निराशाको समय गयो !, नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ : विप्लव, महासचिव, नेकपा

»» महासचिव कमरेड, जनयुद्धको २३ औँ  र्षिकोत्सवकाउपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना !

हार्दिक धन्यवाद ! गौरवपूर्ण जनयुद्धको २३औँ वार्षिकोत्सवका अवसरमा आदरणीय सहिद तथा बेपत्ता परिवार एवम् घाइते योद्धाहरू, सबै पार्टी पङ्क्ति, नेपाली श्रमिक जनता र तपाईंहरूलाई धेरैधेरै शुभकामना !

»» महान् जनयुद्ध सुरु गरेको २२ वर्ष पुगेर २३ वर्ष लागेको छ । जनयुद्धको पहलकर्तामध्येको एकजना तपाईं पनि हो । जनयुद्धको तयारी कसरी गरिएको थियो ? मतलबराजनीतिक, वैचारिक, साङ्गठनिक र सङ्घर्षको तयारी कसरी गरिएको थियो ?

यो सही कुरा हो, जनयुद्ध नेपाली राजनीतिक इतिहासमा अद्वितीय परिघटना हो । त्यसको तयारी आफैँमा नयाँ, चुनौतीपूर्ण, महान् र रोमाञ्चकारी खालको थियो । हामीसँग भौतिक साधनहरू खासै थिएनन् तर हामीमा क्रान्ति सफल गर्ने, सत्ता जित्ने र नेपालमा वैज्ञानिक नयाँ जनवादी व्यवस्था स्थापना गर्ने सुन्दर सपना र अदम्य साहस थियो । तुलनै गर्न नसकिने आत्मविश्वास, इच्छाशक्ति र समर्पणभाव थियो जुन सम्झिँदा अहिले पनि मन रोमाञ्चित हुन्छ । त्यसबेला पार्टीले एक वर्षको अवधिसम्म चार तयारी चलाएको थियो : वैचारिक–राजनीतिकरूपले पार्टीलाई प्रशिक्षित गर्नु र जनतालाई बोध गराउनु, सङ्गठनलाई क्रान्ति हाँक्न सक्ने अनुशासित र जुझारु बनाउनु, प्रविधिमा आधारभूत तयारी गर्नु र सङ्घर्षलाई सङ्गठित गर्नु । आफ्नो सापेक्षतामा यी काम पूरा पनि भएका थिए र जनयुद्धको पहल गरिएको थियो । संयोगले मैले पनि त्यसमा स्थानीयतहको नेतृत्व गर्ने मौकापाएको थिएँ । त्यो दिन फेरि कहिल्यै पाइनेछैन ।

»» दस वर्षको दौरानमा भएका मुख्य उपब्धिहरू केके हुन् र तिनीहरूले नेपालको सिङ्गो राजनीतिमा कस्तो प्रभाव पारेको थियो ?

जनयुद्धका मुख्य उपलब्धिहरू ६—७वटाछन् । पहिलो र सबैभन्दा मुख्य उपलब्धि नेपाली जनताले पहिलोपटक आफ्नै बल र सहभागितामा जनसत्ता निर्माण गर्न सके । देशको धेरै भूभाग(सबैले भनेअनुसार ८०प्रतिशत)मा जनसत्ता निर्माण भयो । दोस्रो, जनताले आफ्नै शक्तिमा, आफ्नै छोराछोरीको जनमुक्ति सेना निर्माण गर्न सफल भए । जुन जनमुक्ति सेनाले साधारण साधनहरूको बलमा ठूलाठूला युद्धहरूमा विजय हासिल गर्न सक्यो । तेस्रो, जनताको सत्ता मातहतमा जनताको न्यायनिसाफ गर्ने जनअदालत गठन गर्न सफल भए । जनअदालतहरू निकै लोकप्रिय र प्रभावकारी पनि रहे । चौथो, जनप्रशासननिर्माण भए । ती संस्थाहरूले जनतालाई कुनै पनि लेनदेन, कारोबार, सरसहयोगलाई जनताकै घरमा बसेर सहयोग गरे । जस्तोकि जग्गाजमिन, सरसापटी, बनरक्षाआदिआदि । पाँचौँ, सामाजिक क्षेत्रका धेरै कार्यहरू जनताहरूले सहजैप्राप्त गर्ने भए । जनसुरक्षा, शिक्षा, स्वास्थ्य, यातायात, बिजुली, बस्ती विकास, नयाँ समाज कम्युन र सहकारीको निर्माण, समाजसुधार(जाँडरक्सी, जुवातास, गुन्डागर्दीको नियन्त्रण) भए । छैटौँ, जनसत्ताले आफ्नै आर्थिक नीति र कार्यक्रमहरू अगाडि बढायो । बैङ्क, सहकारी, उद्योग, कलकारखाना(साबुन उद्योग, कपडा उद्योग, गार्मेन्ट उद्योग, खाजाउद्योग आदि) सञ्चालन ग¥यो । यीबाहेक र मसिना कार्यहरू यतिधेरै गरियो जसको विस्तारमा यहाँ चर्चानै छैन ।

»» जनयुद्धअन्त्यको घोषणा गरेर संसदीय राजनीतिक प्रणालीभित्र प्रवेश गरेको पनि ११ वर्ष भयो । अहिले भएका यी परिघटनाहरूलाई कसरी हेरिराख्नुभएको छ ?

राम्रो प्रश्न हो । यो अवधिमा दुईवटा दूरगामी प्रभाव पार्ने घटनाहरूभए : पहिलो, महान् जनयुद्धलाई साम्राज्यवादी, दलाल पुँजीवादी, संशोधनवादी, आत्मसमर्पणवादी, विसर्जनवादीहरूको साँठगाँठमा विजर्सन गर्ने षड्यन्त्र गरियो । त्यसले गर्दा नेपाली जनताले रगत बगाएर प्राप्त गरेका उपलब्धिहरू गुम्न पुगे । देशमा प्रतिक्रान्ति लाद्ने धृष्टता गरियो । जनयुद्धको नेतृत्वमा रहेका प्रचण्ड—बाबुरामहरूले भयानक गद्दारी गर्दै दलाल पुँजीवादी र साम्राज्यवादीसामु आत्मसमर्पण गर्न पुगे । क्रान्तिमा बेहिच्किचाहट बलिदान गर्ने सहिद तथा बेपत्तापरिवार, घाइते योद्धा र श्रमिक जनतालाई निराशाको भुमरीमा डुबाउन खोजे ! नेपालमा महान् जनयुद्धबाट समाप्त हुनै थालेको प्रतिक्रियावादी संसदीय व्यवस्थालाई फर्काएर पुनस्र्थापना गरियो । दोस्रो, क्रान्तिप्रति गरिएको गद्दारी र प्रतिक्रान्तिकारी हर्कतका विरुद्ध क्रान्तिकारीहरूको विद्रोह भयो । साम्राज्यवादी, दलाल पुँजीवादीहरूका घेराबन्दी चिर्दै साथै आत्मसमर्पणवादी र विसर्जनवादीहरूका अवरोधहरूलाई धुजाधुजा पार्दै क्रान्तिकारी नेता, कार्यकर्ता र श्रमिक जनताले यो विद्रोह ग¥यौँ र नेपाली क्रान्तिलाई समाप्त पार्न चाहने प्रतिक्रान्तिकारी षड्यन्त्रलाई ध्वस्त पारिदियौँ । हामीले क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी निर्माण ग¥यौँ, क्रान्तिलाई पूरा गर्ने ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा निर्माण ग¥यौँ । जनताको जनमुक्ति सेना निर्माण ग¥यौँ । जनसत्तालाई पुनः सङ्गठित ग¥यौँ । क्रान्तिका आवश्यक साधनहरू निर्माण ग¥यौँ र प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाविरुद्ध एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेका छौँ । यो सफलतापूर्वक अगाडि बढ्दैछ । सङ्क्षेपमा भन्दा प्रतिक्रियावादी र आत्मसमर्पणवादीहरूले क्रान्ति समाप्त गर्न चाहेका थिए तर त्यो हामी क्रान्तिकारीहरूको सचेत पहलमा सफल हुन पाएन । क्रान्ति बचेको छ र पुनः अगाडि बढेको छ। हामीलाई लाग्छ यी दुवै नकारात्मक र सकारात्मक घटनाहरू विश्व राजनीतिमा दर्ता भएकाछन् ।

»» अहिले आएर जनयुद्धका मुख्य योजनाकार भनेर चिनिने प्रचण्ड, बादल र बाबुरामहरूले जस्तो बाटो तय गरिराख्नुभएको छ, यस्तो यात्रामा हुनुको मुख्यकारण के होला ?

के साँचो हो भने प्रचण्ड, बादल, बाबुराम जनयुद्धका मुख्य पात्रहरू हुन् । विडम्बना ! उनीहरू आज जनयुद्धलाई आतङ्कवादी भनेर नरसंहार मच्चाउने दलाल संसद्वादीका भतुवा र मतियार बन्न पुगेकाछन् । यो राजनीतिक इतिहासमा एउटा प्रहसन बन्न पुगेकोछ । यसो हुनुको पछाडि खासमा प्रचण्ड, बादल र बाबुराममा रहेको निम्नपुँजीवादी अवसरवाद मुख्य कारण देखिन्छ । उनीहरूले जनयुद्धको तयारी र २०५६ सालसम्म क्रान्तिकारी भूमिका नै पूरा गरेका हुन् तर जब क्रान्तिको भीषणता देखे तब उनीहरू भारतको शरणमा पुगेछन् । यो कुरा पार्टीलाई थाहा थिएन । सजिलै सत्ताको चाहना राख्नु, आफू बलिदानका लागि तयार हुन नसक्नु, क्रान्तिलाई अन्तिमसम्म पु¥याउनेमा कायरता देखा पर्नु यसको समस्या हो । दोस्रो, उनीहरू जब शान्तिप्रक्रियामा पुगे त्यसपछि जनतामा फर्किएर क्रान्ति हाँक्ने सम्भावना नदेख्नु वा पुँजीवादी सत्ताको स्वाद पाएपछि त्यसबाट बाहिर आउन तयार नहुनु, बरु आत्मसमर्पणतिर जानु समस्या भयो । तेस्रो, साम्राज्यवादी र दलाल पुँजीवादीहरूको घेरालाई तोडेर क्रान्ति बढाउने मनोबल नहुनु समस्या भयो । जब मान्छेले आदर्श बिर्सेर पदप्रतिष्ठा, सुखसुविधा, धनपैसातिर मन डुलाउँछ तब क्रान्तिमा टिक्ने कुनै सम्भावना नै रहँदैन । ऊ एक नेताको हैसियतबाट दासको स्तरमा गिर्न पुग्छ । प्रचण्ड, बादल र बाबुरामको हालत अहिले दासको भन्दा फरक छैन ।

»»हिजो जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति सफल गर्दै समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य लिइएको थियो । तर अहिले यही संसदीय व्यवस्थामा उनीहरूले समाजवाद लागू गर्ने कुरा गरिराखेका छन् । के यो व्यवस्थामा समाजवाद सम्भव छ ?

उत्तर— एकपटक संशोधनवादी वर्नेस्टेनको सन्दर्भमा लेनिनले भन्नुभएको थियो,‘आफू त डुब्योडुब्यो माक्र्सलाई समेत सामान्य उदारवादीको तहमा झार्ने कोसिस ग¥यो ।’ यहाँ प्रचण्ड र बाबुरामहरूले समाजवादको हल्ला गर्दा भन्नुपर्ने हुन्छ–यिनीहरू आफू त डुबेडुबे, वैज्ञानिक समाजवादलाई महान् उचाइबाट दलाल पुँजीवादको तहमा झार्ने खेलो गर्दैछन् । दलाल पुँजीवादले नेपाली अस्मितामाथि लुट मच्चाएको बेला यसलाई ‘समाजवाद’ भन्नु अपराधमाथिको ढाकछोप गर्ने कुकर्म मात्र हो । सबैलाई थाहाछ– यो संसदीय व्यवस्था हो र त्यो पनि दलाल चरित्र बोकेको संसदीय व्यवस्था हो । तर यहाँ एकीकृत जनक्रान्तिबाट जन्मलिँदै गएको वैज्ञानिक समाजवादी सत्ता भने नयाँ भविष्य बोकेर आउँदैछ ।

»» उनीहरूले भन्दै गरेको समाजवाद र यहाँहरूले भन्ने गर्नुभएको वैज्ञानिक समाजवादका बीचमा के तात्विक भिन्नता रहेको छ ?

संसद्वादको वरिपरि चक्करमारेर टोपीमा समाजवाद लेख्न चाहने प्रवृत्तिहरू आज मात्र होइन, माक्र्स—एङ्गेल्सको समयमा पनि थिए । त्यति बेला उहाँहरूले पाँचखालका समाजवादीको चर्चा गर्नुभएको थियो : पहिलो, सत्ता गुमाएका सामन्ती वर्गले सत्ता गुमाएपछि जनताको सहानुभूति पाउन दिएको समाजवादको नारा जो पुँजीवादभन्दा पनि खराब थियो । दोस्रो, क्रान्तिमा क्षतिभोगेपछि विरक्तिएका बुर्जुवाहरूले भन्ने समाजवाद जो निम्नपुँजीवादी र पुँजीवादी थिए उनीहरूको समाजवाद, जसको दाउश्रमिकको सहानुभूति पाउने मात्र थियो । तेस्रोमा ईश्वर–प्रभुको इच्छाअनुसार निर्माण गर्न चाहने धर्मभीरुहरूको समाजवाद जसलाई क्रिस्चियन समाजवाद भनिन्थ्यो, जसको सोचाइजनतालाई लुट्ने सामन्ती, पुरेतहरूले श्रमिक वर्गलाई अरू अन्धोबनाउनका लागि मात्र प्रयोग गरिएको समाजवाद थियो । चौथो, जर्मन ‘सच्चा समजावाद’ भन्ने थियो । यो पनि पुँजीपति वर्गको रक्षा गर्न, संसदीय व्यवस्थालाई नै सुदृढ गर्न श्रमिक वर्गलाई झुक्याउन ल्याइएको समाजवाद थियो । पाँचौँ, काल्पनिक समाजवाद थियो जसको उद्देश्य शासकहरूलाई सम्झाएर, मानवीयता बुझाएर, नयाँसमाजको निर्माण गरेर समाजवाद निर्माण गर्ने थियो । यो उद्देश्य पवित्र हुँदाहुँदै पनि वर्गस्वार्थले भरिएको कठोर वर्गसत्ताभित्र कल्पना मात्र हुन्थ्यो । यी सबैका अवैज्ञानिकता र असम्भावनाबारे प्रस्ट्याउँदै माक्र्स—एङ्गेल्सले वैज्ञानिक समाजवादी सिद्धान्त अनुसन्धान गर्नुभएको हो । वैज्ञानिक समाजवादले समाजको सबैभन्दा निःस्वार्थ, मेहनती र क्रान्तिकारी वर्ग– सर्वहारावर्गलाई वैज्ञानिक विचार–सिद्धन्तद्वारा प्रशिक्षित गर्दै सङ्गठित गर्नुपर्नेमा जोड दिनुभयो । साथै कम्युनिस्ट पार्टीको नेतृत्वमा श्रमिक वर्गको बलमा लुटेरा पुँजीवादी सत्ताका विरुद्ध क्रान्ति गर्नुपर्ने र क्रान्तिद्वारा सर्वहारावर्गको सत्ता जो अधिनायकत्वसहित हुन्छ त्यो स्थापना गर्नुपर्ने विचार दिनुभयो । यस्तो वैज्ञानिक समाजवादले मात्र मानव जातिलाई आजसम्मका सबै उत्पीडनबाट मुक्त गर्दै साम्यवादतर्फ अग्रसर गराउन सक्छ भन्नुभयो । यो नै आजको पनि विषय हो । हामीले भनेको समाजवाद माक्र्स—एङ्गेल्सले भनेको वैज्ञानिक समाजवाद हो भने प्रचण्ड—केपीहरूले भनेको समाजवाद हारेका निम्नपुँजीवादी र बुर्जुवाहरूले भन्नेगरेको समाजवाद हो जो समाजवाद नै होइन, पुँजीवाद हो । त्यसैले हामीले केन्द्रीय समितिको बैठकबाट संश्लेषण गरेकाछौँ– एमाले—माके सामाजिक दलाल पुँजीवादी हुन् र उनीहरूले भन्ने गरेको समाजवाद ‘सामाजिक दलाल पुँजीवाद’ हो । यो न समाजवाद हो, न त आजको जस्तो वर्गविभाजित समाजमा सम्भव नै छ ।

»» नेपालमा समाजवाद कसरी लागू गर्न सकिन्छ ? त्यसका मुख्य आधारहरू केके होलान् ?

यसको पहिलो सर्त भनेको नेपालमा आजसम्म सत्तामा बसेर नेपाली श्रमिक जनतालाई मनपरी तरिकाले लुट मच्चाउने, देशको स्वाधीनतालाई नै बेचेर पैसा कुम्ल्याउने, जनतामाथि दमन गर्ने दलाल पुँजीवादी वर्गलाई सत्ताबाट मुन्ट्याउनु हो । त्यसका ठाउँमा कम्युनिस्टहरूले नेतृत्व गरेको र श्रमिक वर्गको प्रभुत्व हुने वैज्ञानिक समाजवाद स्थापना गर्ने हो । त्यसका लागि आजको सन्दर्भमा क्रान्ति, एकीकृत जनक्रान्ति सम्पन्न गर्नु हो । यो क्रान्तिको आधारलाई हामीले ७वटा बुँदामा उल्लेख गरेकाछौँः पहिलो, गाउँ र सहर दुवैतिरबाट यो सत्ताकाविरुद्ध उत्पीडित जनताले विद्रोह गर्नुपर्छ । दोस्रो, मजदुर–किसानसँगै पढेलेखेका युवा–विद्यार्थी र नयाँ श्रमिक वर्गले पनि दलाल सत्ताका विरुद्ध विद्रोह गर्नुपर्छ । तेस्रो, नेपालमा जनजाति, मधेसी, दलित, ब्राह्मण—क्षत्री चारै समुदायले विद्रोह गर्नुपर्छ । चौथो, दलाल सत्ताकाविरुद्ध हुने विद्रोहमा देशभक्त शक्ति र लोकतान्त्रिक शक्ति पनि सहभागी बन्नुपर्छ । पाँचौँ, क्रान्तिलाई आवश्यक पर्ने आर्थिक, भौतिक सहयोग जुटाउनुपर्छ । छैटौँ, सम्पूर्ण तागतका साथ दलालहरूविरुद्ध विद्रोह गर्नुपर्छ र सातौँ, विद्रोह देशको विशेषताअनुरूप गर्नुपर्छ । यी नै यस्ता वस्तुवादी आधारहरू हुन् जसले वैज्ञानिक समाजवादलाई सफल तुल्याउँछन् ।

»»२०७२ सालमा संविधानको घोषणा गरी अहिलेसम्म संसदीय राज्य व्यवस्थाअन्तर्गत सबैतहका चुनावहरू सकिएका छन् । यसलाई उनीहरूले संविधानको कार्यान्वयन भनेका छन् । चुनावपछिको नेपालको राजनीतिमा देखिएका परिदृश्यलाई कसरी हेर्नुभएको छ ?

हाम्रो केन्द्रीय समितिको बैठकले संश्लेषण गरेको छ दलाल संसदीय व्यवस्थाको चुनावपछि देश दुई ध्रुवमा विभक्त हुन पुगेको छ । वैचारिक, राजनीतिक र व्यावहारिक दृष्टिले एकातिर संसद्वादी राजनीतिक धु्रव बनेको छ भने अर्कोतिर वैज्ञानिक समाजवादी धु्रव बनेको छ । एकातिर एमाले—माके, काङ्ग्रेसको नेतृत्व छ भने अर्कोतिर नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व छ । यो स्थितिमा उनीहरूले संविधानको कार्यान्वयन भनेकाछन् भने हामीले क्रान्तिको नयाँ प्रक्रियाको सुरुआत भनेका छौँ । हाम्रो विचारमा राज्यसत्तामा एकवर्गको धारा पूर्ण रूपले हाबी नभएसम्म यो चलिरहनेछ । तर भविष्यको कोणबाट हेर्दा वैज्ञानिक समाजवादी धु्रव नै विजयी हुनेछ ।

»»गत केन्द्रीय समितिको बैठकले एमाले–माओवादी केन्द्रको गठबन्धनलाई ‘सामाजिक दलाल पुँजीवादी’ भनेको छ ।सामाजिक दलाल पुँजीवादी किन भनिएको होला ?

ठीक भन्नुभयो । हामीले केन्द्रीय समितिबाट एमाले—माके गठबन्धन र धारलाई ‘सामाजिक दलाल पुँजीवादी’ धार भन्ने संश्लेषण गरेका छौँ । यो कुनै मनोगत वा पूर्वाग्रही निष्कर्ष होइन, सम्पूर्ण दृष्टिकोणले उनीहरूको वस्तुगत संश्लेषण हो । हामीले यो किन भन्यौँ भने एमाले झापा विद्रोहपछि पुँजीवादी सत्तासामु आत्मसमर्पण गर्न पुगेको धार हो । अहिले प्रचण्डहरू पनि जनयुद्धलाई विसर्जन गर्दै पुँजीवादकै शरणमा पुगे । यी दुवै दलहरूले अहिले विचार मिल्यो भन्दै एक्ताको प्रचार पनि गरेकाछन् र यो सही पनि हो । तर यी दुवैले मुखले भन्दा आफूलाई कम्युनिस्ट नै भन्छन् । उनीहरू भन्छन्– आजको दुनियाँमा लोकतान्त्रिक शक्ति उनीहरू नै हुन् । प्रचण्डले त जे पायो त्यही बोल्दै हिँडेकाछन् । उनीहरू आफैँले भनेअनुसार अब क्रान्ति समाप्त भयो । पुँजीवाद छ, लोकतन्त्र मान्छौँ भन्ने अनि क्रान्ति सकियो भनेपछि पुँजीवादनै त भयो । तर नेपालमा त पुँजीवाद पनि क्रान्तिकारी र प्रगतिशील पुँजीवाद छैन । यो दलाल चरित्रको पुँजीवाद हो । त्यसैले हामीले भन्यौँ– केपी र प्रचण्डले पुँजीवाद मानिसकेपछि पुँजीवादीनै भए तर कम्युनिस्टको नाम पनि राखेकाले यी रूपमा सामाजिक पनि देखिने भए । त्यसैले हामीले संश्लेषण ग¥यौँ– केपी—प्रचण्ड भनेको कम्युनिस्ट नाम भिरेका पुँजीवादी हुन् । यसलाई राजनीतिक भाषामा भन्दा ‘सामाजिक दलाल पुँजीवादी’ भन्नु वस्तुवादी हुन्छ । अर्थात् जीवन र कर्म दलाल पुँजीवादी, नाम समाजवादी भएकाले हिसाब ‘सामाजिक दलाल पुँजीवादी’ भयो ।

»» जनयुद्धका मुख्य अभियन्ता मानिएका प्रचण्डहरूले प्रतिक्रियावादका सामु आत्मसमर्पण मात्र गरेनन्, जनयुद्धका सबै उपलब्धिहरू गुमाएका छन् । यसक्रममा नेपाल कम्युनिस्ट पार्टीले भग्नावशेषमा उभिएर एकीकृत जनक्रान्तिको जग हालेको छ । नेकपाको मुख्य नेतृत्व भएकाले कस्तो अनुभव गरिराख्नुभएको छ ?

यो निकै मर्मस्पर्शी प्रश्न हो । हाम्रो टिम जसले प्राधिकारप्राप्त भनेका नेताहरूसँग भीषण दुई लाइन सङ्घर्ष गर्नुप¥यो । नेतृत्वको गद्दारी र धोकाले आँखाअगाडि जहाज डुब्दैछ, एउटा गौरवपूर्ण यात्रा भुमरीमा पर्दैछ, विजयको आनन्द महसुस पूरै गर्न नपाउँदै सारा उपलब्धिहरूलाई माटोमा मिलाइँदैछ । कैयौँ मान्छेहरू केवल बर्बाद भो मात्र भनेर टोलाएका छन्, एउटा ठूलो हिस्सा सिक्रीले बाँधिएका बँधुवा र गुलामजस्तो टाउको झुकाएर लुरुलुरु लत्रिँदै हिँडेको छ । रगतले साटेका हतियार, जनताको मानो मुट्ठीबाट जम्मा पारेर तयारगरिएको सेना र ड्रेस दुस्मनलाई सुम्पिँदैछन् अनि हामी उनीहरूको काखमै उभिएर भीषण सङ्घर्ष गरिरहेकाछौँ । यो वास्तवमै अनुपम अनुभूति हामीसँग छ । सायद कैयौँ रात हामी निदाएनौँ पनि । तर हामीले सर्वहारा वर्गको मोर्चा, असल कम्युनिस्टको मोर्चा यहाँ पनि समाल्यौँ । हामीले गद्दारी गर्ने फटाहाहरूको हातबाट क्रान्तिको झन्डा खोस्यौँ, मालेमावाद र नेपाली क्रान्तिको विचारलाई सबैले देख्ने गरी फहरायौँ । हामीले खुलेआम घोषणा ग¥यौँ–कि तिम्रो सत्ता,कि हाम्रो सत्ता । बीचमा कुनै ठाउँ छैन । हामीलाई कूपमण्डुकहरूले पनि गाह्रो पारे तर आज हामी नेपाली क्रान्तिको मौलिक कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ को वैज्ञानिक कार्यदिशा संश्लेषण गरेर वैज्ञानिक समाजवादी सत्ता स्थपना गर्ने महान् यात्रामा डटेका छौँ । हामीलाई पूर्ण विश्वास छ– शान्तिप्रक्रियाको धोकाले निरास भएका नेपाली श्रमिक जनताले बाँकी क्रान्तिलाई पूरा गर्न हामीलाई पूर्ण रूपले साथ दिनेछन् । सबैतिरबाट पार्टीलाई प्राप्त भइरहेको सहयोग, समर्थन र व्यक्त विश्वासले यसलाई प्रस्ट देखाउँछन् ।

»»अहिले नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूका बीचमा एक्ता र ध्रुवीकरण गर्ने समाचारहरू आइरहेका छन् नि ? एक्ता वा ध्रुवीकरणका मुख्य आधारहरू केलाई बनाइरहनुभएको छ ?

हाम्रो केन्द्रीय समितिले यसबारेमा पनि प्रस्ट निर्णय लिएको छ । पहिलो कुरा प्रतिक्रान्ति, प्रतिगमन, राष्ट्रघात, संशोधनवादीहरूको साँठगाँठ, साम्राज्यवादीहरूको षड्यन्त्रका विरुद्ध क्रान्तिकारीहरूको एक्ता ऐतिहासिक आवश्यकता बनेको छ । त्यसैले भएका क्रान्तिकारी कम्युनिस्टहरू एक्ताबद्ध हुनुपर्छ । यसको मुख्य आधार भनेको मालेमावाद, सशस्त्र सङ्घर्ष, वैज्ञानिक समाजवाद मान्दै दलाल पुँजीवादी सत्ताकाविरुद्ध लड्ने हो । दोस्रो कुरा हाम्रो पार्टीले संश्लेषण गरेको नेपाली क्रान्तिको कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ नै आजको मालेमावाद हो । यसले नेपाली वस्तुस्थितिको ठीक प्रतिनिधित्व गर्छ । यसलाई लागू गर्नेगरी सबैसँग वैचारिक एवम्राजनीतिक सहमति आवश्यक छ । यसलाई छोडेर फेरि बहस गर्नु पछि फर्किने मात्र हुन्छ । तेस्रो कुराश्रमिक जनताको अपेक्षाअनुरूप योजनाहरू चौतर्फी सञ्चालन गर्ने पार्टी निर्माण गर्नेमा एउटै बुझाइ हुनुपर्छ । यति भयो भने यो निकै राम्रो हुनेछ । यद्यपि हामी बहस, छलफलका लागि खुला हुनुपर्छ र त्यो राम्रो भई पनि राखेको छ ।

»» अहिले कुनकुन पार्टीसँगएक्ता हुने सम्भावना रहेको छ ?

ठोस रूपमा हाम्रो छलफल कमरेड किरणले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सँग भइरहेको छ । त्यसैगरी माकेबाट विद्रोह गर्नुभएका कमरेड लोकन्द्र बिष्ट(अभ्यास) सँग पनि छलफल चलेकोछ । अन्य पार्टी र कमरेडहरूसँग पनि छलफल चल्दैछ । यस सन्दर्भमा म विशेष प्रकारले माकेभित्रका इमानदार कमरेडहरू जसले क्रान्तिबाट वैज्ञानिक समाजवादी नेपालको सपना देखेर जीवनलाई क्रान्तिमा होम्नुभएको थियो र आज पनि क्रान्तिभन्दा अर्को सोचिरहनुभएको छैन, उहाँहरूलाई विशेष आग्रह गर्न चाहन्छु– आत्मसमर्पणवाद र विसर्जनवादसँग विद्रोह गर्नुस् । जनताको हितमा विद्रोह गर्नु क्रान्तिकारीहरूको अधिकारसँगै विशेष जिम्मेवारी हो । साथै क्रान्तिकारी धु्रवीकरणमा एक्ताबद्ध बनौँ । क्रान्ति प्रबल सम्भावनासहित हाम्रासामु छ ।

»» नेकपाले अहिले केकस्ता कार्यक्रमहरू सञ्चालन गरिराखेको छ ?

केन्द्रीय समितिले ऐतिहासिक चुनाव खारेज अभियानको संश्लेषण गर्दै आउँदो ३ महिने ‘जनजागरण अभियान‘ सञ्चालन गर्ने निर्णय लियो । हामीले ५ तयारीमा सम्पूर्ण ध्यान केन्द्रित गरेकाछौँ । आफ्नो विचार र राजनीतिलाई जनतासम्म पु¥याउने, जनतालाई सम्भव भएसम्म सङ्गठित गर्ने, राष्ट्रियता, जनअधिकार र दैनिक समस्यालाई लिएर सङ्घर्षमा परिचालित हुने, आवश्यक आर्थिक व्यवस्थापन गर्ने र साधनस्रोतलाई व्यवस्थित गर्ने । निर्णयलाई यही माघ १५बाट उद्घाटन पनि गरिसकिएको छ र कार्यक्रमहरूशानदारढङ्गले सञ्चालन भइरहेकाछन् । यस अवसरमा म सबै अभियात्री कमरेडहरूलाई धेरैधेरै शुभकामना दिन चाहन्छु ।

»» जनयुद्धको २३ औँ वार्षिकोत्सवका अवसरमा केही भन्न चाहनुहुन्छ कि ?

जनयुद्ध दिवस भव्य उत्साह र उमङ्गका साथ मनाऔँ ! निराशाको समय गयो ! नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ । जनयुद्ध र जनविद्रोहको उच्च संश्लेषण ‘एकीकृत जनक्रान्ति’ को मार्गमा लामबद्ध बनौँ । वैज्ञानिक समाजवादका लागि क्रान्ति, क्रान्ति र फेरि पनि क्रान्ति ! सबैलाई पुनःहार्दिक शुभकामना ! स्रोत : रातो खबर साप्ताहिक