् नवलपरासीले चेतावनी दिएको छ ।