८ मार्चको ऐतिहासिकता र महिला सङ्घर्ष : बन्धु चन्द

श्रमिक महिलाहरूको महान् दिन ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस यस वर्ष (२०७४ फागुन २४) नेपाललगायत संसारभरका महिलाहरूले विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । नेपालमा यस दिन महिलाहरूका लागि सार्वजनिक बिदा दिइन्छ । महिला तथा बालबालिका मन्त्रालय र राष्ट्रिय महिला आयोगले सरकारी नारा तय गर्छन् अनि औपचारिक कार्यक्रम गरी यो दिन बिताइन्छ । गैर–सरकारी र राजनीतिक महिला संगठनहरूले तत्कालीन विषयवस्तु र राजनीतिक परिवेशअनुसारका नाराहरू तय गरी विविध कार्यक्रमका साथ मनाउने गर्दछन् ।

यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालेको १०८ वर्ष भएको छ । एक शताब्दीभन्दा बढी समय गुजार्दै आएको यस दिनको ऐतिहासिक महत्व र महिलाका बारेमा (किनकि यो महिला दिवस हो) हरेक वर्षको फागुनको चौथो हप्ता व्यापक चर्चा–परिचर्चा हुने गर्दछ । मानौं देश महिलामय भएको छ । सडकदेखि सदनसम्म, ५ तारे होटेलदेखि चियापसलसम्म, राज्यका महत्वपूर्ण निकायका महिलादेखि सर्वसाधारण महिलासम्म, सार्वजनिक अन्तरक्रिया–बहसदेखि अखबारका पाना हुँदै सामाजिक सञ्जालका वालसम्म महिलामय वातावरण बन्छ । कसैले मजदुर महिलाका कुरा उठाउँछ, कसैले किसान महिलाका, कसैले भोको पेटको कुरा उठाउँछ त कसैले नांगो आङको, कसैले वृद्धाश्रमका वृद्ध–आमाहरूको कुरा उठाउँछ, त कसैले रोगले थला परेका उपचार नपाएका सुत्केरी हुन नसकेर ज्यान गुमाएका महिलाहरूको । कसैले राष्ट्रपति, मन्त्री र सांसद्हरूको गुनगान गाउँछ त, कसैले बलात्कारको चित्कारको कथा सुनाउँछ । गोप्य देहव्यापारका खासखुसदेखि कसैले न्यूनज्यालाको अवस्था बताउँछ त, कसैले विदेशीभूमिमा बेचिएका चेलीहरूको व्यथा सुनाउँछ । यो समयमा महिला समुदाय राज्यसंयन्त्रका लागि एक दिनको खाजा बन्छ, साहित्यकारहरूको लागि साहित्यिक विधाको निर्विवाद शीर्षक बन्छ । पत्रकारहरूका लागि पेपर ढाक्ने सामग्री बन्छ, सकारात्मक होस् या नकारात्मक हरेकको एउटा बहसको विषय बन्छ । जे होस्, हिन्दु सांस्कृतिक समाजमा तीजलाई महिलाहरूको पर्व (यद्यपि यसको प्रसंग र सन्दर्भ फरक छ) मानिएजस्तै संसारभरका राज्यव्यवस्थाले ८ मार्चलाई महिलादिवसको रूपमा राजनीतिक मान्यता दिएका छन् । ८ मार्चको सन्दर्भका कुरा गर्दा ज–जसले जे–जे कुरा तर्क बहस गरे पनि यसका दुईवटा पक्षलाई उल्लेख गर्नु आवश्यक छ । एउटा यसको ऐतिहासिक महत्व र यसलाई आत्मसात गर्ने पक्ष अर्को त्यसको मान्यताको औपचारिकता ।

सबैलाई थाहा भएकै कुरा हो कि ८ मार्चको इतिहास श्रमिक महिलाहरूको संघर्षको इतिहास हो । सामन्तवादले घरेलु दास बनाएका महिलालाई पुँजीवादको प्रादुर्भावसँगै कलकारखानाका मजदुरका रूपमा रूपान्तरण ग¥यो । सामन्तवादको पुरुषको हैकम पुँजीवादमा पनि कमी भएन किनकि त्यहाँ पनि पुरुषलाई भन्दा महिलालाई बढी काममा लगाउने कम ज्याला दिने काम गरियो । दैनिक १५–१६ घन्टा काम गर्ने मजदुर महिलाहरूले त्योभन्दा कम समय काम गर्ने पुरुषभन्दा पनि कम ज्याला पाउँथे । कारखानाका मालिकहरूले उनीहरूमाथि गरेको शोषण अत्याचारको विरुद्धमा अमेरिकाको न्यूयोर्क सहरको सुती कपडा कारखानाका महिला मजदुरहरूले ८ मार्चकै दिन पहिलोपटक हड्ताल गरेर मालिकका विरुद्ध संगठित विद्रोह गरेका थिए । यसको सिलसिला क्रमशः विस्तार हुँदै अमेरिकाबाट युरोपसम्म पुग्यो र यो ठूलो मजदुर आन्दोलनको रूपमा विकास हुन पुग्यो । ती संघषहरूको निरन्तरताको परिणामस्वरूप महिला श्रमिकहरूले राखेका समान कामको समान ज्याला, ८ घन्टा काम ८ घन्टा आराम ८ घन्टा मनोरञ्जन र ट्रेड युनियन अधिकारजस्ता मागहरू पूरा गर्न पुँजीपतिहरू बाध्य भएका थिए । यसको ऐतिहासिकतालाई अध्ययन गर्दा थाहा पाउन सकिन्छ यो महिलाहरूको काम र संघर्षको प्रतिफल थियो । आफ्नो कामप्रति महिलाले गर्ने आत्मसम्मान र आत्मगौरवको अभिव्यक्ति थियो । त्यस्तै पुँजीपतिहरूका लागि महिलाश्रमको महत्वबोध आवश्यकता र त्यसको मूल्यको स्वीकारोक्ति थियो । घटनाक्रमहरू हेर्दा स्पष्ट देखिन्छ त्यहाँ महिला आन्दोलन मात्र होइन, वर्गसंघर्ष थियो र वर्गसंघर्षबाट नै महिलाहरूले उपलब्धि हासिल गरेका थिए । त्यही वर्गसंघर्ष नै पुँजीवादका विरुद्ध समाजवादी राज्यव्यवस्था स्थापना गर्ने महत्वपूर्ण हतियार बन्यो र सोभियत संघलगायत पूर्वी युरोपमा माक्र्सवादी दर्शनमा आधारित वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना भयो । मजदुर महिला संघर्षको यो ऐतिहासिकतालाई राजनीतिक आन्दोलनमा उठाउँदै अन्तर्राष्ट्रिय सामाजवादी महिला नेतृ क्लारा जेट्किनले सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् । सोही सम्मेलनले उक्त प्रस्ताव पारित ग¥यो । त्यसपछि प्रत्येक वर्ष ८ मार्चमा यो दिवस मनाउन थालियो । श्रमिकवर्ग वा श्रमिक महिलाहरूको संघर्षको इतिहास भएकाले यसलाई श्रमिक महिला दिवस भनिएको हो ।

संसारभरमा यो दिवस स्थापित भइसकेपछि संयुक्त राष्ट्र संघले पनि मान्यता दियो । त्यसपछि यो सबै महिलाहरूका लागि साझा दिवस बन्न पुग्यो तर पँुजीवादी महिलाहरूले अर्थात् सत्ताधारी महिलाहरूले यसलाई श्रमिक महिला दिवस भन्न रुचाउँदैनन् । उनीहरू नारी वा महिला दिवस भन्न रुचाउँछन् । यो भनेको राज्यले स्वीकार गरिसकेपछि महिला भएको नाताले यसको मान्यतालाई औपचारिकता दिएको कुरा मात्र हो । यस्तो मान्यता राख्ने महिलाहरूले श्रमिकवर्ग र संघर्षको कुरा गर्दैनन्, खाली महिला दिवसको औपचारिकता मात्र पूरा गर्छन् ।

नेपालको सन्दर्भमा ८ मार्चलाई स्मरण गर्दा क्रान्तिकारी महिलाहरूले यसलाई सामाजिक राजनीतिक आन्दोलनको रूपमा मनाउँदै आएको इतिहास छ । विगत १० बर्से जनयुद्धकालमा ती महिलाहरूले यसलाई महिला अधिकार र महिलामुक्तिको संघर्षकै रूपमा मनाए । जसको फलस्वरूप अहिले राजनीतिक र सामाजिक रूपमा महिला अधिकारका नाराहरू स्थापित हुन पुगेका छन् । यथास्थितिवादी महिलाहरूले भने पञ्चायतकालदेखि अहिलेसम्म माथि उल्लेख गरिएजस्तै औपचारिकतामा मात्र सीमित गर्दै आएका छन् ।

अहिले देशमा गणतन्त्र आएको छ, राजनीतिक रूपमा महिलाको ३३ प्रतिशत सहभागिताको संवैधानिक व्यवस्था गरिएको छ तर जीवन व्यवहारमा भने त्यो लागू हुन सकेको छैन, महिलाका वर्गीय र सामाजिक मुद्दाहरूको कहीँकतै उल्लेख र सुनुवाई हुने स्थिति छैन । महिलाका समस्याहरू दिनदिनै झनै विकराल बन्दै गइरहेका छन् । महिला हिंसा, हत्या, बलात्कार, बेचबिखन, ठगी, बहुविवाह, सम्बन्ध बिच्छेद, बेरोजगारी, श्रम शोषण आदि कुरा यति बढेर गएका छन् कि कुनै पनि महिला स्वावलम्बी र सुरक्षित हुने स्थिति छैन । यी सबै समस्याको जरो पहिल्याउँदै जाने हो भने नेपालमा हावी भएको दलाल पुँजीवाद र त्यसलाई संरक्षण गर्ने दलाल संसदीय व्यवस्था नै देखिन्छ । त्यसैले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै यस वर्षको श्रमिक महिला दिवस मनाउने हरेक श्रमजीवि तथा उत्पीडित महिलाले महिलामाथि भइरहेका सम्पूर्ण हिंसा, दमन र उत्पीडनका विरुद्ध संघर्ष गर्दै दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापना गर्ने बाटोमा अघि बढ्नुको विकल्प छैन । यही कुरामा दृढताका साथ अघि बढौँ । १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाऔँ । स्रोत  : रातो खबर साप्ताहिक