कस्तो समाजवाद ? / वैज्ञानिक समाजवादका आधारहरू : गुणराज लोहनी

समाजवादको ऐतिहासिकता 
माक्र्स–एङ्गेल्सले समाजवादको परिकल्पना गरिरहँदा मूल रूपमा युरोपमा पुँजीवादको विकास भैराखेको थियो । त्यहाँ प्रथम औद्योगिक क्रान्ति भैराखेको थियो । सन् १७६० देखि १८२० र १८४० सम्म चलेको औद्योगिक क्रान्तिकाल नयाँ उत्पादन प्रक्रियामा सङ्क्रमणको अवधि रह्यो । यो सङ्क्रमणले हाते उत्पादन पद्धतिलाई मेसिन, नयाँ रसायन उत्पादन र फलामको उत्पादनको प्रक्रिया, वाष्प शक्तिको प्रयोगमा वृद्धि, मेसिन औजारहरूको विकास र उद्योग पद्धतिको उदय गरायो । कपडा उद्योगहरू औद्योगिक क्रान्तिमा रोजगारीको हिसाबले प्रभावी भएका थिए । कपडा उद्योग पहिलो आधुनिक प्रविधिको उत्पादन थियो । यो क्रान्तिले उद्योगमा काम गर्ने मजदुरहरूको सङ्ख्या तीव्र रूपमा बढेर गयो ।

सन् १८७० देखि १९१४ सम्म दोस्रो औद्योगिक क्रान्ति भएको मानिन्छ । यसलाई प्राविधिक क्रान्ति पनि भन्ने गरिएको छ । यसले औद्योगिकीकरणमा कायापलट ल्याएको थियो । उत्पादनमा नयाँ खोज, जस्तै मेसिन औजारहरूको उद्योग स्थापना, स्टिल उत्पादनमा बेसेमर प्रक्रियाको अनुसन्धान, टेलिफोन, टेलिग्राफको सूचना सञ्चारमा प्रयोग, ढुवानी र यातायातका लागि तीव्र गति र गह्रौँ भारवहन रेल सेवा, वाष्प शक्तिको स्थानमा विद्युत् शक्तिको प्रयोग, विद्युतीकरण, पेट्रोलियम पदार्थको प्रशोधन, विद्युत्, चुम्बकीय सिद्धान्तको प्रतिपादन, अटोमोबाइलको प्रयोग, कागजको आविष्कार र उपयोग आदिले वस्तुको भारी मात्रामा उत्पादन भयो । यी साधनहरूको आविष्कार, विकास र प्रयोगले उत्पादन क्षमतामा अतुलनीय विकास भयो । यसरी शैशवावस्थामा रहेको पुँजीवाद तन्नेरी हुन पुग्यो । उत्पादनका लागि प्रयोग गरिएका मेसिन र उपकरणको कार्यदक्षताका सामु मानव कार्यदक्षता कमजोर बनेर गयो । यसले गर्दा उद्योगमा काम गर्दै आएका धेरै मजदुरहरू विस्थापित हुन पुगेका थिए । यसरी विस्थापित मजदुरहरूलाई एङ्गेल्सले अतिरिक्त औद्योगिक सेनाको संज्ञा दिनुभएको थियो ।

आधुनिकीकरण र औद्योगिकीकरणले अति उत्पादन हुनु र मजदुरहरूको विस्थापनले क्रयशक्तिको कमीले विनिमयमा ह्रास आयो । आपूर्ति कम हुन पुग्यो । यसले गर्दा साना उद्योगहरूले प्रतिस्पर्धा गर्न सकेनन् । तिनीहरूले ठूला उद्योगहरूका सामु आत्मसमर्पण गर्नु प¥यो । यसरी एङ्गेल्सको भाषामा सामाजिक उपज पुँजीपति–व्यक्तिविशेषले हड्पियो ।१ पुँजीवादी राज्य संरचनामा पहिलो र दोस्रो औद्योगिक क्रान्तिले निम्त्याएको सङ्कट र त्यसको समाधानका बारेमा एङ्गेल्सले व्याख्या गर्दै संश्लेषण पनि गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘एकातिर मेसिनहरूको सुधार जुन प्रतिस्पर्धाले गर्दा उद्योगपतिहरूका लागि अनिवार्य नियम बन्न जान्छ र जसले निरन्तर बढ्दो सङ्ख्यामा मजदुरहरूलाई कारखानाबाट निकालिरहेको हुन्छ । यसप्रकारले अतिरिक्त औद्योगिक सेना उत्पन्न हुन्छ । अर्कोतिर उत्पादनको असीमित विकास र प्रतिस्पर्धाले गर्दा यो कुरा पनि प्रत्येक उद्योगपतिका लागि अनिवार्य नियम बन्न जान्छ । दुवैतिर–उत्पादक शक्तिहरूको अभूतपूर्व विकास, मागभन्दा आपूर्ति बढी, अति उत्पादन, बजारमा आवश्यकताभन्दा बढी सामान हुन्छ, प्रत्येक दस वर्षमा दोहोरिने आर्थिक सङ्कटहरू, अनन्त चक्र, एकातिर उत्पादनका साधनहरू र उत्पादित वस्तुहरूको बाहुल्य र अर्कोतिर जीविकाको साधनबाट वञ्चित बेरोजगार मजदुरहरूको अधिकता । परन्तु उत्पादन र सामाजिक समृद्धिका यी दुई उत्तोलकहरूले सम्मिलित रूपमा काम गर्न सक्दैनन् किनभने पुँजीवादी उत्पादन प्रणालीमा उत्पादक शक्तिहरूले त्यसबेलासम्म काम गर्न सक्दैनन् र उत्पादित वस्तुहरू त्यतिन्जेल परिचालित हुन सक्दैनन्, जबसम्म तिनलाई पुँजीको रूप दिइँदैन–परन्तु तिनको अधिकता नै यसको बाधक बनेको हुन्छ । यस अन्तर्विरोधले निरर्थक हास्यास्पद रूप लिन पुग्दछ–उत्पादनपद्धतिले विनिमयप्रणालीका विरुद्ध विद्रोह गर्दछ ।२’

पुँजीवादको यो चरित्रको गहिरो अध्ययन गरिसकेपछि एङ्गेल्सले पुँजीवादलाई विस्थापित गर्दै वैज्ञानिक समाजवाद स्थापना हुने तथ्यहरू अघि सार्नुभयो । उहाँले भन्नुभयो, ‘यसप्रकारले बुर्जुवावर्ग स्वयम् आफ्ना सामाजिक उत्पादक शक्तिहरूको सञ्चालन गर्न असमर्थ छ भन्ने कुरा साबित हुन्छ ।’ 
पुँजीपतिहरू पनि उत्पादक शक्तिहरूको सामाजिक चरित्र आंशिक रूपले स्वीकार गर्न बाध्य हुन्छ । उत्पादन र सञ्चारका ठूलठूला संस्थाहरू सबैभन्दा पहिले ज्वाइन्ट स्टक कम्पनीहरूको, तत्पश्चात् ट्रस्टहरूको र अन्ततोगत्वा स्वयम् राज्यको हातमा आउँछ ।३’

माक्र्स–एङ्गेल्सले उन्नाईसौँ शताब्दीसम्म बहसमा आएका र देखापरेका काल्पनिकसहितका सबैखाले समाजवादको खण्डन गर्दै इतिहासको भौतिकवादी धारणा र अतिरिक्त मूल्यको माध्यमबाट पुँजीवादी उत्पादनको रहस्य उद्घाटन– यी दुई आविष्कार गर्नुभयो । एङ्गेल्सको भनाइमा यी दुईवटा आविष्कारहरूले गर्दा नै समाजवादी विचारधारा एक विज्ञानमा परिणत भएको छ ।

तर यी सिद्धान्तहरूलाई स्वयम् माक्र्स र एङ्गेल्सले आफ्नो जीवनमा लागू भएको देख्न पाउनुभएन । पुँजीवादमा प्रत्येक दस वर्षहरूमा देखिएका आर्थिक सङ्कटहरूका कारण पहिलो विश्वयुद्ध जन्मियो । त्यो आर्थिक सङ्कटले प्रथम विश्वयुद्ध मात्र जन्माएन रुसमा महान् बोल्सेबिक समाजवादको पनि जन्म दिएको थियो । कमरेड लेनिनले युरोपमा रहेका बेलायत, फ्रान्स र जर्मनीको तुलनामा कम विकसित तर पुँजीवादको विकास भएको देश रुसमा क्रान्ति सफल पारेर समाजवाद लागू गर्नुभएको थियो । तत्कालीन सोभियत सङ्घमा सशस्त्र विद्रोहका माध्यमबाट अक्टोबर क्रान्ति सफल भएपछि सुरु भएको गृहयुद्धलाई रोक्न १९१८ वसन्तमा ब्रेस्त शान्ति–सन्धिमा हस्ताक्षर भएको थियो । त्यस समयमा ‘युद्धकालीन कम्युनिज्म’ लागू गरिएको थियो । उक्त नीतिले सोभियत सङ्घको आवश्यकता परिपूर्ति गर्न नसक्ने भएपछि मार्च १९२१ मा नयाँ आर्थिक नीति (New economic policy) (नेप) लागू गरिएको थियो । यो नेप नै सोभियत सङ्घको समाजवादी अर्थनीति रहेको थियो । यसमा ४ वटा बुँदा समावेश गरिएको थियो : क– राज्यको स्वामित्वमा रहेका साना उद्योगहरू निजी व्यक्तिहरूलाई लिजमा दिने, ख– निजी हस्तकला उत्पादनको विकास, ग– विदेशी पुँजीलाई अनुदान दिनु, घ– ग्रामीण क्षेत्रमा सीमित रूपमा रहेका जमिन लिजमा दिनु र व्यावसायिक श्रमको उपयोग गर्नु रह्यो ।४

ठूला राजकीय उद्योगहरूको स्थापना र विकासले निकै महत्व राखेको थियो । यस्ता उद्योगहरूको निर्माणमा सोभियत सङ्घमा विशेष ध्यान दिइएको थियो जसमा औद्योगिक शाखाहरूको विकास निर्भर गर्दथ्यो । विदेशी उद्योगहरूमा एकाधिकार कायम गरिएको थियो । 
माओले अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्य संरचनामा नयाँ जनवादी कार्यक्रम लागू गर्नुभयो । पहिला राष्ट्रिय पुँजीवादको विकास गर्नुभयो । पछि मात्र समाजवादी कार्यक्रम लागू गर्नुभयो ।

समाजवादका लागि नेपालका नयाँ विशेषताहरू 
नब्बेको दशकमा नेपालमा नवउदारवादले प्रवेश पाएको थियो । नेपालमा अर्धसामन्ती र अर्धऔपनिवेशिक अर्थव्यवस्था लागू भएको थियो । यसको अन्त्य गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्देश्यले जनयुद्धको उद्घोष गरिएको थियो । उक्त जनयुद्धले सामन्ती राजतन्त्रको अन्त्य ग¥यो । त्यसको स्थानमा नयाँ जनवादी व्यवस्था स्थापना हुनुको साटो दलाल पुँजीवादको स्थापना हुन पुग्यो । यसको पहिलो कारण विगतमा जस्तै जनयुद्धका क्रममा पनि मुख्य नेतृत्वद्वारा भारतीय विस्तावादसँग सम्झौता गरियो भने अर्को कारण विश्व अर्थव्यवस्थामा आएको फेरबदल रह्यो ।

अहिले तेस्रो औद्योगिक क्रान्तिको समापन भई चौथो औद्योगिक क्रान्ति सुरु भएको भनिएको छ । इन्टरनेट प्रविधि र नवीकरणीय ऊर्जाहरूले औद्योगिक क्रान्तिको नयाँ पूर्वाधार तयार पारिदिएको र एक्काईसौँ शताब्दीमा ऊर्जा वितरणमा परिवर्तन ल्याइदिएको छ । अबको युगमा लाखौँलाख मान्छेले आफ्नो घर, अफिस र फ्याक्ट्रीहरूमा नै उनीहरूको आफ्नै नवीकरण ऊर्जा र ‘ऊर्जा इन्टरनेट’ को माध्यमबाट जसरी अहिले सूचना अनलाइनद्वारा साटासाट गरी उत्पादन गरिएको छ हरित विद्युत् उत्पादन गर्नेछन् । तेस्रो औद्योगिक क्रान्तिका पाँचवटा खम्बा रहेका थिए : १– नवीकरण ऊर्जामा स्थानान्तरण, २– प्रत्येक महादेशमा सञ्चित सूक्ष्म शक्तिलाई रूपान्तरित नवीकरण ऊर्जाहरू सङ्कलन, ३– हाइड्रोजन, प्रत्येक भवन र पूर्वाधारहरूमा सञ्चित अनिरन्तर ऊर्जाहरूको विस्तार, ४–प्रत्येक महादेशमा इन्टरनेट प्रविधिको माध्यमबाट शक्ति ग्रिडलाई इन्टरनेट ऊर्जामा रूपान्तरण (जब लाखौँ घरहरूले नवीकरण ऊर्जा सानो मात्रामा स्थानीय तह, साइटहरूमा तिनीहरूले अतिरिक्त हरित विद्युत् पुनः छिमेकी महादेशमा साटासाट गरी ग्रिडलाई बेच्नु र ५–ढुवानी र यातायातका साधनहरूमा इन्धनको सट्टा विद्युत् प्लगको माध्यमबाट हरित विद्युत् चतुर, महादेशीय, संवादात्मक शक्ति ग्रिडमा किनबेच गर्नु ।

चौथो औद्योगिक क्रान्तिले आङ्किक (डिजिटल) क्रान्ति विकास, समाज र मानव शरीरमा सन्निहित नयाँ प्रविधि प्रस्तुत गरिएको छ । चौथो औद्योगिक क्रान्तिले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, नानोटेक्नोलोजी, क्वान्टम कम्प्युटिङ, बायोटेक्नोलोजी, इन्टरनेटका सामग्रीहरू, तीन आयामिक छापा (New economic policy) र स्वचालित यातायातका साधनहरूको आविष्कारले क्रमभङ्ग गरेको छ ।५

श्रम स्थानान्तरण

माक्र्स–एङ्गेल्सको पालामा नै आधुनिक उद्योगहरूको स्थापनाले विस्थापित हुन पुगेको श्रमजीवी मजदुर वर्ग चौथो औद्योगिक क्रान्तिसम्म आइपुग्दा श्रम नै स्थानान्तरण हुन पुगेको छ । शिक्षामा पहुँच, यातायातको सुविधा र यातायातका साधनमा विकास, विज्ञानप्रविधि र सूचनाप्रविधिको विकास, सूचनाप्रविधि उत्पादनले उद्योगको रूप लिएका कारण शारीरिक श्रम शक्तिको खपत असाध्यै कम भएको र मानसिक श्रमको बढेर गएको छ । औद्योगिक उत्पादनमा विज्ञानप्रविधि र सूचनाप्रविधिको अतिप्रयोगले अति दक्ष र दक्ष श्रमिकबाहेक अरू सबै विस्थापित भैराखेका छन् । अति दक्ष र दक्ष श्रमिकहरू पनि केही समयपछि नयाँ प्रविधिको आविष्कार र विकासले विस्थापित गरिदिने गरेको छ । यो प्रक्रियाले औँलामा गन्न सकिने धनाढ्यको हातमा विश्वभरिको आधाभन्दा बढी पुँजी पुगेको छ भने इतिहासमा नै सबैभन्दा बढी सङ्ख्याका मान्छे बेरोजगार हुन पुगेका छन् ।

नेपालको अवस्था र समाजवाद

नेपालमा पनि लामो समयदेखि उत्पादनप्रणाली र उत्पादक शक्तिका बीचमा लामो समयदेखि सङ्घर्ष चल्दै आएको छ । सयौँ वर्षदेखि अव्यवस्थित र व्यवस्थित सङ्घर्षकै कारण सामन्तवादी अर्थप्रणालीलाई तोड्दै अहिले दलाल पुँजीवादी अर्थप्रणाली विद्यमान छ । पुँजीवादको पूर्ण विकास नभए पनि वर्तमान विश्व पुँजीवादका सबै विशेषताहरू नेपाली दलाल पुँजीवादले पनि अँगालेको छ । उसले उत्पादन प्रणाली र वितरण प्रणालीमाथि उसको एकलौटी आधिपत्य रहेको छ । नेपालमा अहिले श्रम स्थानान्तरण भएको जनसङ्ख्या ठूलो छ । यो जनसङ्ख्याको ठूलो अंशले रोजगारी पाएको छैन । रोजगारी पाएको जनशक्तिले पनि श्रमको उचित मूल्य पाएको छैन । दलाल पुँजीवादी राज्यले यहाँका जाति, क्षेत्र र लिङ्गका आधारमा शोषण गरिएको छ ।

नेपालको दलाल पुँजीवादमा निगम पुँजीवाद, नोकरशाही पुँजीवादको सम्मिश्रण रहेको छ जसका बारेमा माथि उल्लेख गरिएको छ । देशभित्रको साधनस्रोतमाथि दोहन गर्ने, श्रमिकमाथि शोषण गर्ने यसरी जम्मा गरेको पुँजी विदेश पलायन गर्ने दलाल पुँजीवादको विशेष विशेषता हो । यो प्रक्रिया उत्पादन र वितरणमा देखापरेको अराजकता हो । यो अराजकतालाई तोड्नुपर्छ । यसै सन्दर्भलाई लिएर एङ्गेल्स भन्नुहुन्छ, ‘अबदेखि एक पूर्वनिश्चित योजनाअनुसार सामाजिक उत्पादन सम्भव हुन्छ । उत्पादनको विकासले समाजमा विभिन्न किसिमका वर्गहरूको अस्तित्वलाई अनावश्यक तुल्याइदिन्छ । जुन गतिले सामाजिक उत्पादनको अराजकता समाप्त हुन्छ त्यसै गतिले राज्यको राजनीतिक प्रभुत्व पनि खतम हुँदै जान्छ ।६’

त्यसैले पहिला अस्तित्वमा रहेको यो राज्य प्रणालीको अन्त्य हुनुपर्छ । उत्पादन प्रणाली र उत्पादक शक्तिका बीचमा चलेको अन्तर्विरोधले चरम रूप लिन्छ । यसका लागि बल प्रयोगको आवश्यकता पर्दछ । यसरी स्थापना भएको राज्य प्रणालीमा उत्पादन प्रणालीमाथि श्रमिक वर्गको स्वामित्व रहन पुग्छ । अर्थात् दलाल पुँजीवादी राज्य प्रणालीको अन्त्यपछि मात्र वैज्ञानिक समाजवादी राज्य प्रणाली स्थापना हुन पुग्छ । नेपालको सन्दर्भमा स्थापना हुने वैज्ञानिक समाजवादका केही राष्ट्रिय पुँजीको विकास गर्ने कार्यभारहरू पनि रहेका हुन्छन् । त्यसैले यस्तो समाजवाद एङ्गेल्सले भनेको जस्तो नभएर लेनिनले नयाँ आर्थिक नीति (New economic policy) (नेप) मार्फत लागू गरेको समाजवाद हुन्छ । पहिला दलाल पुँजीवादको सम्पूर्ण पुँजी राष्ट्रियकरण गरिनुपर्छ । भ्रष्टाचारी, कालोबजारीलाई पूर्ण नियन्त्रण गरिनुपर्छ । राष्ट्रिय पुँजीको तीव्र विकास र उत्पादन बढाउनका लागि राष्ट्रिय पुँजीपतिहरूको संरक्षण गर्नुपर्छ । साना उद्योगहरू निजी रूपमा सञ्चालन गर्न दिनुपर्छ । सबैलाई अनिवार्य रोजगारी, श्रमको उचित मूल्य मात्र नभएर जीविकोपार्जनको सुनिश्चितता गरिनुपर्छ । स्वास्थ्य र शिक्षा अनिवार्य, निःशुल्क, स्तरीय हुनुपर्छ । उपभोक्तावादी संस्कृतिका विरुद्ध जनवादी संस्कृतिको पक्षपोषण र संरक्षण गरिनुपर्छ ।

सन्दर्भ सामग्री
१–माक्र्स–एङ्गेल्स सङ्कलित रचनासङ्ग्रह, खण्ड ३, पृष्ठ ११६ 
२– ऐ ऐ पृष्ठ ११७
३– सोवियत सङ्घ मे समाजवाद का निर्माण कैसे हुआ, पृष्ठ ९९
४–ँयगचतज क्ष्लमगकतचष्ब िच्भखयगितष्यल विकिपिडिया–ड्याभोज कस्टर स्विट्जरल्यान्ड 
५– माक्र्स–एङ्गेल्स सङ्कलित रचनासङ्ग्रह, खण्ड ३, पृष्ठ ११७

स्रोत : र्इ – रातो खबर डट कम