केपी ओली सरकारको दमनले के सङ्केत गर्छ ? – विप्लव

 

रातदिन शान्तिको नारा उराल्ने केपी ओलीको सरकार अधिकारको माग गर्ने सबै, विशेषतः हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीविरुद्ध फासिस्ट दमनमा उत्रिएको छ । उक्त दमनको कानुनविद्, मावनअधिकारवादी, नागरिक समाज, राजनीतिक पार्टीहरू सबैले विरोध र भत्र्सना गरिरहेका छन् । यो प्रशंसनीय कुरा हो । तर केपी सरकारले जुन दमन गरिरहेको छ यो दमन गर्नुको खास कारणले कस्तो परिस्थिति निम्त्याउला भन्ने कुरा गम्भीर छ ।

केपी ओली सरकारले आजसम्म हाम्रो पार्टीका सयौँजना नेता÷कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ । दर्जनौँ कमरेडहरूलाई हिरासतमा बन्दी बनाइरहेको छ । शान्तिपूर्णभन्दा शान्तिपूर्ण कार्यक्रमहरूमा पनि हस्तक्षेप गरेर गिरफ्तार गरिरहेको छ । कलाकारहरूका सांस्कृतिक कार्यक्रमहरूमा देशैभरि हस्तक्षेप गर्दै मुगुको गमगढीमा त हवाईफायर गर्ने, अश्रुग्याँस फाल्ने, घाइते बनाउने र गिरफ्तार गर्ने कामसम्म गर्न पुग्यो । मजदुर, विद्यार्थी, युवा, सुकुमबासीजस्ता जनवर्गीय सङ्गठनहरूलाई समेत प्रतिबन्धजस्तै गरिएको छ । अदालतहरूमा समेत सङ्कटकालहरूमा भन्दा तल पुगेर पार्टीका केन्द्रीय सदस्य कमरेड किरण, युवा अध्यक्ष बाबुराम राई, आरबीएम कमरेड आकाशलगायतलाई पटकपटक अदालत परिसरभित्रैबाट गिरफ्तार गरेर बन्दी बनाइरहेको छ । तीनजना पोलिटब्युरो सदस्यहरू पदम राई, भरत बम र ओम पुन, महिला सङ्घकी महासचिव कमरेड धीरेन्द्रा उपाध्यायलाई पार्टीमा प्रवेश गरेका कमरेडहरूलाई प्रवेश कार्यक्रम स्थलबाट गिरफ्तार गरेर हिरासतमा राखिरहेको छ । युद्ध भैरहेको छैन तर जनतालाई युद्धको अनुभूति भैरहेको छ । जनयुद्धभित्र पनि जनताको बीचमा सांस्कृतिक कार्यक्रम र सभाहरू गर्न सकिने अवस्था रहेको थियो । यहाँ त त्यो पनि दिइरहेको छैन । यसरी दमन किन गरिरहेको छ यो फासिस्ट सरकारले ?

केपी सरकार यति फासिस्ट बन्नुको पहिलो कारण केपीले जनतामा लोकप्रिय नाराहरू दिएर चुनाव जितेको थियो, राष्ट्रवाद र जनवादका नाराहरू निकालेको थियो । यी केवल बनावटी नाराहरूबाहेक केही थिएनन् । चुनाव जित्नका लागि मात्र लगाइएका नाराहरू थिए । सरकारमा पुगिसकेपछि उसले लगाएका कुनै पनि नाराहरू पूरा गर्ने अवस्थामा ओली सरकार छैन । बरु सरकारमा नपुग्दै राष्ट्रघात लिप्त हुन पुग्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण र अरुण— ३ को शिलान्यास विगतका सम्झौताहरूको एकमुष्ट सहमति, सेना–प्रहरीको बेइज्जतीसम्म पुग्दा नाङ्गो हुन पुगेको छ । त्यसलाई जनताले विरोध गरेपछि त्यहाँबाट ध्यान अन्यत्र मोड्न बनावटी शान्तिसुरक्षाको मुद्दा बनाएर हामीमाथि दमन गर्न पुगेको छ । यो आफ्नो बदनामीलाई ढाकछोप गरेर विषय मोड्ने बेकारको प्रयत्न मात्र हो । 
दोस्रो, एमाले र माके मिलेर सरकार बनाएपछि त्यसमा पनि पार्टी एकता गरेपछि कम्युनिस्टहरूको मुख्य शक्ति बन्न सकिन्छ, अरू सबैलाई लपेट्न सकिन्छ साथै प्रतिपक्षलाई पनि कमजोर बनाउन सकिन्छ भन्ने उसमा एउटा भ्रम थियो । जनताको पूरै समर्थन प्राप्त हुन्छ भन्ने बुझाइ ओली र प्रचण्डहरूले पालेका थिए । तर यो पनि उनीहरूको मनको खुल्दुली मात्र हुन पुग्यो । स्थिति उल्टो भयो । त्यसमा पनि माओवादी केन्द्र पूरै असफल भयो । उनीहरूको सरकारले न जनताको मन जित्न सकेको छ, न त एकताले सबैलाई खुसी बनाउन सक्यो । बरु माओवादी केन्द्रभित्रका इमानदार नेता र कार्यकर्ता त्यसबाट पूरै असन्तुष्ट हुन पुगे । प्रचण्डहरूले व्यावहारिक रूपमा जनता, क्रान्ति, पार्टी र श्रमिक वर्गलाई धोका दिएकै रहेछ भन्ने निष्कर्षमा उनीहरू सजिलै पुगे र एकताको लहर उनीहरूतिर होइन, क्रान्तिकारीहरूतिर स¥यो । त्यसको मुख्य केन्द्र हाम्रो पार्टी हुन पुग्यो । देशभरिबाट नेता–कार्यकर्ताहरू एकातिर ध्र्रुवीकृत हुन थाल्नुभयो । सहरमा पनि एउटा लहर देखाप¥यो । विशेषगरी माओवादी केन्द्रका नेता प्रचण्डको इसारामा केपी ओलीको सरकारले हामीमाथि दमन गर्नुको एउटा कारण यो हुनसक्छ ।

तेस्रो कुरा, केपी–प्रचण्ड मिलेपछि शान्तिबाहेक अरू केही हुनेछैन भनेर खुब फलाकेका थिए । तर शान्ति केपी–प्रचण्ड मिलेर हुने होइन भन्ने उनीहरूले बुझ्नै सकेनन् । शान्तिका निम्ति नेपाली श्रमिक जनताको अधिकार–जीवन नयाँ बन्नुपर्छ, देश स्वाधीन बनाउनुपर्छ, जनता उत्पीडनमा पर्ने, महँगीले बासै उठाउने, विदेशमा बेचिएर बिजोग बन्ने, देशका नदीनाला बेचेर खाने, अधिकार खोज्ने जनतालाई दमन गर्ने अनि शान्तिको नारा भट्ट्याउने ! यो कहिल्यै पनि सम्भव नहुने विषय हो । नेपाली सचेत जनता केपी र प्रचण्डका बाँधा गुलाम होइनन् जे गरेर पनि सहेर बस्ने । उनीहरूका जनघात, राष्ट्रघातका विरुद्ध जनताको आक्रोश बढ्न थालेपछि र हाम्रो पार्टीले त्यसको सशक्त प्रतिरोध गर्न थालेपछि जनताका बीचमा सिद्धिने आतङ्कले यो दमन गरिरहेको देखिन्छ ।

चौथो कुरा, देशमा सबैभन्दा भ्रष्टाचार गरेर रातारात करोडपति र अर्बपति बन्नेमा माओवादी केन्द्र र प्रचण्डका मान्छेहरू अग्रपङ्क्तिमा छन् । उनीहरूले कतिसम्म गरेका छन् भने स्थानीय जनतालाई सोधेपछि थाहा हुन्छ एउटै बाटोमा दुईपटक बजेट पारेर सबै पैसा खाएका छन् । आफ्ना भाइभतिजाका नाममा ठेक्कापट्टा चलाएर पुख्र्यौली ठेकेदारहरूलाई माथ गरिरहेका छन् । देशका ठूला प्रोजेक्टहरूबाट करोडौँ कमिसन खाएर ढाडिएका छन् । तस्करी र कमिसनमा टुप्पीसम्म डुबेका छन् । जमिनदारको जमिन बेचेर–खाएर आफैँ जमिनदार र सुदखोर भएका छन् । कतिसम्म भने जनमुक्ति सेनाको चार अर्ब रुपैयाँ हिनामिना गरेर जुकाजस्तो भएका छन् । केपीको सन्तान झन् सनातनदेखि कमिसन र भ्रष्टाचारमा डुबेको तत्व हो । ‘केपीले भ्रष्टाचार गर्दैन, म पनि गर्दिनँ र हुन पनि दिन्नँ’ भनेको त ‘हजार मुसा खाएर बिरालो कासी गएको’ कुराजस्तो मात्र हो । यो सबैविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले कारबाही अगाडि बढाउन थालेपछि जनतामा समाप्त हुने डरले हामीविरुद्ध यो दमन गरिएको छ । दुःखको कुरा, केपी–प्रचण्डको यो दमन बेकार छ । न दमनद्वारा छद्म राष्ट्रवादले छोपेको राष्ट्रघाती अनुहारको कालोमोसो सफा हुनेछ, उनीहरूको राष्ट्रघाती, जनघाती अपराधले नै न चोखिने अवस्था हुन्छ, न हामीमाथिको दमनबाट केपी—प्रचण्ड, विशेषतः माओवादी केन्द्रवालाहरूको विघटन नै रोकिनेवाला छ, न त हामीमाथिको दमनबाट उनीहरूको विघटन रोकिनेवाला छ । हामी प्रत्यक्ष जनतामा छौँ । आजसम्म हामीलाई असहयोग गर्ने र हाम्रो अभियानलाई सही नठान्ने जनता कोही भेटेका छैनौँ । उनीहरूलाई नधिक्कार्ने र नथुक्ने जनता नै छैनन् । जनयुद्धको रापमा खारिएका कार्यकर्ता र जनताले उनीहरूको नकच्चरो वचनलाई राम्रोसँग बुझिसकेका छन् । बुझेका छैनन् कि भनेर उनीहरूले भ्रम छर्न खोज्नु भनेको उनीहरू आफैँ भ्रममा पर्नेबाहेक अरू केही पनि कुरा होइन । त्यसैगरी हामीमाथि दमन गरेर हाम्रो वरिपरि गोलबन्द र ध्रुवीकृत हुने जनता रोकिएलान् भन्ने कल्पना पनि नगरे हुन्छ । राणा शासन, पञ्चायती दमन र जनयुद्धमा सङ्कटकाल लगाउँदा जनताले हामीलाई निरन्तर साथ दिइरहेको ताजा इतिहास साक्षी छ । दमनबाट कहिल्यै पनि जनताले हामीलाई साथ छोड्ने वा साथ नदिने भन्ने कल्पनै छैन । हामीले गरिरहेको सङ्घर्ष एकीकृत जनक्रान्ति पनि हाम्रो कुरा होइन । यो जनता र देशका लागि हो, मुक्तिका लागि हो । क्रान्ति भन्ने यो हाम्रो लागि हैन, जनताको मुक्ति र अधिकारकै लागि हो र यो देशको मुक्तिको कुरा हो । जनताले कस्ताकस्ता तानाशाहलाई त गल्र्यामगुर्लुम ढाले भने केपी–प्रचण्डको ढल्न लागेको सत्तालाई ढाल्न सकिन्छ भन्ने कुरा जनताले बुझेका छन् । प्रस्टसँग भन्नुपर्दा प्रचण्डको सरकारले हाम्रो पार्टी र जनताका विरुद्ध निरन्तर दमन चलाएर एक प्रकारले युद्ध छेडेको छ । यसले हामीलाई ‘कि गर कि मर’ को स्थितिमा धकेल्दैछ । सायद यसमा माओवादी केन्द्रका केही विचलित र भ्रष्टहरूको विशेष भूमिका होला वा बेलाबखत हामीबाट भागेका गद्दारहरूको भूमिका हुनसक्ला ।

हामी जनतालाई स्पष्टसँग भन्छौैँ– हामीले देश र जनताको हक र मुक्तिको आवाज उठाउनु दोष हैन । हामीले दलाल पुँजीपतिका विरुद्ध आवाज उठाउनु अपराध हैन । हामीले जनताको जीवनमा समस्या परेका महँगी, भ्रष्टाचार र कमिसनको विरोध गर्नु दोष हैन । जनताको प्रतिनिधि पार्टी हुनुको नाताले यो हाम्रो जिम्मेवारी र अधिकार हो । हामीलाई थाहा छ– सत्ताको तर मारेर, जनताको जीवन चुसेर आरामदायी जीवन भोगिरहेकाहरूलाई ठूलो हुनसक्ला तर हामी यी सबै सहन तयार छौँ । राणा, पञ्चायत र दस वर्षको जनयुद्धमा नढलेको जीवन तिम्रो दमनले कदापि ढल्नेछैन । यो कुनै छोड्ने कुरा होइन, तिमीहरू पनि छोडिने छैनौ । माओले भन्नुभएजस्तै क्रान्तिको विरुद्धमा जानु भनेको आफ्नै खुट्टामा गोली हान्नुजस्तै हो । परन्तु न यो दलाल पुँजीवादी सत्ता, न त तिम्रो पुँजीवादी सरकारको दमन सहन सम्भव छ । सायद तिनीहरूलाई थाहै छ दमनको जबाफ विद्रोह हो । युद्धको प्रतिरोध क्रान्ति हो । नेपालमा दलाल पुँजीवादी सत्ता रहेसम्म र साम्राज्यवादी हस्तक्षेप रहेसम्म युद्ध र क्रान्ति अनिवार्य छ । तिमीहरू त्यही चाहन्छौ भने हामी पनि त्यसका लागि तयार नै छौँ ।

source : eratokhabar.com